रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाल तामाङ घेदुङ कुवेतले रु. ५ लाख ५५ हजार ५५५ आर्थिक सहयोग गरेको छ।
घेदुङ कुवेतले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, राहत र पुनःस्थापनाका लागि कामना गरेको छ।
घेदुङ कुवेतका अनुसार उक्त रकम केन्द्रीय घेदुङको खातामा जम्मा गरिएको छ। केन्द्रीय घेदुङले प्रभावित क्षेत्रमा आवश्यक समन्वय तथा निगरानी गर्दै उक्त रकम पीडित परिवारको राहत तथा पुनःस्थापनामा उपयोग गर्ने जनाएको छ।
विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै घेदुङ कुवेतले सबैलाई पीडित परिवारको सहयोगमा हातेमालो गर्न अपिल गरेको छ।