Saturday 27th July 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय तीन भाग (१०३)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०७/१३
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : कुटेको, खुटेको, चुटेको, छुटेको, जुटेको, टुटेको, ठुटेको, फुटेको, भुटेको, लुटेको आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
हैन भन्नू पर्दैन जसले सक्यो उसले लुटेको छ
हाल्नु परेछ भने खाडलमा आफ्ना वंश जुटेको छ
पानी माथिको ओभानो बन्न मुखमा रामराम चिप्लो
भित्र भित्रै गाँठो पारेर बाहिर सम्बन्ध छुटेको छ
व्यवहार रहेछ लाठो जस्तो मर्का पारी चुटेको छ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
बसेछन् वागमा मान्छे बासना फूलको लिई
सिर्जना रागमा मान्छे बासना फूलको लिई
अगाध सृष्टिको अग्लो धरोहर रहेछ यो
आस्वाद सागमा मान्छे बासना फूलको लिई
शिल्पका जागमा मान्छे बासना फूलको लिई !!
कलानिधि दाहाल
पञ्चाङ्ग ३
भाग्य मेरो छुटेको छ
कर्म मेरो फुटेको छ
सोचे जस्तो नहुदा त
आशा पनि टुटेको छ
नियतिले लुटेको छ ।
सरिता सेढाई धादिङ
पञ्चाङ्ग ४
जसले मायाको नाटक देखायो उसैले कुटेको थियो
उसकै नामको चुरो उसकै हातबाट टुटेको थियो
उन्मादमा के के गर्दै छु थाहा कसलाई पो हुन्छ र
कठैविचरा ! आफ्नै धड्कनसँग मुटु छुटेको थियो
मेरो भन्ठान्या होला बरु उसकै भाग्य फुटेको थियो ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ५
केही पाउँदा केही छुटेको देख्छु,
जोडिनु भन्दा बढी टुटेको देख्छु,
जोडिन र टुट्न समय लाग्दैन,
चाहना समयले लुटेको देख्छु,
वृहत् नसोच्दा बुद्धि भुटेको देख्छु ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग ६
राम्रो गर्नेलाई खेदो खन्छन् नराम्रो काममा सबै जुटेको छ
मुखले एकता फलाक्छन् यहाँ ठुलाले सानालाई कुटेको छ
कस्तो कुसंस्कार बस्यो नि नेपालीको मिल्न त कहिल्यै नजान्ने
भाइ – भाइ बीच यस्तो बेमेल हुँदा आमाको मन टुटेको छ
कमजोरीको फाइदा उठाइ छिमेकीले त देशै लुटेको छ ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ७
कोही देखावटी फुटेका छन्
निमुखा जनता कुटेका छन्
आफू आफू मनमानी गर्दै
भित्र भित्र मस्तै जुटेका छन्
सकेसम्म यहाँ लुटेका छन् ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ८
म त बर्षौंदेखि साथी संगतीबाट छुटेको मान्छे
समय र परिस्थितिले बारम्बार लुटेको मान्छे
भाग्यलाई दोष दिई केही नहुने रहेछ यहाँ
आफू खास आफ्नै नाता सम्बन्धबाट टुटेको मान्छे
यात्रामा धोका पाएर बीच बाटोमा छुटेको मान्छे ।
-पूर्णबहादुर श्रेष्ठ” हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ९
कतै आजीवन कारावासको हत्यारो माफीमा छुटेको छ
कतै अस्पतालको कोठामा डाक्टर नर्सलाई कुटेको छ
विविधताको व्यवस्थापन गर्न नसकेको यस देसमा
कतै भ्रष्टाचारीले निर्धक्कसँग सोझा जनता लुटेको छ
कोही धर्म र जातको नाममा राष्ट्रियता भाँड्न जुटेको छ !
