Friday 11th September 2026

अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने


संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यो निर्णय सन् २०२६ जनवरी २१ देखि लागू हुनेछ।

यो निर्णयअनुसार ती देशका नागरिकहरूले स्थायी बसोबासका लागि आवश्यक पर्ने आप्रवासी भिसा (ग्रिनकार्डसम्बन्धी) प्रक्रिया अघि बढाउन पाउने छैनन्। अमेरिकी प्रशासनले यस कदमलाई आप्रवासन प्रणालीको पुनरावलोकनको हिस्सा भएको बताएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार अमेरिका पुगेपछि सरकारी सहायता (public assistance) मा निर्भर हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भिसा प्रक्रिया अस्थायी रूपमा रोकिएको हो। यस अवधिमा आप्रवासी भिसासम्बन्धी नियम र मापदण्ड पुनरावलोकन गरिने जनाइएको छ।

तर, पर्यटक, विद्यार्थी तथा अन्य अस्थायी (Non-immigrant) भिसा प्रक्रियामा भने यो निर्णय लागू नहुने बताइएको छ। यद्यपि, ती भिसामा पनि थप कडाइ हुन सक्ने संकेत गरिएको छ।

नेपालसहित अफगानिस्तान, इरान, रुस, पाकिस्तान, बंगलादेश, सोमालिया, नाइजेरिया लगायत एशिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका विभिन्न देशहरू यस निर्णयबाट प्रभावित भएका छन्।

यस निर्णयको मानव अधिकारकर्मी र आप्रवासन विज्ञहरूले आलोचना गरेका छन्। उनीहरूले वैध आप्रवासनको बाटो बन्द हुने र परिवार पुनर्मिलनमा असर पर्ने बताएका छन्। यद्यपि अमेरिकी प्रशासनले यसलाई राष्ट्रिय हित र आप्रवासन व्यवस्थापनका लागि आवश्यक कदम भएको दाबी गरेको छ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...