Wednesday 8th May 2024

पृथक साहित्यकार गंगा लिगलको व्यक्तित्व


पुष्कर अथक रेग्मी, पाल्पा – लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन जन्म भई सिद्धार्थ नगर भैरहवा, रुपन्देहीमा बसोबास गर्दै आएकी गंगा लिगल नेपाली साहित्यको श्रीवृद्धिका लागि बहुविधामा कलम चलाई करीव दुई दर्जन कृतिहरु प्रकाशित गरिसकेकी सशक्त नारी हस्ताक्षर साहित्य साधक हुन् । “साहित्य मेरो प्राण हो, कविता मेरो हृदयको स्पन्दन हो” भनि उद्गार व्यक्त गर्ने उदाहरणीय पृथक साहित्यकार गंगा लिगलको व्यक्तित्वलाई निम्नानुसार व्यापीकरण गर्न सकिन्छ ।

१. साहित्यिक व्यक्तित्व
१.१ कवि÷काव्यिक व्यक्तित्व
विद्यार्थी जीवन देखिनै कविता सिर्जनामा लागेकी गंगाले बाल्यकालमै एक सखीलाई गुमाउनुपर्दाको विक्षिप्त मनस्थिति भित्र भावनाको पिडाबोधले साहित्यिक उर्जा लिन थप पे्ररित ग¥यो । फलतः बाल, यौवन, किशोर, वयस्क जीवनमा उनी साहित्यको सिर्जनामा लागिरहिन् । जेष्ठ जीवनमा समेत उनले साहित्य सिर्जनामा आफुलाई अहर्निष समर्पित गराउदै आइरहेकी छिन् । उनको पहिलो कविता संङग्रह विहानी (२०५२) प्रकाशित भयो । यही क्रममा उनका कविता संङग्रहहरु गंगाको लहर (२०५६), युगज्योति(२०५६), आमा(२०६४), गंगाको तरंग(२०६४) संगीतको आभाष (सन.२००७), सागरपारी(२०६८), भानु तिम्रो सम्झनामा (सन् २०१३) प्रकाशित भएका छन् । खण्डकाव्य ममताको खास्टो (२०६६) र सखी वियोग (सन.२०१३), गीति संग्रह लाली गुराँस (सन् २०१३) र लामो कविता संग्रह हृदयका स्पन्दन(सन.२०१५) लगायतका कृतिहरु प्रकाशित गररिसकेकी गंगा कवि÷काव्यिक व्यक्तित्वको रुपमा प्रतिष्ठापित भइसकेकी छिन् ।
१.२ लेखक व्यक्तित्व
गंगा विगतका प्रकाशित र अप्रकाशित अवस्थामा थुप्रै नै लेख रचनाहरु रहेका छन् । उनले विभिन्न पत्रपत्रिका एवं संगालोहरुमा लेखरचनाको रुपमा आफ्ना विचारहरु अभिव्यक्त गरेकी छिन् । उनको गंगाको लहर(२०५६) र युगज्योति (२०५६) संग्रहभित्र केही विशेष लेखहरु संग्रहित रहेका छन् । यसरी उनले आफुलाई लेखक व्यक्तित्वको रुपमा समेत परिचित गराएकी छिन् ।
१.३ गजलकार व्यक्तित्व
गंगा लिगलको गजल संग्रह गंगाको गजल(सन्२०१०) प्रकाशित रहेको छ । समय सांपेक्ष गजलहरु लेख्दै र वाचन समेत गर्दै आएकी साहित्यकार गंगाले गजलकारको रुपमा समेत आफुलाई चिनाएकी छिन् ।
१.४ कथाकार व्यक्तित्व
गंगा लिगलले कथाहरु समेत लेखेकी छिन् । विभिन्न पत्रपत्रिका एवं संगालोहरुमा उनका कथाहरु प्रकाशित भएका छन् । केही कथाहरु अप्रकाशित अवस्थामा रहेका छन् । उनका कथा संग्रह ऐना (सन् २०१०), जेसिका (सन् २०१३) र लघुकथासंग्रह गोधुलि(२०७५) प्रकाशित भएका छन् । उनका कथाहरुमा जीवनबोध पाइन्छ । कथा र लघुकथा गरी आख्यान विधामा समेत कलम चलाउँदै आएकी गंगा सशक्त कथाकारको रुपमा स्थापित भएकी छिन् ।
१.५ उपन्यासकार व्यक्तित्व
लघुकथा, कथा र उपन्यास लगायतका आख्यान विधामा कलम चलाएकी गंगा लिगलको उपन्यास अमेरिका (२०७१) प्रकाशित सशक्त उपन्यास हो । पाल्पामा जन्मिएकी लिगलको यात्रा अमेरिकासम्म भयो । अमेरिकामा बस्दा उनले निकै साहित्य सिर्जना गरिन् । नेपाली–अमेरिकाली, नेपाल–अमेरिका भित्रका वास्तविकताहरुलाई उजिल्याउदै उनले अमेरिका उपन्यास प्रकाशित गरिन् । यस कृतिमार्फत उनी आख्यान विधाभित्र सशक्त उपन्यासकारको रुपमा उपस्थित भएकी छिन् । अमेरिका बुझ्न चाहनेले उनको यो उपन्यास एकपल्ट अवश्य पढ्नु पर्दछ ।
१.६ नियात्राकार व्यक्तित्व
पाल्पा, भैरहवा, नेपाललगञ्ज, काठमाडौं, बोष्टन र अमेरिकाका विभिन्न शहरमा समय व्यतित गरेकी गंगा जहाँ जहाँ जान्छिन् त्यही नै आफ्नो सिर्जनाको छाप छोडेर हिड्छिन् । यात्रानुभवलाई लेख्दा लेख्दै उनी सफल नियात्राकारको रुपमा समेत स्थापित भइसकेकी छिन् । गंगाको नियात्रा संग्रह गंगाको यात्रा(२०७०) प्रकाशित रहेको छ ।
१.७ मुक्तककार व्यक्तित्व
अचेल नेपाली साहित्यमा मुक्तक लेख्ने, सुनाउने र प्रकाशन गर्नेको संख्या बढ्दो छ । गंगाले काव्य सिर्जना गर्ने क्रममा चोटिला मुक्तकहरु समेत लेख्दै, वाचन गर्दै र प्रकाशन समेत गर्दै आएकी छिन् । मुक्तक संग्रह काव्य जून(२०७३) प्रकाशित भएपछि उनी मुक्तककारको रुपमा समेत स्थापित भएकी छिन् ।
१.८ हाइकुकार व्यक्तित्व
जापानी शब्द हाइकुको नेपाली अर्थ ‘प्रारम्भ’ हो । साहित्यकार गंगाले प्रारम्भ अर्थात् हाइकुहरु पनि लेख्दै, सुनाउदै र प्रकाशन समेत गर्दै आएकी छिन् । उनको हाइकु संग्रह गंगाजल(२०७५) प्रकाशित भएको छ । चोटिला हाइकु लेख्ने गंगा हाइकुकारको रुपमा समेत स्थापित भएकी छिन् ।

