Thursday 27th August 2026

न्यायधिशले नै घुसको डिल गरेको अडियो सार्वजनिक, न्याय परिषदको आकस्मिक बैठक बस्दै


काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । २ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा गराउन काठमाडौँ जिल्ला अदालतका न्यायाधिस राजकुमार कोइराला र तामाङको पक्षमा बहस गरिरहेका वकिल रुद्र प्रसाद पोख्रेलबीच एउटा खतरनाक डिल भएको तथ्य बाहिरिएको हो ।

न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् । न्यायपरिषद्‍ बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजकुमार कोइराला र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् ।

यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकेको छैन । न्यायधिस कोइराला एमालेको कानुन विभाग सदस्यसमेत हुन् ।

यो घुसको डिल भएको समय, २०७८ पुसमा उनी नेपाल बार एशोसिएसनको कोषाध्यक्ष थिए। न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिएका छन्। उक्त समयमा नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश जबरामा न्यायिक विचलन आएको भन्दै उनको राजीनामा मागेर आन्दोलनमा थियो। अधिवक्ता पोखरेल भने खुलेरै बारको आन्दोलनको विरोधमा र प्रधानन्यायाधीश जबराको पक्षमा लागेका थिए।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गतवर्षको असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेका तर्फबाट सांसदसमेत भएका थिए ।

तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। त्यही मुद्दामा तामाङलाई धरौटीमा छाड्न गरिएको डिलमा सहमति जनाएका न्यायाधीश कोइरालाले २०७८ को पुस १४ मा भने तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएका थिए। अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा छन् । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।…

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

प्रतिकृयाहरू
...