गुलाम नवी मन्सुर – विद्यादेवी भण्डारीको यात्रा कुनै सामान्य राजनीतिक इतिहास होइन। एउटा विद्यार्थी नेतृबाट सुरु भएको यो यात्रा आज देशको सबैभन्दा गम्भीर संवैधानिक पद सम्हालेर फेरि पार्टी राजनीतिमा फर्किने निर्णयसम्म आइपुगेको छ। उनले रक्षा मन्त्रालय सम्हालिन्, पार्टीको नीति निर्माणमा बोल्ने अधिकार कमाएकी थिइन्, अन्ततः राष्ट्रपतिका रूपमा संविधानको रक्षा गर्ने जिम्मेवारी पनि पाएकी थिइन्।
तर आज, जब उनी खुलेर पुनः सक्रिय राजनीतिमा फर्किएकी छिन् त्यो पनि कुनै आत्मालोचना बिना, न सार्वजनिक समीक्षा न स्पष्टीकरण त्यसले हामी जस्ता लाखौं निष्ठावान कार्यकर्तालाई गम्भीर आघात पुर्याएको छ। खासगरी हामी जस्ता प्रवासमा बसेका कार्यकर्ता, जसले टाढाबाट पनि पार्टीको मर्म, विचार, र गहिराइ बोक्दै आएका छौं, आज प्रश्न गर्न बाध्य भएका छौं यो कता जाँदैछ हाम्रो पार्टी? यो कता मोडिँदैछ हाम्रो विचार?
हिजोको त्यो क्षण हामीले बिर्सेका छैनौं, जब राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीले संसद विघटन जस्ता अति विवादास्पद निर्णयहरूमा मूक समर्थन मात्र होइन, सक्रिय भूमिका खेलेकी थिइन्। त्यो बेला पार्टीको आलोचना हुँदा पनि हामी प्रवासमा बसेर पार्टीको साख जोगाउने प्रयास गरिरहेका थियौं। हामीले देशविदेशका नेपालीहरूसँग बहस गर्यौं, निन्दा खप्यौं, तर पार्टीप्रतिको विश्वास कहिल्यै चटक्क फालेनौं।
तर आज, त्यही व्यक्तिको पार्टीमा पुनः भव्य स्वागत हुनु, त्यो पनि कुनै आत्मालोचना विना, यो देख्दा हाम्रो धैर्य, श्रद्धा र आस्था माथि चोट पुगेको छ।
केपी शर्मा ओलीले यस विषयमा प्रष्ट र खरो विरोध गर्नु भयो, त्यसमा हामी कार्यकर्ताहरूको भावना बोलेको देख्यौं। उहाँको त्यो धारिलो अभिव्यक्ति एक नेताको हैसियतमा मात्र थिएन, त्यो लाखौं कार्यकर्ताको मौन वेदनालाई बोलेको आवाज थियो। तर के दुर्भाग्य! पार्टीभित्रका अरू वरिष्ठ नेताहरू मौन बसे। ती मौनता आज प्रश्नको विषय बनेका छन् किन मौन? किन डर? के विचारभन्दा व्यक्ति ठूलो भयो?
विद्यादेवी भण्डारी राष्ट्रपतिको कुर्सीमा बसेर संवैधानिक मर्यादाको रक्षा गर्नुपर्ने थियो। तर उनले पटक पटक संविधानको आत्मा भन्दा पनि आफ्नो अनुकूल व्याख्या गर्ने बाटो रोजिन्। राष्ट्रपतिका रूपमा निष्पक्ष र उच्च नैतिक आदर्श प्रस्तुत गर्नुपर्ने हो, तर उनी बारम्बार पार्टी पक्षमा स्पष्ट देखिइन्। त्यस्ता व्यक्तिलाई फेरि पार्टीमा फर्काएर जिम्मेवारी दिँदा, त्यो पार्टीको दृष्टिकोण, चरित्र र सैद्धान्तिक हैसियतको पतन हो।
हामी प्रवासी कार्यकर्ता हामी जसले दिनको १२/१४ घण्टा विदेशी भूमिमा काम गरेर पनि सन्ध्यामा पार्टीको नीति पढ्छौं, देशको समाचारमा सास लिन्छौं, हाम्रा भावना पार्टीको उत्थानमा बाँधेका छौं आज लाजले अनुहार झुकाउनु परेको अवस्था छ।
हाम्रो नेतृत्वले किन आत्ममूल्यांकन गर्न सक्दैन? के साँचो विचारका अनुयायीहरू मात्र आलोचना सुन्ने पात्र हुन्? अनि सत्ताका समीकरण मिलाउनेहरू पुरस्कारका लागि योग्य? हामी कहाँ जान लागेका छौं?
