Friday 10th October 2025

इन्डोनेसियालाइ ९२ रनले हराउँदै नेपाली महिला क्रिकेट टोली फाइनलमा


तितोपाटी – इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

तेर्थई क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया ११.१ ओभरमा २७ रनमा अलआउट भएपछि नेपाल फराकिलो जितका साथ फाइनलमा प्रवेश गरेको हो।

इण्डोनेसियाका लागि युलियाले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। इण्डोनेसियालाई सस्तैमा समेटन नेपालकी रुविना क्षेत्रीले ३ तथा कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए।  दुई खेलाडी भने रन आउट भए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। सीता अर्धशतक बनाउन दुई रनले चुकिन्। उनले ६२ बलमा १ चौंका प्रहार गरिन्।

नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएपनि त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोर उकासेका थिए। इन्दु ३३ बलमा २ चौंकासहित ३७ रनमा अविजित रहिन्। त्यस्तै काजल श्रेष्ठले १४, नेरी थापाले ५ र कप्तान रुविना क्षेत्रीले २ रनको योगदान दिए।

नेपालले अब उपाधिका लागि थाइल्याण्ड र युएईबीचको विजेतासँग शनिबार खेल्ने छ। नेपालले समुह चरणमा चीन, युएई, मलेसिया र थाइल्याण्ड ए लाई पराजित गर्दै समुह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो।


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...