Wednesday 15th May 2024

महाधिवेशनको नाममा राजपा र फोरमले एक अर्काको कार्यकर्ता तान्दै


तीतोपाटी-राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल यतिबेला एक अर्काका नेता तथा कार्यकर्ता तान्नमा लागेका छन् ।

दुवै पार्टीको वैशाखमा महाधिवेशन हुने भएकाले अहिले दुवै पार्टीले सदस्य वितरण तथा सदस्यता नविकरण कार्यलाई तीब्रता दिएको छ । एक अर्काको नेता तथा कार्यकर्तालाई तानेर सदस्य वितरण गर्ने गरेको पाइएको छ । यो सदस्य वितरण कार्यक्रममा माघमसान्तसम्म चल्नेछ ।

संयोग दुवै पार्टीको महाधिवेशन वैशाखमा मात्र होइन, दुवै पार्टीको महाधिवेशन एकै ठाउँमा समेत हुन लागेको छ । दुवै दलले जनकपुरमा फरक–फरक मितिमा महाधिवेशन गर्न लागेका छन् ।

त्यति मात्र होइन, दुवै पार्टीको यो पहिलो एकता महाधिवेशन हो । राजपा नेपालले वैशाख ७, ८ र ९ गते र फोरम नेपालले २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्न लागेका हुन् ।

आन्दोलनबाट जन्मेका दुवै पार्टीले लामो समयसम्म महाधिवेशन गराउन सकिरहेको थिएन ।

२०६४ मा फोरम नेपाल पार्टीको रुपमा दर्ता भएपछि एकपटक वीरगञ्जमा महाधिवेशन गराएको थियो । त्यसपछि लगातार आन्दोलनमै व्यस्त रह्यो ।

त्यस लगत्तै २०७२ सालमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र खस आर्य समाजवादी पार्टीसँग फोरम नेपालले एकीकरण गर्यो । त्यसपछि पनि आन्दोलन जारी नै रह्यो ।

आन्दोलन भइरहेकै बेला संविधान निर्माण भयो । प्रदेश, स्थानीय र संघीय चुनाव पनि भयो । चुनावमा दलहरु सहभागी भएपछि महाधिवेशन गराउन सकिरहेका थिएनन् ।

अहिले आन्दोलन र चुनाव सम्पन्न भइसकेपछि फुर्सदको समयमा दुवै पार्टीले महाधिवेशन गराउन लागेका छन् । एकीकरण भएको पाँच वर्षपछि फोरम नेपालले एकताको महाधिवेशन गर्न लागेको हो ।

पार्टी महाधिवेशनको तयारीमा जुटिसकेको छ । महाविधेशनको तयारीका लागि फोरम नेपालले पाँच वटा समिति र ११ वटा उपसमिति गठन गरेको छ । सो समिति र उपसमितिले काम शुरु गरिसकेका फोरम नेपालले जनाएको छ ।

फोरम नेपालले माघ २५ गतेसम्म सदस्यता वितरणको कार्यक्रम राखेको छ भने वितरण सकेपछि फागुन २५ गतेसम्म तल्लो तहका सम्पूर्ण अधिवेशन सम्पन्न गर्ने कार्यक्रम तय भएको फोरम नेपालले जनाएको छ ।

महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपा, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, महेन्द्रराय यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पार्टी मिलेर २०७४ वैशाख ७ गते राजपा नेपाल गठन भएको थियो ।

यतिबेला राजपा नेपालले सदस्यता वितरणको काम सकाएको छ । आवश्यकता अनुसार माघ मसान्तसम्म म्याद थप्न सकिने राजपा नेपालले जनाएको छ । सदस्यता वितरणको कार्य सकेपछि फागुन मसान्तसम्ममा वडा तहदेखि जिल्ला र प्रदेशसम्म अधिवेशन सकाउनुपर्ने कार्यक्रम राजपा नेपालले तय गरेको छ ।

यी दुवै पार्टीका अधिकांश नेताहरु अहिले जिल्ला दौडाहामा छन् । महाधिवेशनको मिति तय भइसकेकाले आ–आफ्नो पक्षमा माहोल बनाउनका लागि नेताहरु गाउँ–गाउँमा सदस्यता वितरणको नाममा कुदिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...