उकालो छ बाटो म हिंड्दैरहन्छु
बिझून् जत्ति काँडा म भिड्दैरहन्छु ।
कुटिन्छन् कुँदिन्छन् र ढुङ्गा पुजिन्छन्
सयौं चोट खाएर द्यौता गनिन्छन् ।। १ ।।
बडो कष्टको साथ खन्दै सबेरा
जुटे खेतबारी र पाखापखेरा ।
बनोस् देश हाम्रो सबै राजधानी
मलाई छ प्यारो यही जिन्दगानी ।। २ ।।
पियो जिन्दगीले सबै दु:ख घोली
जलाएर चिन्ता मनाऊँ म होली ।
कठै देश दुख्दा परेली भिजेथ्यो
र कालो निशाको कला बर्सिएथ्यो ।। ३ ।।
कतै फूलमाला सजिन्छन् गलामा
कतै शूलफन्दा कसिन्छन् गलामा ।
कतै घूसखोरी तुलिन्छन् तुलामा
कतै मातृभाषा रुँदैछिन् कुनामा ।। ४ ।।
म मेची र काली हुँ उर्ली रहन्छु
निमोठ्दै दुराचार कुर्ली रहन्छु ।
डुबुल्की लगाएर पापीहरूको
पखाल्नेछु मैलो सराबीहरूको ।। ५ ।।
सबैका पियारा कसैका भएनन्
कसैका पियारा सबैका भएनन् ।
सबै टल्कने स्वर्ण चाँदी भएनन्
गुमेका सबै ती निशानी भएनन् ।। ६ ।।
बुबाको मुमाको दुखाएर चित्त
अरे यार के भो थुपारेर वित्त ।
बिरामी पिताको छ कम्जोर पित्त
ठहाका लगाई नहाँस्नू खितित्त ।। ७ ।।
खरानी हुने हो उसैको निमित्त
यहाँ निल्नुपर्नेछ पीडा सिनित्त ।
यहाँ दाम भन्दा छ ठूलो सुनाम
र निस्वार्थको कर्म हो सौम्यधाम ।। ८ ।।
मलाई उठाए सुधीले सिकाई
म संज्ञा नखोजूँ पलेँटी लगाई ।
सँभाल्दैछु छाती अचानो बनाई
यही लेखनीले बचायो मलाई ।। ९ ।।
सधै काव्यगङ्गा बगाई रहन्छु
र नेपालगाथा सुनाई रहन्छु ।
म नेपाल आमा सिङारी रहन्छु ।
स्वदेशी स्वभाषा म लेख्दैरहन्छु ।। १० ।।
-तारानाथ भण्डारी
मणिग्राम