नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। आइतबार कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराइएका तीनै जनालाई रिहा गर्न आदेश दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दिल्ली प्रहरीले शनिबार मुम्बईबाट दिल्ली पुगेको विमानभित्रै प्रवेश गरेर तीनै नेतालाई नियन्त्रणमा लिएको थियो। उनीहरू नयाँदिल्लीस्थित जन्तरमन्तरमा आयोजना गर्न लागिएको विरोध प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका थिए।
पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार र मतदाता नामावलीको विशेष गहन पुनरावलोकन प्रक्रियासम्बन्धी विषयमा विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको जनाएको थियो। पार्टीले भने आफ्ना नेताहरूलाई विमानबाटै नियन्त्रणमा लिइएको घटनाको विरोध गर्दै यसलाई शान्तिपूर्ण प्रदर्शन रोक्ने प्रयास भएको आरोप लगाएको थियो।
घटनापछि पार्टीका तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनसमेत दर्ता गरिएको थियो। उक्त निवेदनमा नियन्त्रणमा लिइएका व्यक्तिहरूको अवस्थाबारे जानकारी दिन र गैरकानुनी थुनामा राखिएको भए रिहा गर्न माग गरिएको थियो।
आइतबार कार्यकारी मजिस्ट्रेटको आदेशपछि तीनै नेता दिल्ली क्यान्टोनमेन्ट प्रहरी कार्यालयबाट मुक्त भएका हुन्। उनीहरूको रिहाइसँगै विरोध प्रदर्शन रोक्न प्रहरीले अपनाएको तरिका र नागरिकको शान्तिपूर्ण भेला हुने अधिकारबारे बहस चर्किएको छ।