Thursday 10th September 2026

घरको तला थप्छु भन्थ्यो, बाकसमा शव बनेर आउने भयो


पूर्वी सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई भेरी नदीले छुट्याएको छ। भेरीगंगाको जहरे बजार र गुर्भाकोटको जहरे गाउँ जोड्ने झोलुङ्गे पुल छ। त्यहीँ नजिकै पक्की पुल पनि बन्दैछ। कंगोमा बिद्रोहीको गोलीबाट मृत्यु भएका अनिल गुरुङको घर गुर्भाकोट–१४ स्थित जहरे गाउँमा छ। सेनामा भर्ती भएपछि गुरुङले काठमाडौंमै विवाह गरे। उनकी श्रीमती विद्या र नौ वर्षीय छोरो काठमाडौंमै बस्छन्।

अनिल पाँच वर्षको हुँदा आमाको मृत्यु भयो। उनका बाजे छवीलाल गुरुङ गाउँका जमिनदार थिए। उनी अहिले ८८ वर्षका भए। अनिलको घरमा बाजेसँगै बुवा लालबहादुर, उनकी श्रीमती र छोराछोरी बस्छन्। अनिल कंगो मिसन जानुअघि घर आएका थिए। पुसको पहिलो साता घरबाट बिदा भएर उनी काठमाडौं हिँडे। ‘पुल बन्दैछ, अव घरको तला थप्नुपर्छ,’ छोराले घर छोडेर जाँदाजाँदै भनेका कुरा सम्झदैं बुवा लालबहादुरले भने, ‘अब छोरो नै रहेन, घरको के कुरा गर्नु।’

अनिलले गुमीको आनन्द माविबाट २०६० सालमा विद्यालय शिक्षा पूरा गरे। गाउँमा माओवादी द्वन्द्व चर्किरहेको थियो। एसएलसी दिएलगत्तै उनी सशस्त्र द्वन्द्वमा होमिए। ‘डेढ वर्षजति माओवादीको बन्दुक बोक्यो,’ अनिलका नातेदारसमेत रहेका गुर्भाकोट–१४ का वडाध्यक्ष शशबहादुर घलेले भने, ‘त्यसपछि उसलाई परिवारले माओवादीबाट छुटाएर सहर पठाएँ।’ डेढ वर्षजति विद्रोहीको बन्दुक बोकेका अनिल काठमाडौं पुगेर सेनामा भर्ति भए।

मंगलबार साँझ अनिलसँगै कंगो मिसनमा खटिएका सुर्खेतकै चन्द्रबहादुर गुरुङले लालबहादुरलाई फोन गरेर भने, ‘बा अनिलले वीरगति प्राप्त गर्‍यो।’ सँगैको साथीले यति भन्दा पनि लालबहादुरले पत्याएका थिएनन्। केही बेरपछि नेपाली सेनाको हेडक्वाटरबाट फोन आयो। ‘विद्रोहीसँगको भिडन्तमा घाइते भएका तपाईंको छोराले वीरगति प्राप्त गर्नुभयो,’ फोनमा बोल्ने सेनाका अधिकारीको भनाइ सम्झँदै लालबहादुरले भने, ‘शव ल्याउने व्यवस्था मिलाउँदैछौं।’

अर्काको देशमा शान्ति स्थापना गर्न गएको छोरो शव बनेर आउने खवरले ६२ वर्षका बुवा लालबहादुर, ८८ वर्षका बाजे छवीलालसहित सिंगो गुरुङ परिवार मर्माहत छ। अनिलकी श्रीमती विद्या काठमाडौंको नयाँ बजारमा बस्छिन्। नौ वर्षीय छोरो कक्षा चारमा पढ्छन्। विद्याले श्रीमानलाई गोली लागेको मंगलबार नै थाहा पाएकी थिइन्। बुधबार विहानै मृत्युको खवर आयो। ‘छोरोलाई राम्रोसँग पढाउनु, आफ्नो पनि ख्याल गर्नु भन्नु भएको थियो,’ उनले भनिन्, ‘शान्ति मिसनले मेरो र छोराको सहारा खोसिदियो।’

माओवादीको बन्दुका बोकेर हिँडेको छोरोलाई छुटाएर सेनामा भर्ती गराएको क्षण अहिले सम्झिरहेका छन्। ‘माओवादीबाट छुटाएर गल्ती गरेजस्तो भयो,’ उनले भने, ‘आफ्नै देशभित्रको द्वन्द्वमा बचाएँ, अर्काको देशमा छोराले प्राण त्याग्यो।’

गुर्भाकोटको वडा नं. १३ र १४ लाहुरे बस्ती हो। अधिकांश गुरुङ र घले समुदायको बसोबार रहेको साविकको गुमी गाविसका अधिकांशयुवाहरू फौजमा छन्। ‘नेपालदेखि सिंगापुरसम्म यहाँका युवाहरू फौजमा छन्,’ वडाध्यक्ष घलेले भने, ‘गुमीले फेरि एकपटक इमान्दार, राष्ट्रसेवक र देशभक्त सिपाहीलाई गुमाउन पुग्यो।’ छोराको शव बुझ्नका लागि बुवा लालबहादुर काठमाडौं जाने तयारीमा छन्। ‘फोन गर्ने सेनाका अधिकारीले पाँच–सात दिनमा लाश ल्याउँछौं भनेका छन्,’ उनले भने, ‘काठमाडौं बोलाएका छन्, भोलि–पर्सी त्यतातिर जान्छु।’

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...