Monday 12th October 2026

‘नयाँ रणनीतिक हतियार प्रयोग गर्छौं’ – इरान


तेहरान — इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि पुनः हमला गरेमा यसअघि युद्धमा प्रयोग नगरिएका नयाँ रणनीतिक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ। आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले इरानले यस्ता हतियार निर्माण गर्नुका साथै तिनको क्षमता पनि बढाएको दाबी गर्दै आवश्यक परेको अवस्थामा प्रयोग गरिने बताएका छन्।

मोहेबीका अनुसार अमेरिकाले पुनः सैन्य कारबाही गरेमा इरानको जवाफी कारबाही यसअघिका आक्रमणभन्दा फरक र अप्रत्याशित हुन सक्छ। उनले ती हतियारको प्रकृति वा क्षमता भने खुलाएका छैनन्। त्यसैले इरानले दाबी गरेजस्तो नयाँ हतियार वास्तवमै कति शक्तिशाली छन् भन्नेबारे स्वतन्त्र पुष्टि भने भएको छैन।

आईआरजीसीको चेतावनी इरानी केन्द्रीय सैन्य मुख्यालय खतम अल–अनबियाले अमेरिकाले केही देशबाट आवश्यक स्वीकृति पाएपछि पुनः कारबाही अघि बढाउन सक्ने दाबी गरेको केही समयपछि आएको हो। यसले तेहरानमा अमेरिकी सम्भावित अर्को सैन्य कदमप्रति उच्च सतर्कता कायम रहेको संकेत गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फक्स न्युजसँग कुरा गर्दै अमेरिका–इरान युद्धको विषयमा निकट भविष्यमा ‘धेरै ठूलो कुरा’ हुन सक्ने बताएका छन्। आफू नै यस विषयमा निर्णय गर्ने व्यक्ति भएको उल्लेख गर्दै ट्रम्पले आगामी कदमबारे संकेत दिएका छन्।

इरानको पछिल्लो चेतावनीलाई सैन्य क्षमताको प्रदर्शनसँगै मनोवैज्ञानिक दबाबको रणनीतिका रूपमा पनि हेर्न सकिन्छ। ‘नयाँ रणनीतिक हतियार’को विवरण सार्वजनिक नगरी यस्तो चेतावनी दिनुले अमेरिकालाई सम्भावित आक्रमणको जोखिम र त्यसबाट आउन सक्ने जवाफी कारबाहीबारे अनिश्चिततामा राख्ने उद्देश्य हुन सक्छ।

अमेरिका र इरानबीचको तनाव थप बढेमा यसको प्रभाव दुई देशमा मात्र सीमित नरही मध्यपूर्वका अमेरिकी सैन्य आधार, समुद्री मार्ग, ऊर्जा संरचना र अन्तर्राष्ट्रिय तेल आपूर्तिसम्म पर्न सक्ने जोखिम छ। त्यसैले अहिलेको मुख्य प्रश्न इरानले दाबी गरेको नयाँ हतियार वास्तवमा के हो भन्नेभन्दा पनि अमेरिकाले अर्को सैन्य कदम चाल्छ कि कूटनीतिक बाटो रोज्छ र त्यसको जवाफ इरानले कसरी दिन्छ भन्ने बनेको छ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...