Sunday 17th November 2024

सपुतदेखि पशुपतिसम्म, दुर्गेशदेखि भिटेनसम्मका गीत विवादमा – यी गीत पनि तानिए विवादमा


गायक प्रकाश सपुतले भर्खर सार्वजनिक गरेको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । सार्वजनिक भएलगत्तै विवादमा तानिएको गीत जनयुद्धमा सहभागी जनमुक्ति सेनाको बिषयबस्तुमा छ । १६ मिनेट २५ सेकेण्ड लामो युट्युबको ट्रेन्डिङमा समेत आउन सफल गीतको बिषयबस्तुलाई लिएर नेकपा माओवादी वृत्तमा चर्को आलोचना समेत भइरहेको छ ।

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी दिएकी छन् । गीतको बिषयमा सामाजिक सञ्जालमा पक्ष र विपक्षमा चर्काे बहस हुन थालेको छ । कतिपयले सार्वजनिक गीत हटाएर सर्जकले माफी माग्नुपर्ने धारणा राख्दा, कतिपयले गीत सही भएको विचार अगाडि सारेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा यसरी गीत विवादमा आउनु कुनै नौलो भने होइन । कतिपय अवस्थामा गायकहरुले नै चर्चाका लागि विवाद उत्पन्न हुने गीत बनाउछन् भने कतिपय समय गतिका शब्द, बिषय, चोरी लगायत कारणले समेत गीत विवादमा पर्ने गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा लोकगायक पशुपति शर्मादेखि र्यापर भिटेनसम्मका गीत विवादमा परेका छन् । यस्ता छन् नेपाली सांगीतिक क्षेत्रका विवादित गीत :

‘गलबन्दी च्यातियो तिम्ले तानेर..’ :

गायक प्रकाश सपुतले नै २०७६ मा सार्वजनिक गरेको ‘गलबन्दी च्यातियो तिम्ले तानेर..’ बोलको गीतले छोटो समयमै लोकप्रियता हासिल गरेको थियो । यूट्युबमा राम्रो भ्युज पाएको गीतमा प्रकाश सपुत र शान्तीश्री परियारको स्वर छ । यो गीत चोरीका कारण विवादमा तानिएको थियो । गीतको लय चोरिएको भन्दै गायक तथा संगीतकार शम्भु राईले उजुरी समेत गरेका थिए ।

उक्त विवादमा शम्भु राईकै जित भएको थियो । गीतको शीर्षकमा सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने गरी विवाद मिलेको थियो । यो गीत राईको ‘देउसी भैलो’ बोलको गीतमा रहेको ‘आउ नाचौँ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताऊँ हाँसेर’ भन्ने लयबाट सपुतले लिएको ठहर भएको थियो ।

‘ह्याप्पी तिहार, चिसो बियर’ र ‘ख्यास्स पुतली :

गायक दुर्गेश थापाको यी दुबै गीत विवादमा परे । ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत दुर्गेशले २०७६ को कार्तिकमा ल्याएका थिए । गीतमा धुम्रपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्दावली प्रयोग भएको थियो । यस्ता शब्दले समाजमा गलत सन्देश जाने भन्दै थापाको निकै आलोचना भयो । गीतलाई लिएर अपराध महाशाखाको टोलीले उनलाई पक्राउ समेत गरेको थियो । आफूले गल्ती गरेको भन्दै माफी मागेर गीत सच्याउने शर्तमा थापा छुटेका थिए ।

त्यस्तै दुर्गेशले गत तीजका लागि ल्याएको गीत हो ‘ख्यास्स पुतली’ । यस गीतमा प्रयोग भएका शब्दमा महिला अधिकारकर्मीदेखि लोकदोहोरी प्रतिष्ठानले समेत आपत्तिजनक रहेको भन्दै विरोध जनाएका थिए । गीत सच्याउन लोकदोहोरी प्रतिष्ठानले गरेको अनुरोध नमानेको कारण दुर्गेशलाई सदस्यबाट समेत प्रतिष्ठानले निष्काशन गरेको थियो ।

‘पैसा’ र ‘डन आयो डन’ :

सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन् दुर्गेश थापा । उनका एकपछि अर्को गीत विवादित भए । यसै क्रममा ‘पैसा’ र ‘डन आयो डन’ यी दुई गीत पनि विवादित बन्यो । यसै बर्ष माघमा उनले ल्याएको गीत ‘पैसा’मा शब्द, संगीत, स्वर र अभिनय दुर्गेशकै छ । गीतमा उनले पैसाले देश ध्वस्त बनाएको बताउँदै पैसाले हरेक कुरा गर्ने आशय राखेका थिए । आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरिएको गीत रक शैलीमा छ ।

त्यस्तै ‘डन आयो डन’ २०७७ कार्तिकमा सार्वजनिक भएको थियो । दुर्गेश र योगेश काजीको स्वर रहेको गीतमा पल शाहको अभिनय छ । दुर्गेशकै शब्द र संगीत रहेको यो गीतका कारण दुर्गेश प्रहरी खोरमा समेत पुगेका थिए । प्रहरी कार्यालयबाटै गीत युट्युबाट हटाएका कारण छुटेका उनले विवादित शब्द ‘म्युट’ गरेर गीत पुनः ल्याएका थिए ।

‘लुट्न सके लुट कान्छा’ :

चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नेपालको राजनीतिक स्थितिलाई व्यङ्ग्य गर्दै २०७५ फागुनमा ल्याएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतले निकै विवाद निम्त्यायो । शर्माले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् भिडियोसहित ल्याएको गीतमा देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयले प्राथमिकता पाएको थियो । शर्माकै शब्द, संगीत समेत रहेको गीतको भिडियोमा पशुपति शर्मा, मञ्जु विक र प्रज्वल भण्डारीको अभिनय थियो । तात्कालीन केपी ओली सरकारको विरोध गरिएको भन्दै गीतमा प्रयोग भएका शब्दका बिषयमा विवाद उत्पन्न भएपछि शर्माले युट्युबबाट गीत नै हटाएका थिए ।

‘अबको तीज नो ब्रत प्लिज’ :

गायिका सोफिया थापाले २०७७ को तीजमा ल्याएको ‘अबको तीज नो ब्रत प्लिज’ गीत समेत विवादमा पर्यो । यूट्युबबाट सार्वजनिक भएलगत्तै यस गीतले चर्को आलोचना खेपेको थियो । गीतका शब्दले तीजको मर्म र हिन्दू महिलाहरुको भावनामा ठेस पुर्याएको टिप्पणी धेरैले गरेका थिए । गीतमा तीजको व्रत नबस्न महिलाहरुलाई आह्वान गरिएको थियो । अबको तीज नो ब्रत प्लिज, नो खुट्टाको पानी, रंगीविरंगी चुरा र साडी गहनाको भारी लगायतका शब्द रहेको कारण गीत विवादमा परेको थियो । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, हिन्दूवादी संगठन लगायतको चर्काे बिरोधका कारण पछि गीत युट्युवबाट समेत हटाइयो ।

‘देशद्रोही’ :

‘देशद्रोही’ शीर्षकमा सार्वजनिक गीत भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृष्यका कारण विवादमा परेको थियो । मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सार्वजनिक गीत २०७७ भदौमा सार्वजनिक भएको थियो । गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको थियो । जातीय द्वन्द्वलाई प्रशय दिने खालको गीतमा ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग भएको थियो ।

रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम रहेको गीतमा ‘बाहुन, क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ । राष्ट्रिय भण्डा जलाएको बिषयमा भिडियो निर्माणमा संग्लग्न ११ जनाभन्दा बढी पक्राउ परेका थिए । यस काण्डमा केही ब्यक्ति अझै जेलमा छन् ।

‘पारा’ र ‘हामी यस्तै त हो नि ब्रो’ :

नेपाली र्यापर समिर घिसिङ ‘भिटेन’को ‘पारा’ र ‘हामी यस्तै त हो नि ब्रो’ गीत विवादमा मुछिएको थियो । २०७७ कात्र्तिकमा सार्वजनिक ‘पारा’ मा अश्लील शब्द प्रयोग गरिएको भनी प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । उजुरीपछि भिटेन पक्राउ परेका थिए । गीतमा रहेको आपत्तिजनक शब्द हटाउने सर्तमा प्रहरीले उनलाइ छोडेको थियो ।

यसअघि भिटेनको अगाडि ‘हामी यस्तै त हो नि ब्रो’ गीत समेत विवादमा परेको थियो । त्यतिबेला पनि पक्राउ परेका भिटेन।गीत युट्युबमार्फत् हटाएरपछि बल्ल छुटेका थिए । २४ घण्टा भन्दा बढी समय प्रहरी हिरासतमा बिताएका भिटेन अबदेखि अश्लील शब्द प्रयोग गरेर भिडियो सार्वजनिक नगर्ने सर्तमा रिहा भएका थिए ।

‘लाजले छोपेको’ :

२०७८ साउनमा आएको यज्ञ विक र शान्तिश्री परियारको स्वर रहेको गीत ‘लाजले छोपेको’ बोलको गीत विवादमा तानिएको छ । गीतको प्रयोग भएको शब्द दुईअर्थी भएकाले गीत विवादमा तानिएको हो । गीतमा गायिकाले ‘हेर्ने हो र देखाइदिम् ?’ भन्ने शब्द दोहोर्याई तेह्र्याई प्रयोग गरेकी छिन् भने गायकले ‘के’ भनेर प्रतिप्रश्न गरेका छन् । झट्ट सुन्दा नि गलत अर्थझैँ लाग्ने यो शब्दलाई लिएर सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको थियो । राजु सुनामको शब्द तथा संगीत रहेको गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय थियो ।

‘न बिर्सेँ तिमीलाई’ :

गायिका अञ्जु पन्तको स्वर रहेको यो गीत केही अगाडि विवादमा छाएको थियो । सर्जक विपिन किरणले नयाँ भर्सनको रुपमा गायिका रचना रिमालको स्वरमा ल्याएपछि गीत विवादमा तानिएको थियो । गीतमा पुराना गायक गायिकाको नाम नराखेको, गीतमा स्वर नमिलेको भन्दैै सामाजिक सञ्जालमा आलोचना भएको थियो । विवादका कारण पछि गीतमा पहिलेका गायक अञ्जु र जगदीश समालको नाम समावेश गरिएको थियो ।

रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

शुक्रबार, असम-मणिपुर सीमा नजिकै जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव फेला परेको खबर आएको थियो। यसपछि, शनिबार भीडले…

महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती कुवेतमा विशेष कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ। कार्यक्रमको उद्घाटन महागुरुको तस्बिरमा माल्यार्पण…

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

प्रतिकृयाहरू
...