टीकाराम जोशी, टीकापुर।
पञ्चाङ्ग १०
लाज सरम पचाइ नियत भुटेको देख्दा
आफ्नो हुँदो गर्नलाई जनता चुटेको देख्दा
खै कहाँ गयो ‘जनताको खुल्ला आवाज’ भन्ने
भ्रष्टाचार जति एकजुट भई जुटेको देख्दा
मिलेर सखाप पारि यो देश लुटेको देख्दा ।
अच्युत घिमिरे,सर्पाङ,भुटान
पञ्चाङ्ग ११
के साँचैभन्दा हाम्रै तक्दिर फुटेको हुन्छ
जो हामीलाई सधैँ दुष्टले लुटेको हुन्छ
हाम्रो सन्तानलाई सधैँभरी किनहोला
दुश्मनले मकै भट्मास झैँ भुटेको हुन्छ
जब कि नेपालीले हृदय खुटेको हुन्छ ।
सुरेशकुमार पाण्डे दाङ घोराही २८
पञ्चाङ्ग १२
ठ्याक्कै सिसा जस्तो विश्वास पनि टुटेको छ
वर्षौ देखिको पाएको साथ हात छुटेको छ
जब भ्रमको खेती सप्रिन छाड्यो तब मात्र
कोही चाहिँ बल्ल माफ माग्न भनी जुटेको छ
उध्री च्यातिएका ठाउँ राम्रोसँग खुटेको छ ।
#पृथक प्रकृति,झापा
पञ्चाङ्ग १३
इमानिको मन हरेक दिन टुटेको छ
मातृभूमीवाट लुट्नेले सधैं लुटेको छ
जो छन् नि स्वार्थी उही समाजमा जाती अरे
धैर्यताको बाध धान्न नसकी फुटेको छ
शान्तीले बाँच्न नयाँ घर जोर्न जुटेको छ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १४
पूर्वाग्रह देख्ने मन र मन जुटेको भेटियो
एक मनलाई अर्को मनले कुटेको भेटियो
पूर्व र पश्चिमका दोधारे मन भेटिएपछि
आफू आफूको जोड घटाउमा लुटेको भेटियो
भागबण्डामा नै नमिलेपछि छुटेको भेटियो ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १५
असीम माया अनि विश्वास टुटेको देखियो
अब्बल साथको हात पनि छुटेको देखियो
भ्रम र अहंकारी जालो मौलाएपछि यहाँ
आफ्नो भन्दा पराइमा बढी जुटेको देखियो
जिउँदा देवता बचनले कुटेको देखियो ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १६
खोइ कसले दियो खुशी यहाँ सबैलाई छानीछानी
आफ्नो मर्जी गर्छन् नेताहरु आफैं बुद्धिजीवी ठानी
कति दिन चलाउँछौ एकाधिकारको तिम्रो पसल?
के नै छ र मरेपछि एक्लैले कुम्ल्याएर सबै लानी
मान्छौ होला आफैंलाई मै हो संसारको भाग्यमानी ।
प्रदीप के रिमाल
इटहरी सुनसरी।
पञ्चाङ्ग १७
सोच नमिली फुटेको देखेँ
मिलेका पनि छुटेको देखेँ
अनौठो लाग्छ गाउँ सहर
आतङ्क गर्ने जुटेको देखेँ
आफ्नै मान्छेले कुटेको देखेँ ।
– आर्त अकुलीन
पञ्चाङ्ग १८ ssi.ssi.isi.ss
देखे जुटेको जनता रिसाइ
हेर्थे कुटेको प्रहरी रिसाइ
लाचार हेपा सरकार भन्दै
धारो छुटेको खुकुरी रिसाइ
गोली भुटेको कसरी रिसाइ ?
विवश पारदर्शी
झापा,
पञ्चाङ्ग १९
माया छक्क पर्यो दिल टुटेको देखेर
गाला जिल्ल पर्यो आँसु छुटेको देखेर
प्रेमको परिभाषा दिलमा खोज्दा खोज्दै
इज्जत लजायो नारी लुटेको देखेर
कानुन डरायो न्याय फुटेको देखेर ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पन्चाङ्ग २०
दाजु भाइमा फुट बढेको छ
आपस्तमा हो मात चढेको छ
आफ्नै थालमा हात चुठ्नेलाई
भन्नू के बुद्धि रैछ डढेको छ
सत्ता द्रब्य लिप्साले गढेको छ ।
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग २१
सबैलाई रोगले आज चुटेकको छ
बिरामीले सबै धनपैसा लुटेको छ
स्वास्थ्यनै परम् धन, बुझौँ आशय
औषधिको प्रभावले सबै टुटेको छ
स्वास्थ्यको हालत निकै फुटेको छ ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग २२
चर्चरी हात र पाउ जस्को फुटेको देखिन्छ।
सक्नेले तिनै नसक्नेलाई कुटेको देखिन्छ।
नियम अनि कानुन सारा किताब भित्रै छन्,
देशमा केही गर्छु भन्नेले लुटेको देखिन्छ।
हत्यारा जेल पर्नुको साटो छुटेको देखिन्छ ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग २३
देश विकासमा नेता जुटे हुने थियो
देश द्रोहि मकै झैँ भुटे हुने थियो
किन छैन चिन्ता कसैलाई देशको
ति अपराधी चोर कुटे हुने थियो
बलात्कारी टाउको फुटे हुने थियो ।
तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
पञ्चाङ्ग २४
सपना आज म र आमा छुटेको देखेँ
पल्लो घरे रामेले आमा कुटेको देखेँ
कति फरक छ आमा र सन्तान बीच
सिसा जस्तै कच्चा सम्बन्ध फुटेको देखेँ
बोक्सी भन्दै पिट्न समाज जुटेको देखेँ ।
संगीता खरेल
चन्द्रागिरी ८ मातातिर्थ
काठमाडौ


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...