Saturday 5th July 2025

कुटपिटको आरोपमा अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता


काठमाडौं -बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अनलाइनखबरसँग मुद्दा दर्ता भएको पुष्टि गरे । माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन् ।

फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् । यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । सहमति भएको एक सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिए ।त्यसपछि परिस्थिति शान्त हुनेभन्दा थप जटिल बन्दै गयो । यतिबेला पुनः मिरुनाले माफी माग्नुपर्ने भन्दै मुद्दा दायर भएको हो । मिरुना ‘कबड्डी ४’ की अभिनेत्री हुन् भने ठकुरी फिल्म प्राविधिकको रुपमा कार्यरत थिए । मिरुना यतिबेला लण्डनमा छिन् ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...