Thursday 2nd February 2023

लघुकथाकार रूद्र ज्ञवालीको लघुकथा “पोथ्रा” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार रुद्र ज्ञवालीले हाम्रो लघुकथा पाठशालामा आज मिति २०७८/१०/ ६ गते प्रेषित गर्नुभएको लघुकथा “पोथ्रा” पढेपछि मेरो पाठक मनमा आएका भावनालाई जानी नजानी यहाँ प्रस्तुत गर्ने कोसिस गरेकी छु ।

सिध्दार्थनगर नगरपालिका-८,भैरहवा,रुपन्देही निवासी साहित्यकार रुद्र ज्ञवालीलाई मैले कथाको माध्यमबाट चिनेकी छु। मे २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिनुभएका लघुकथाकारको मात्रै पाँचवटा लघुकथा पढने सौभाग्य हाम्रो लघुकथा पाठशाला मार्फत प्राप्त गरेकी छु ।उहाँका तिनै पाँचवटा लघुकथा मध्येको पछिल्लो लघुकथा “पोथ्रा”आज पढेपछि मेरो मनमा उहाँका अन्य लघुकथा पनि पढने र परिचितहुने हुटहुटी लागेर अन्य कथाहरु खोजेर पढेकी हुँ । उहाँका कथाहरु नेपाली समाजमा रहेका बेथितिहरु प्रति तीखो कटाक्ष र व्यङ्ग्यले भरिएको मैले पाँए ।

रुरु गाँउ पालिका- २, गुल्मीमा पिता रुक्माँगत र माता टीकादेवीको सुपुत्रको रुपमा २०२० कार्तिक १ गते साहित्यकार रुद्र ज्ञवालीको जन्म भएको हो ।स्नातक सम्मको शिक्षा हासिल गर्नुभएका साहित्यकार निजामती सेवा निवृत्त कर्मचारी हुनुहुन्छ ।उहाँले २०४४ सालदेखि लघुकथा लेख्न शुरु गर्नुभएको हो ।उहाँको पहिलो लघुकथा “अस्तित्ववोध” मधुपर्कमा २०४५ सालमा प्रकाशित भएको थियो ।

सिद्धार्थ साहित्य परिषद,जनमत लगायत एक दर्जन जति साहित्यिक संघ संस्थाहरुमा आवद्ध हुनुभएका साहित्यकार दुईदर्जन सम्मान र पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।
हालसम्म प्रकाशित कृतिहरू-निर्वासन -कथासंग्रह २०५८,सपना फुल्ने रातहरू- गजल संग्रह-२०६१,उन्मुक्त आकाश- मुक्तक संग्रह- २०६६ ,असल साथी बालकथा संग्रह-२०७२,पात्रहरू- कथा संग्रह २०७३,रुझेर अग्निवर्षामा- मुक्तक संग्रह- २०७५ रहेका छन् ।

प्रस्तुत कथा “पोथ्रा”मा एकमात्र पात्र उनी छन् । जो रहरै रहरमा साहित्यकार भए ।कथा उनकै वरिपरि घुमेको छ ।कथा यसरी शुरु भएको छ । रहरै त हो ।उनलाई पनि रहरले गाँज्यो । रहरै रहरमा कविता कथा, उपन्यास लेखे र साहित्यकार कहलाए । खनखनी नगद खर्चेर पुस्तक छपाए । विमोचन पश्चात अक्षय तृतीयाको सातु जस्तै बाँडे पनि । स्थानीय अनलाइन पत्रिकाले छापेको लगभग पन्ध्र पङतिको समाचारलाई उनले फेसबुकका पौने पाँचहजार मित्रलाई शेयर गरे । कृति निकालेपछि जुन स्तरको चर्चा, पुरस्कार र सम्मानको ओइरो लाग्ने अपेक्षा उनको थियो त्यस्तो केही भएन ।सोंचमग्न उनले आँखा चिम्ले । निद्रा हो कि तन्द्रामा उनले आफूलाई घना जङ्गलतर्फ यात्रारत देखे । जङ्गलभरिे काव्य, महाकाव्य, कथा, उपन्यास र नियात्राका अजङ्गका रुखहरूको साम्राज्य थियो । जङ्गल यतिविधि घना थियो कि घामको प्रकाश समेत छिर्न सकस थियो । उनी झनै सोँचमग्न भए र चिन्तनका लागि एउटा ठूलो वृक्ष मुनि आसनारुढ भए । “वृक्ष ज्ञानको प्रतीक हो ।” कतैबाट आकाशवाणी भयो ।

