Friday 20th March 2026

चित्रमा पञ्चाङ्ग, भाग – १२४


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

मिति : २०८१/०४/३१

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी

चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल

समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

मुखबाट विष निस्कन्छ अर्कोलाई घाइते पार्छ त्यसले
तनावको शिकार हुन्छन् कोही मस्तिष्क पनि सार्छ त्यसले
खराब नियत हुनेहरूसित कसैको नलाग्ने रहेछ
आफू खाडलमा मात्र पर्छ तर अरूलाई मार्छ त्यसले
सफलतामा पुगेँ सोच्दो हो सधैँ जीवनमा हार्छ त्यसले ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २

खान लाउन सबै अरुको भर पर्नेहरु हो
बिनासितिमा रिसराग गरेर मर्नेहरु हो
ख्याल गर आफू पनि अरुको जालमा परिन्छ
माथि जाने जतिको खुट्टा समाई झर्नेहरु हो
अर्काको प्रगतिमा बिष बमन गर्नेहरु हो ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ३

धनुबाण बन्नसक्छ मानिसको बोली पनि
त्यती धेरै तड्पाउंदैन बन्दुक गोलि पनि
मायाले जित्नसक्छ संसारलाई जानि राखौं
अमिलो बचनेले टाडिन्छन् हमजोली पनि
मायाले जिवित राख्छ मान्छेलाई भोलि पनि ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ४

दुधबाट पानी छान्न नखाेज
नचाहिने कुरा जान्न नखाेज
समयले सिकाउछ सब्लाई
अँकुश लगाई तान्न नखाेज
बचनकाे बाण हान्न नखाेज ।

सूर्य गिरी पाेखरा

पञ्चाङ्ग ५

कुहिर‍‍ो भित्र भित्रै छाया देखिन्छ
अन्जानमा गरेको माया देखिन्छ
आमाको मर्म कसले बुझ्छ यहाँ
अनाडिले गरेको काया देखिन्छ
पछाडि तिर माता धाया देखिन्छ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ६

मानिसको बोली वाण बन्न सक्छ
बोलेका सबै वचन गन्न सक्छ
ती चाेट मायामा बद्लिएमा भने
न त कसैले उसलाई छल्न सक्छ
बरु महान ब्याक्ती नै भन्न सक्छ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ७

सदनमा आफ्नो मान्छे मात्र तानेका छन्
ठुला-कुरा गरेर समय फाल्न जानेका छन्
नेपाली जनताले वर्षौंदेखि भोगेको नदेख्ने
मञ्च पिञ्छे भाषणमा शब्दले हानेका छन
भ्रष्टाचारीले भ्रष्टाचारी मात्र छानेका छन् ।

कला ढकाल झापा

पञ्चाङ्ग ८

पुनः मुटु दुख्ने बोली वचन सहनु कसरी ?
तोड्न गाह्राे भएको छ बन्धन सहनु कसरी ?
जो होचो उसको मुखमा घोचो भन्छन् हो रहेछ
भिरको चिण्डाेझैँ भयो जीवन सहनु कसरी ?
पीडामाथि पीडा हुँदै गगन सहनु कसरी ?

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग ८

यहाँ यस्तै चल्दैछ दुनियाँमा रित आजभोली
विष तुल्य छ कलि युगको अमृत आजभोलि
घोचपेच छ एकअर्कामा वाणरुपी वचनहरुको
असङ्ख्य छन बचनाका ती गणित आजभोलि
आफ्नैको वचन बिझ्ने सुनिश्चित आजभोली ।

खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्म जाजरकोट

पञ्चाङ्ग १०

आफैँमात्र ठुलो नठान मुटु छेड्यो
अरूलाई होचो नमान मुटु छेड्यो
भाषणमा त बराबरी नर नारी
मुखले भन्छौ समान मुटु छेड्यो
वचनको बाण नहान मुटु छेड्यो ॥

गुणनिधि घिमिरे अमेरिका

👉पञ्चाङ्ग🇧🇹 ११

दुःखको क्रुर जन्जिरमा परेको हुँदा
तिखौरे शब्दको पीरले भरेको हुँदा
एउटा दुःख सहन्छ, अर्को पीडा पोख्छ
यात्राको कदम ओरालो झरेको हुँदा
असह्य भई बाँचेको न मरेको हुँदा ।

✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

पञ्चाङ्ग १२

आजभोलि तनावले पार्नु पार्यो मलाई
खुसीको स्तरबाट नै झार्नु झार्यो मलाई
ए साथी कुरै नबुझी आवेशमा नआऊ
पिरैपिरको खुड्किला सार्नु सार्यो मलाई
तिम्रो वचन वाणले मार्नु मार्यो मलाई ।

श्रीकृष्ण शर्मा पोखरा -५, मालेपाटन

पञ्चाङ्ग १३

सुईभन्दा तीखो बाँण हान्यौ छातीभित्र
पत्थर नै होला भन्ने ठान्यौ छातीभित्र
म पनि त तिमी जस्तै मनुष्य हुॅ साथी,
के सोचेर खेल्ने ठाउ छान्यौ छातीभित्र
लास बनाएर सुख मान्यौ छातीभित्र ।।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १४

मिठो बोली बचनले मुर्दा पनि जाग्न सक्छ
बिमारीले पनि सधैं ओखती नै माग्न सक्छ
निशाना बरु चुक्न सक्छ धनुष बाणबाट
चुक्दैन बोलीको निशाना मुटुमै लाग्न सक्छ
कटु बचनले मित्र पनि टाढै भाग्न सक्छ ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग १५

सुखमा मुस्कुराउँछ दु:खमा धन मलिन लाग्छ
जति नै बुझ्यो उति नै जिन्दगी झन मलिन लाग्छ
ओठ र जिब्रोले माग गर्छन् उही पीडा ,उही दु:खी
व्यवस्थापनमा कमजोरीमा मन मलिन लाग्छ
दृश्यसँग तुलना गर्दा आफ्नै तन मलिन लाग्छ ।

प्रेम थापा “मन”बागलुङ

पन्चाङ्ग १६

छाडेर बचनको वाण मित्र नाश पार्छ जब
गालेर तन मन दुष विचार सार्छ जब
कलेश सगाली चलेको जीवन दुष्ट मति
कोमल हृदय विक्षिप्त पार्दा पार्दै मार्छ जब
भुलेर मानवता जहर उकेली हार्छ जब ।

सरिता काफ्ले कोहलपुर ८ पिपिरी बाँके

पञ्चाङ्ग १७

भनाइ व्यवहार पटक्कै छिल्दैन हजुर
हिजाे गरेकाे कुरा पटक्कै मिल्दैन हजुर
माछा भेटे भित्र हात नत्र त बाहिर हात
स्वार्थ बाहेक कुरा पटक्कै सिल्दैन हजुर
यसरी देश विकास पटक्कै खिल्दैन हजुर ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...