पार्टीले आज निर्णय गर्नु छ के पार्टी विचारले चल्ने संस्था हो कि केही अनुहारको संलग्नतामात्र? यदि एकजना पूर्वराष्ट्रपति, जसले राष्ट्रपतिको मर्यादा बचाउनुकाे सट्टा उसको दुरुपयोग गरिन्, उनलाई फेरि शक्तिकेन्द्रमा ल्याउने हो भने त्यो केवल ‘पुनः सक्रियता’ होइन, त्यो पार्टीको नैतिक पराजय हो।
यसरी यदि पूर्वराष्ट्रपतिलाई ‘अग्रज नेतृ’को रूपमा स्वीकार गर्न थालिएको छ भने, भोलि संवैधानिक संस्था किन स्वतन्त्र रहने? किन हामी संविधानको मर्यादा र असंलग्नताको कुरा गरिरहने?
यो घटनाले सन्देश दिन्छ संविधान जे होस्, पार्टीका लागि सत्ता प्राथमिक हो। विचार, आदर्श र जनता यी सब ‘कार्यकर्ताहरूलाई सुनाउने लाइन’ मात्र हुन्। यथार्थमा, शक्ति जहाँ छ, निर्णय त्यहीँ हुन्छ। अनि कार्यकर्तालाई चाहिएको बेला नारामा उतारिन्छ, बाँकी बेला बिर्सिन्छ।
हामी प्रवासी कार्यकर्ताहरू, हामी अब चुप बस्दैनौं। हामीले पार्टीको जय–जयकार धेरै गर्यौं, अब त्यसलाई सही बाटोमा फर्काउने काम पनि गरिन्छ। हामी लाचार छैनौं, हामी विवेकशील छौं। आज पार्टीले आत्मसमीक्षा गर्न सकेन भने, त्यो प्रवासमा उभिएका हजारौं कार्यकर्ताको मनभित्र बिस्तारै क्रान्ति उठ्नेछ। त्यो क्रान्ति केवल नारामा होइन, अब नेतृत्व चयनको चेतनामा हुनेछ।
विद्यादेवी भण्डारीको रणनीति स्पष्ट देखिन्छ उनी राजनीतिक पुनरुत्थानको तयारीमा छिन्। त्यो उनको अधिकार हुन सक्छ, तर त्यो जिम्मेवारी पनि हुनुपर्थ्यो कि उनी संविधानमाथि गरेको व्यवहारको समीक्षा गर्थिन्, पार्टी र जनतासँग माफी माग्थिन्, अनि पुनः राजनीति प्रवेश गर्ने बाटो खोज्थिन्। तर अहिले त त्यो सबैभन्दा अभाव भएको छ।
राजनीति फेरि व्यक्ति केन्द्रित बनाउने हो भने, हामीजस्ता कार्यकर्ताको रगत किन बग्यो? हामीले किन टाढा बसेर पनि पार्टीको बदनाम बेला बचाउ गर्यौं? अब प्रश्न यति मात्र हो नेतृत्व सुन्छ कि फेरि घमण्डको अँध्यारोमा बाँच्छ?
हामी प्रवासमा छौं, तर हाम्रो विवेक स्वदेशमै छ। हाम्रो चेतना टाढा छैन। अब समय आएको छ पार्टी विचारको होस्, सिद्धान्तको होस्, र कार्यकर्ताको होस्। नेताको स्वार्थका लागि होइन।
हामी हिजो पनि बोल्थ्यौं, आज पनि बोलिरहेका छौं। अब पनि नसुनियो भने, इतिहास साक्षी हुनेछ एक दिन ती कार्यकर्ताहरू उठे, जसलाई देशमै ठाउँ नदिइएको थियो, तर तिनैले विचारको अन्तिम मशाल बोक्ने काम गरे।