अहो ! दिव्य ज्ञान । आखिर सिद्धार्थले पनि रुखमुनि नै त बुद्धत्व प्राप्त गरेका थिए । उनी प्रफुल्ल भए । हत्तपत्त चिनेजानेका सबै सञ्चारकर्मीलाई फोन गरे ।एउटा होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले एउटा नयाँ विधा आविष्कार गरेको घोषणा गरे । उनका अनुसार ढाई, तीन र दुई अक्षरको बान्कीमा रचना हुने बिच्छी जत्तिकै कडा त्यो विधाको नाम थियो; “पोथ्रा”यसरी कथा समापन गरिएको छ ।

कथा पढदै जाँदा असाध्यै रमाइलो, कौतुहल र भावपुर्ण लाग्यो ।वर्तमानमा नेपाली साहित्यमा जसरी पनि भाईरल हुन खोज्ने ठुलो जमात प्रति लक्षित रहेको लघुकथा ज्यादै रोचक र घोचक रहेको छ । रहरले साहित्यिक रचनाहरु लेख्ने पुस्तक छपाउने र आफुलाई स्वघोषित साहित्यकार बनाउदै पुस्तक बाँडने बिडम्वना उनी पात्रको रहेको छ । उनले साहित्यका विभिन्न विधाहरु बिच आफ्नो नाम अगाडि नआउने दिव्यज्ञान प्राप्त गरेर नयाँ विधा आविष्कार गरे जसको नामाकरण गरे “पोथ्रा”।बास्तबमा सामाजिक संजालको माध्यमबाट पहिले कहिल्यै नसुनिएका नँया बिधाहरुका नाम सुन्न पाईएका छन् ।
सिध्दहस्त कलम रचित कथा चोटिलो र पोटिलो रहेको छ । म जस्तो सिकारुका लागि प्रस्तुत कथा मानक लघुकथा रहने छ भन्ने मेरो ठम्याई छ ।

साहित्यकार रुद्र ज्ञवालीको साहित्यिक यात्रा अबिरल बगिरहोस् । विभिन्न बिधामा आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसक्नुभएका साहित्यकारको लघुकथा संग्रह शिघ्र पढ्न पाइयोस् भन्दै सु- स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

लघुकथाः- पोथ्रा
-रुद्र ज्ञवाली

रहरै त हो ।
उनलाई पनि रहरले गाँज्यो । रहरै रहरमा कविता कथा, उपन्यास लेखे र साहित्यकार कहलाए । खनखनी नगद खर्चेर पुस्तक छपाए । विमोचन पश्चात अक्षय तृतीयाको सातु जस्तै बाँडे पनि ।
स्थानीय अनलाइन पत्रिकाले छापेको लगभग पन्ध्र पङतिको समाचारलाई उनले फेसबुकका पौने पाँचहजार मित्रलाई शेयर गरे ।
कृति निकालेपछि जुन स्तरको चर्चा, पुरस्कार र सम्मानको ओइरो लाग्ने अपेक्षा उनको थियो त्यस्तो केही भएन । लगानी बालुवाको हलुवा जस्तै भयो ।
सोंचमग्न उनले आँखा चिम्ले । निद्रा हो कि तन्द्रामा उनले आफूलाई घना जङ्गलतर्फ यात्रारत देखे । जङ्गलभरिे काव्य, महाकाव्य, कथा, उपन्यास र नियात्राका अजङ्गका रुखहरूको साम्राज्य थियो । जङ्गल यतिविधि घना थियो कि घामको प्रकाश समेत छिर्न सकस थियो ।
यस्तो अरण्य छिचोल्नु असम्भव लाग्यो । उनी झनै सोँचमग्न भए र चिन्तनका लागि एउटा ठूलो वृक्ष मुनि आसनारुढ भए ।
वृक्ष ज्ञानको प्रतीक हो । कतैबाट आकाशवाणी भयो ।
अहो दिव्य ज्ञान । आखिर सिद्धार्थले पनि रुखमुनि नै त बुद्धत्व प्राप्त गरेका थिए ।
उनी प्रफुल्ल भए । हत्तपत्त चिनेजानेका सबै सञ्चारकर्मीलाई फोन गरे ।
एउटा होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले एउटा नयाँ विधा आविष्कार गरेको घोषणा गरे ।
उनका अनुसार ढाई, तीन र दुई अक्षरको बान्कीमा रचना हुने बिच्छीजत्तिकै कडा त्यो विधाको नाम थियो; “पोथ्रा”


सम्बन्धित शीर्षकहरु

गुलाम नबी मन्सुर, तीतोपाटी - नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ ।…

तितोपाटी- कुवेतमा नागरिक परिचयपत्र अर्थात (PACI) ले डेलीभरी कम्पनी सँगको सम्झौता नवीकरण नगरेपछि नागरिक सूचना सार्वजनिक प्राधिकरणले सिभिल आइडी कार्डको होम डेलिभरी…

नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया…

प्रतिकृयाहरू
...