पर्दैन, मलाई सम्झनु पर्दैन
पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन
वर्षेनी मलाई सम्झन्छौ किन
मलाई बिर्सिदिए हुन्छ
रहरले कविता लेखेको थिएँ
तिमीले अमर बनाइदियौ
संस्कृतको अनुवाद गरेको थिएँ
भाषाको विकास भनिदियौ
भन्ने गर्ने सबै तिमी नै हौ
त्यसैले अब म भन्छु
पर्दैन, मलाई सम्झनु पर्दैन
पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन
मैले रामायण नलेखेको भए
सीतायन कसले पो लेख्थ्यो र
मोतीराम नजन्मिएका भए
मलाई कसले पो चिन्थ्यो र
चोरेर कविता छपाउने यहाँ को पो नै हुन्थ्यो र
यसरी जमघट नभए कस्ले कसलाई पो चिन्थ्यो र
पर्दैन, मलाई चिन्नु पर्दैन
पर्दैन, मलाई चिनाइरहनु पनि पर्दैन
राष्ट्रिय विभूती आदिकवि पनि भन्छौ
हरेक वर्ष होइन भनी टीका टिप्पणी किन गर्छौ
गजाधर र सोती दुई घरका हुन
एउटै घर हो भनी अझ फूर्ति लाउँछौ
त्यसैले पर्दैन, कोठामा बसेर मलाई खोज्नु पर्दैन
पर्दैन, कपोलकल्पित अनुसन्धान गर्न पर्दैन
पर्दैन मेरो समालोचना गर्न पर्दैन
पर्दैन, मलाई सम्झनु पर्दैन
पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन
भक्तमाला, प्रश्नोत्तरी, बधुशिक्षा नभएको भए
लक्ष्मीले मुनामदन कसरी पो लेख्थे र
मेरो भाषा सापटी नलिएको भए
समले नाटक कति पो लेख्थे र
पर्दैन, नेपालीमा कविता लेख्न पर्दैन
हिन्दी र अंग्रेजीमा लेखे पुग्छ
पर्दैन, मेरो समालोचना लेख्नु पर्दैन
मेरो आलोचना मात्र लेखिदिए पुग्छ
त्यसैले पर्दैन, मलाई सम्झनु पर्दैन
पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन
मैले हाँस्न हुँदैन नभनेको भए
मानव अधिकार कहाँ नै खोज्थ्यौ र
मेरो मार्ग नपछ्याएको भए
पारिजातलाई कसले पो चिन्थ्यो र
नारी विरोधी मलाई
मरणोपरान्त फाँसीदिए हुन्छ
चपला अवलाहरुलाई
नारीहरुले नै बेचिदिए हुन्छ
लुकेको समाज उपन्यास पढ्ने तिम्री छोरीलाई
बधू शिक्षा काव्य पढाउँन किन सकिनौ
त्यसैले पर्दैन मेरो नाम उच्चारण गर्न पनि पर्दैन
पर्दैन, मलाई सम्झनु पर्दैन
पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन
वीपीको यौनिकता पचाउन सक्ने तिमीले
नहाँस मात्र भनेको किन पचाउन सकेनौ
त्यसैले मलाई माल्यापर्ण होइन
जुत्तापर्ण गरिदेऊ
अविर होइन मलाई कालोमोसो दलिदेऊ
अव कर बलले वधु शिक्षा पढ्ने होइन
स्वच्छाले यौन शिक्षा पढिदिए हुन्छ
तिमीलाई वेश्या भन्ने म जन्तुलाई
आजीवन चिडियाखाना पठाइदिए हुन्छ
त्यसैले पर्दैन, मलाई सम्झनु पर्दैन
पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन
मेरो नाममा भएको खर्च
कस्ले पो सार्वजनिक गरेको छ र
वास्तविक सर्जकलाई यहाँ
कहिले पो सम्मान मिलेको छ र
हिसाव किताव मिलाउन नभ्याउँदा
कुमारी चोकमा म पुगेको थिएँ
फर्स्यौट भएपछि मात्र
सर्वमान्य म भएको थिएँ
तर अचेल हिसाव किताव बुझाउनु पर्दैन
पर्दैन, लेखापरीक्षण गर्नु गराउनु पर्दैन
पर्दैन, पारदर्शिता देखाउनु पर्दैन
पर्दैन, सामाजिक परीक्षण पर्दैन
त्यसैले त म भन्छु
मेरो नाउँमा खर्चनु पर्दैन
पर्दैन, मलाई सम्झनु पर्दैन
पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन
सावधान,
आउँदो सालदेखि अब मलाई सम्झनु पर्दैन
मेरो नाउँमा निमन्त्रणा बाँड्नु पर्दैन
मेरो जन्मजयन्ती मनाउनु पर्दैन
स्वर्गीय आत्माको खिल्ली उडाउनु पर्दैन
पर्दैन, मलाई सम्झनु पर्दैन
तिम्रो मपाइँत्वलाई सम्झीदिए पुग्छ
पर्दैन, मलाई आदिकवि मान्नु पर्दैन
गुमानी, वीर, बसन्त, रघुलाई मानिदिए पुग्छ
पर्दैन, मेरा कृतिहरु संग्रह गर्नु पर्दैन
रामायण बाहेक सब जलाई दिए हुन्छ
पर्दैन, नयाँ नेपाल बनाउन पर्दैन
समृद्ध नेपाल बनाइदिए पुग्छ
पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन
तिम्रो आफ्नै जयन्ती मनाए हुन्छ
पर्दैन, अब मलाई सम्झनु पर्दैन
मलाई बिर्सिदिए हुन्छ ।
सन्दर्भ : २११ ओैं भानुजयन्ती ( २९ असार २०८१)
( अन्तराल : ६१-६४:२०७३