Monday 5th October 2026

रोल्पामा बस दुर्घटना, घटनास्थलमै ४ जनाको मृत्यु, १९ जना घाइते


रोल्पामा बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मंगलबार मध्याह्न सवा १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस रिचि सडकबाट करिब १ सय ५० मिटर मुनि खोल्सोमा खसेर दुर्घटनाग्रस्त भएको थियो । रोल्पाको बागमाराबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा बसमा सवार एक महिलासहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका हुन ।

प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरूमा रोल्पाको माडी गाउँपालिका निवासी २२ वर्षीय प्रकाश बाठा, माडी–४ का ५१ वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्ता डाँगी र रोल्पाको परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विक रहेका छन् । घाइते अवस्थामा भेटिएका बसका चालक दाङको घोराही उपमहानगर–१२ हापुरका २४ वर्षीय हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेहरुमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढामगर, रोल्पा त्रिवेणी–७ छम्पासुनारीका ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दारबोटका २५ वर्षीय कमानसिंह घर्तीमगर, रोल्पा माडी–४ का ९ वर्षीय मिलन डाँगी, रोल्पा माडी–६ कोर्चाबाङका १५ वर्षीय मुकेश पुन, रोल्पा माडी–२ घर्तीगाउँका २० वर्षीय जितेश बाठा, रोल्पा माडी–७ का २३ वर्षीया हिमानी घर्तीमगर र उनको छोरा ११ महिनाको ओल्सन घर्तीमगर छन् ।

यसैगरी रोल्पा माडी–४ का २२ वर्षीया कबिता खड्का र उनका छोरा ५ वर्षीय युस खड्का, माडी–४ की २६ वर्षीया मीना डाँगी, रोल्पाको माडी–२ घर्तीगाउँकी २८ वर्षीया तिरपना बाठा, रोल्पाको परिवर्तन–३ की २४ वर्षीया खुम्बु बुढा, रोल्पापको त्रिबेणी–२ नुवागाउँकी १७ वर्षीया पूर्णिमा बुढा, रोल्पा त्रिवेणी–२ कै १३ वर्षीया सुस्मिता बुढा, रोल्पाको माडी–२ की ४० वर्षीया बिर्जना घर्तीमगर, रोल्पाको माडी–२ घर्तीगाउँका २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोटका २४ इन्द्रकुमार घर्तीमगर र दाङस्थित घोराही उपमहानगर–१२ हापुरका बसका चालक २४ वर्षीय हुमराज बस्नेत घाइते भएका छन् ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरूले उनको रिहाइको माग गर्दै ठूलो प्रदर्शन यात्रा सुरु गरेका छन्। सरकारसँग भएको वार्ता असफल…

अमेरिकाले बेलायतको RAF Fairford एयरबेसमा तैनाथ रहेका आफ्ना लामो दूरीका B-1 बमवर्षक विमानहरूलाई अज्ञात सुरक्षा जोखिमका कारण फिर्ता लगेको जनाएको…

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको…

प्रतिकृयाहरू
...