Saturday 15th August 2026

विश्वभरि विमानसेवा, सञ्चारमाध्यम र ब्याङ्कहरूमा कसरी उत्पन्न भयो समस्या


BBC-विश्वभरि विभिन्न ब्याङ्क, सञ्चारमाध्यम र विमानसेवासहित ठूला संस्थाहरूमा एकैपटक आईटी प्रणालीमा समस्या उत्पन्न हुँदा तिनले प्रदान गर्ने सेवाहरू प्रभावित भएका छन्।
विभिन्न विमानसेवाले आफ्ना उडानहरू स्थगित गरेका छन् भने धेरै ठाउँमा विमान उड्ने समय प्रभावित भएको बताइएको छ।
संयुक्त राज्य अमेरिकाको अल्यास्का राज्यले आकस्मिक सेवाहरू प्रभावित भएको जनाएको छ। अस्ट्रेलियामा सूपरमार्केटहरू ठप्प भएका छन्।
सरकारी सर्भरमा निरन्तर साइबर आक्रमण, समस्या समाधानका लागि सरकार के गर्दै छ।
विभिन्न देशमा सञ्चारमाध्यमका कम्प्युटरमा आधारित प्रणालीमा समस्या उत्पन्न हुँदा तिनको काम प्रभावित भएको छ।
यूकेमा ‘स्काई न्यूज’ को प्रसारण केही समयका लागि बन्द भयो।
नेपालमा भने अहिलेसम्म कुनै सेवामा पनि समस्या उत्पन्न भएको जानकारी प्राप्त भएको छैन।

समस्या कसरी उत्पन्न भयो

प्रभावित धेरै पक्षले माइक्रोसफ्ट पीसीको अपरेटिङ सिस्टमसँग यो समस्या सम्बन्धित रहेको बताएका छन्।
“थर्ड-पार्टी सफ्टवेअर प्ल्याट्फर्ममा भएको अप्डेटका कारण विन्डोज प्रयोग हुने साधनहरूमा प्रभाव परेको हामीलाई थाहा छ। यो समस्या चाँडै समाधान हुन्छ भन्ने हामी ठान्छौँ,” माइक्रोसफ्टका एक प्रवक्ताले भने।
क्राउडस्ट्राइक कम्पनीले म्याक र लिनक्स प्रयोग भएका कम्प्युटर प्रणालीमा समस्या नदेखिको जनाएको छ।
“समस्या पत्ता लागेको छ र त्यो समाधान गर्ने प्रयास भएको छ,” उक्त कम्पनीले भनेको छ।
यसअघि माइक्रोसफ्टले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट ३६५ का एप र सेवा प्रयोग गर्न नसकेको विषयमा छानबिन भइरहेको जनाएको थियो।

साइबर आक्रमण भएको प्रमाण छैन

अस्ट्रेलियामा यो समस्याबाट धेरै प्रभाव परेको छ। अस्ट्रेलियाको गृह मन्त्रालयका एक प्रवक्ताले एउटा साइबर सुरक्षा फर्मसँग यो सम्बन्धित भएको जनाएका थिए। अस्ट्रेलियाको साइबर सुरक्षा निगरानी गर्ने निकायले दुराशयपूर्वक साइबर आक्रमण भएको जानकारी नभएको बताएको छ।
“प्रभावित कम्पनीहरूले प्रयोग गरेको बाह्य सफ्टबेअर प्ल्याट्फर्मसँग यो समस्या सम्बन्धित रहेको र यो प्रावधिक विषय भएको सूचना हामीसँग छ,” उक्त निकायले एउटा विज्ञप्तिमा भनेको छ।
क्राउडस्ट्राइक कम्पनीले यो समस्या सुरक्षासँग असम्बन्धित रहेको र साइबर आक्रमण नभएको दाबी गरेको छ।
अल्यास्काका अधिकारीहरूका अनुसार आकस्मिक सेवाको नम्बर ९११ र आकस्मिकबाहेक अन्य सेवाका कल सेन्टरहरूमा काम प्रभावित भएको छ। तर अस्ट्रेलियामा आकस्मिक सेवाको नम्बर ००० यथावत् चलेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यूके र अस्ट्रेलियाका पसल र बजारमा भुक्तानी गर्ने प्रणालीले काम नगरेको लेखेका छन्।
विमानहरू प्रभावित
दिल्ली विमानस्थलमा हातले लेखेर सूचना सम्प्रेषण गरिएको छ
तस्बिरको क्याप्शन, दिल्ली विमानस्थलमा हातले लेखेर सूचना सम्प्रेषण गरिएको छ
विश्वका विभिन्न देशमा विमानसेवा, ट्याक्सी र रेलसेवा पनि प्रभावित भएका छन्। त्यसबाट धेरै मानिसको यात्राको योजना पनि प्रभावित भएको छ।
अमेरिकी विमानसेवा यूनाइटेड, डेल्टा र अमेरिकन एअरलाइन्सले विश्वभरि आफ्ना सबै उडान तत्काल रोक्न निर्देशन दिएका थिए।
अस्ट्रेलियामा भर्जिन र जेटस्टारका उडानहरूमा विलम्ब भएको छ वा स्थगित भएको छ।
बर्लिन, टोक्यो र दिल्लीस्थित विमानस्थलहरू पनि प्रभावित भएका छन्।
बीबीसी संवाददाताका अनुसार कम्प्युटर प्रणालीले काम नगरेपछि दिल्ली विमानस्थलमा हातले लेखेर सूचना सम्प्रेषण गरिएको थियो।
नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने शुक्रवार अपराह्णसम्म प्रत्यक्ष प्रभाव परेको छैन।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार नेपालमा अहिले अन्यत्र समस्याग्रस्त भएको देखिएको प्रणाली प्रयोग नगरिने भएकाले त्यस खालको समस्या देखा परेको छैन।


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...