Thursday 25th April 2024

सिटामोल : ५०० कि ६५० एमजी ?


सरकारले पारासिटामोल औषधिको वजन बढाउने निर्णय गरेपछि चौतर्फी विरोध भएको छ । चैत १० गते औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल औषधि उत्पादन गर्ने अनुमति दिएपछि स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्यमाथि खेलवाड भएको आरोप लगाउँदै आएका छन् ।सिटामोलको वजन जनस्वास्थ्यका हिसाबले नढाएर व्यापारिक उद्देश्यले बढाइएको औषधि व्यवस्था विभागका पूर्वनिर्देशक बालकृष्ण खकुरेल बताउँछन् । सिटामोल उत्पादक कम्पनीहरुले कोरोना महामारी तीव्र गतिमा फैलिएकै समयमा मूल्यवृद्धि गर्ने उद्देश्यले सिटामोलको कृत्रिम अभाव गराएका थिए । त्यतिबेला सरकार मूल्यवृद्धि गर्न तयार भएन । यसअघि नै ५०० एजमीको सिटामोल उत्पादकहरुले प्रतिट्याब्लेट १ रुपैयाँ बढाउन सरकारसँग माग गरेका थिए । तर त्यतिबेला पनि सरकारले मूल्य वृद्धि गर्न मानेको थिएन । यस्तो अवस्थामा हाल सिटामोलको वजन बढाएर मूल्य बढाउने खेल भएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

यसअघि तीन वटा औषधि उत्पादक कम्पनीले पेस गरेको सिटामोल ६५० एमजी उत्पादनसम्बन्धी प्रस्ताव औषधि व्यवस्था विभागले अस्वीकार गरेको थियो । तर, विभागले यस पटक औषधि सल्लाहकार समितिको बैठकमा प्रस्ताव पेस गरी ६५० एमजीमा उत्पादन गर्न अनुमति दिनेगरी निर्णय गरिएको हो । औषधि उत्पादकहरुले लामो समयदेखि सिटामोलको मूल्यवृद्धि गर्न दबाब दिँदै आएका थिए । सरकारले ५०० एमजी सिटामोलको मूल्यवृद्धि गर्न नमानेपछि सिटामोलको एमजी बढाएर मूल्य बढाउन लागिएको मन्त्रालयका ती अधिकारीले बताए । फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालले ५०० एमजीको सिटामोल उत्पादन गर्दा औषधि उत्पादकहरुलाई घाटा भएमा सरकारले छलफल गरेर मूल्यवृद्धि गर्नुपर्ने तर, जनस्वास्थ्यमा पर्ने असरबारे अध्ययन बिना सिटामोलको एमजी बढाउन नहुने बताए ।

उपभोक्ता संघका महासचिव हरि मैनालीले ज्वरो आउँदा धेरै सर्वसाधारणले स्वास्थ्यकर्मीको सल्लाह बेगर सेवन गर्ने औषधि भएकाले बिना अनुसन्धान सिटामोलको एमजी बढाउनु आपत्तिजनक हुने जनाए । औषधि उत्पादक कम्पनीले ५०० एमजीको सिटामोल पनि उत्पादन गर्ने बताएका छन् । तर उनीहरुले आउँदा दिनमा ६५० एमजी सिटामोल उत्पादनमै जोड दिने मैनालीको जिकिर छ ।

औषधि व्यवस्था विभागका पूर्वनिर्देशक खकुरेलले सिटामोलको मूल्य र एमजी वैज्ञानिक ढङ्ले बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सिटामोलको मूल्य नबढाउनुस् भनेको होइन, औषधिको एमजी पनि नबढाउनुहोस् भनेको पनि होइन तर मूल्य र सिटामोलको एमजी बढाउँदा बृहत रुपमा अध्ययन गरेर मात्रै बढाउनु होस् ।’

यसअघि औषधि उत्पादकको आग्रहलाई स्वीकार नगरेको औषधि व्यवस्था विभागले एकाएक सिटामोलको एमजी र मूल्यवृद्धि गर्ने प्रस्ताव औषधि सल्लाहकार समितिमा पेस गरीे ६५० एमजीको औषधि उत्पादनका लागि विभागलाई अनुमति दिनु आश्चर्य लाग्दो कुरा भएको फार्मेसी संघका केन्द्रीय अध्यक्ष खनालको भनाइ छ । निको हुनका लागि खाने सिटामोलले अर्कोतिर स्वास्थ्यलाई असर गर्ने स्थिति सिर्जना भएको उनले बताए । व्यापारीको चङ्गुलमा परी बिना अध्ययन ६५० एमजीको सिटामोल उत्पादन गर्न अनुमति दिनु दुखद् कुरा भएको उनको भनाइ छ ।

सिटामोल बढीमात्रामा सेवन गरेमा कलेजोमा असर पु¥याउन सक्ने पूर्वनिर्देशक खकुरेल बताउँछन् । दिनमा तीन–चार ग्रामभन्दा बढी सिटामोल सेवन गरेमा कलेजोमा असर पु¥याउन सक्ने उनले बताए । सामान्यतया ५०० एमजीको सिटामोल दिनमा तीनदेखि चार पटकसम्म सेवन गरिन्छ । यस हिसाबले ज्वरो आएको खण्डमा कतिपयले स्वास्थ्यकर्मीको सल्लाह बिना दिनमा २००० एमजी सिटामोल सेवन गर्छन् । यसरी नै ६५० एमजीको पारासिटामोल सेवन गर्दा एक जनाले २६०० एमजी अर्थात् झण्डै तीन ग्रामभन्दा धेरै सेवन गर्छन् । ‘बिरामीको अवस्था हेरेर कुनै बेला चिकित्सकले ५००/५०० एमजीको सिटामोल सेवन गर्न दिएको देखेर कतिपयले स्वास्थ्यकर्मीको सल्लाहबिना ६५० एमजी सिटामोल यसै गरी सेवन गरेको खण्डमा कलेजो, मिर्गौलामा कस्तो असर गर्ला ?’ उनले भने ।

