Monday 12th October 2026

नेपाल–साउदीबीच हवाई यातायात सेवा विस्तारसम्बन्धी सम्झौता


काठमाडौं — नेपाल र साउदी अरबबीच हवाई यातायात सेवा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले सोमबार काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौताले दुई देशबीच सुरक्षित, व्यवस्थित र प्रभावकारी हवाई यातायात सञ्चालनका लागि आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सम्झौतामा साउदी अरबको जनरल अथोरिटी अफ सिभिल एभिएसन (गाका) का हवाई यातायात तथा अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी कार्यकारी उपाध्यक्ष अली रजब र नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जय नारायण आचार्यले हस्ताक्षर गरेका छन्।

सम्झौताको मुख्य उद्देश्य नेपाल र साउदी अरबबीच हवाई यातायातलाई सुरक्षित तथा व्यवस्थित ढङ्गले सञ्चालन गर्ने र दुई देशबीच विकसित हुँदै गएको हवाई सेवा तथा नियामकीय व्यवस्थासँग तालमेल कायम गर्नु रहेको जनाइएको छ।

साउदी प्रतिनिधिमण्डलको नेपाल भ्रमणका क्रममा अली रजबले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलसँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपाल–साउदीबीच नागरिक उड्डयन तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

नेपाल र साउदीबीच हवाई सम्पर्क विस्तार हुँदा पर्यटन, वैदेशिक रोजगारी तथा दुई देशबीचको आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ। विशेषगरी साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक रहेकाले नियमित तथा थप हवाई सेवाको विकासले यात्रुका लागि विकल्प बढाउन सक्ने देखिन्छ।

सम्झौताले दुई देशबीचको नागरिक उड्डयन सहकार्यलाई थप संस्थागत गर्ने आधारसमेत तयार गरेको छ। आगामी दिनमा हवाई सेवा विस्तार, उडान अवसरको उपयोग र पर्यटन प्रवर्द्धनमा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...