बजारमा अब ६५० एमजी सिटामोल उत्पादन अनुमतिको खुसीयाली हुने तर सर्वसाधारण जनतालाई कस्तो अवस्थामा कतिकति एमजीको सिटामोल सेवन गर्ने भन्नेबारे अन्योल रहनेप्रति भने सम्बन्धित निकायको ध्यान नभएको उनले बताए ।

औषधि विज्ञान अध्यापन गराउँदै आएका खनालका अनुसार, सिटामोलको मात्रा मानिसको तौलका आधारमा सेवन गर्नुपर्छ । उनका अनुसार युवा अवस्थामा मानिसले दिनमा तीन ग्रामभन्दा बढी सिटामोल सेवन गर्न हुँदैन । ५५ वर्षभन्दा माथिकालाई आवश्यकताका आधारमा दिनमा एक ग्रामसम्म दिन मिल्ने उनले बताए । विभागका पूर्वनिर्देशक खकुरेलले समुदायमा स्वास्थ्यकर्मीको सल्लाह बिना सिटामोल सेवन गर्ने चलन रहेको भन्दै यस्तो औषधिबारे निर्णय लिनुअघि धेरै कुरा बिचार गर्नुपर्ने बताए । ‘टाउको दुख्दा, ज्वरो आउँदा आफै फार्मेसीमा पुगेर सिटामोल ल्याएर खाने चलन छ,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मीको सल्लाह बिना कुनै पनि औषधि सेवन गर्न हुँदैन । फार्मेसी नपढेकाले पनि गाउँघरमा सिटामोल बिक्री वितरण गर्छन् भने किराना पसलबाट समेत सिटामोल किनबेच हुन्छ ।’

यसरी आम मानिसले सहजै किनबेच गर्न सक्ने सिटामोलमा एक्कासी एमजी बढाउँदा कतै नेपालीको स्वास्थ्यमाथि खेलवाड हुने त होइन भन्ने प्रश्नचिह्न खडा भएको विज्ञहरुको भनाइ छ । नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष खनालले पनि बालबालिकाका लागि १२५ एमजी र अन्य उमेर समूहका लागि ५०० एमजीको सिटामोल प्रभावकारी भएको अवस्थामा भारतले सिटामोलको एमजी बढायो भन्दैमा नेपालले बढाउनुपर्ने कारण नभएको बताए ।

विश्व स्वास्थ्य संगठनले पारासिटामोल १०० देखि ५०० एमजीसम्म उत्पादनका लागि अनुमति दिएको छ । भारतले ६५० एमजीको सिटामोल उत्पादन ग¥यो भन्दैमा नेपालले उत्पादन गरिहाल्नुपर्छ भन्ने नभएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए । भारतीय जनता र नेपाली जनताको औसत तौल र उचाइ एउटै छ भन्ने कुनै पनि आधार नभएको उनले बताए ।उता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्वास्थ्यकर्मीसँग सल्लाह लिएरमात्रै सिटामोल सेवन गर्नुपर्ने बताए । उनी भन्छन्, ‘जथाभावी सिटामोल सेवन नगरेर चिकित्सकको सल्लाहमा सेवन गरेमा समस्या हुँदैन ।’

उनका अनुसार डाक्टरहरुले शरीरमा के समस्या छ, किन ज्वरो आयो वा अन्य समस्या देखियो भन्ने बुझेर त्यसको आधारमा ५०० एमजी सिटामोल सेवन गर्ने कि बढी वा कम सेवन गर्ने भन्नेबारे सुझाव दिन्छन् । सिटामोलको एमजी कम वा बढी भनेर विवाद गर्नुभन्दा पनि स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।स्वास्थ्यको अवस्था र आवश्यकताको आधार सिटामोल सेवन गरेको खण्डमा सिटामोलको एमजी घट्ने वा बढ्ने कुराले खासै फरक नपर्ने उनी बताउँछन् ।

नेपाल औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारी भने सरकारले पारासिटामोललाई ६५० एमजीमा उत्पादन गर्न दिने निर्णय गर्नु स्वागतयोग्य भएको बताउँछन् । उनले पारासिटामोल ५०० एमजीलाई विस्थापित गरि ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रम फैलाइएको समेत बताए । बजारमा ५०० एमजीको पारासिटामोल पनि अभाव हुन नदिने र आवश्यकताका आधारमा ६५० एमजीको पनि उत्पादन गरिने उनले बताए ।विभिन्न राष्ट्रमा पारासिटामोल ६५० एमजी पनि प्रचलनमा रहेको र विभिन्न रोगमा त्यो उपयुक्त देखिएकाले आवश्यकता अनुसार बिरामीको उपचारका लागि सही मात्राको औषधिको अभाव हुन नदिने उद्देश्यले उत्पादन गरिने नेपाल औषधि उत्पादक संघको भनाइ छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...