१.९ पत्र साहित्यकार व्यक्तित्व
अचेल पत्राचारहरुलाई समेत संकलन गरी दस्तावेजका रुपमा प्रकाशन गर्ने कार्य साहित्यकारहरुले गर्दै आएका छन् । आफ्नो जीवनका महत्वपूर्ण पत्रहरुलाई संकलन गरी पत्र मञ्जुषा (सन् २०१३) प्रकाशित गरिसकेकी गंगा लिगल पत्र साहित्यकारको रुपमा समेत उपस्थित भएकी छिन् ।

२. साहित्यत्तर व्यक्तित्व
२.१ प्राज्ञिक व्यक्तित्व
त्रिभुवन विश्वविद्यालयबाट एम.ए.(कल्चर) उर्तीर्ण गरी भैरहवा बहुमुखी क्याम्पसमा प्राध्यापनरत रही शिक्षा क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै विभिन्न शैक्षिक एवं प्राज्ञिक गोष्ठीहरुमा समेत महत्वपूर्ण भूमिकाहरु निर्वाह गर्दै आएकी लिगलले आफ्नो उच्च प्राज्ञिक पहिचान बनाएकी छिन् ।
२.२ सामाजिक व्यक्तित्व
मानिस सामाजिक प्राणी हो । साहित्य समाजको तस्विर हो । यही कुरालाई आत्मसात गर्दै गंगाले आफुलाई सामाजिकीरणमा घुलमिल बनाएकी छिन् । उनी विभिन्न संघ संस्थाहरुमा संरक्षक, संस्थापक एंवम आजीवन सदस्यको रुपमा रहँदै आएकी छिन् । ठूलालाई आदर र सानालाई माया गर्नु, दीन, दुखी एवं विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्नु,साहित्यक सामाजिक, आध्यात्मिक एंव शैक्षिक संघसंस्थाहरुमा समेत महत्वपूर्ण योगदान सहित सहयोग गर्दै आएकी गंगा स्वयंसेवी सामाजिक व्यक्तित्वको रुपमा चिरपरिचित रहेकी छिन् ।
२.३ पे्ररक व्यक्तित्व
आजका मानिसहरु आफु कसरी बन्ने र आफ्नालाई कसरी बनाउने मानसिकतामा बाँचिरहेका छन् । तर गंगा लिगलले आजको पुस्तामार्फत भोलिको समाज समृद्ध हुन्छ भन्ने उद्देश्यका लागि जहाँ जान्छिन् त्यहाँ अभिप्रेरक व्यक्तित्वको अमिट छाप छाडेर आएकी छिन् । जुन कुरा रुपन्देही, नेपालगञ्ज,काठमाडौं र अमेरिकामा उनलाई चिन्ने जान्ने र बुझ्नेहरुले बताउँदै आएका छन् । यसरी गंगा अनुज स्रष्टा र द्रष्टाहरुका साथै विशेषतः नारीहरुका लागि प्रेरक पात्रको रुपमा उपस्थित भएकी छिन् ।
२.४ नेतृत्वदायी व्यक्तित्व
गंगा लिगल विशिष्ट साहित्यकार व्यक्तित्व हुनुका साथै उनी साहित्यिक संस्थाको नेतृत्वदायी व्यक्तित्वको रुपमा समेत प्रतिष्ठापित भएकी छिन । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हयुस्टन च्याप्टर, अमेरिकाकी संस्थापक अध्यक्ष हुन् । उनको नेतृत्वकालमा अनेसासले च्याप्टरलाई संस्थागत गर्दे लैजानुका साथै विभिन्न संग्रहरुका साथै कृतिहरु समेत प्रकाशित गरेको थियो । अनेसासको साझा प्रकाशनको रुपमा रहेको ‘ज्योति’ प्रकाशित गरी विश्वभरी छरिएर रहेका नेपाली साहित्यकारहरुलाई सिर्जना लिपिवद्ध गर्ने मार्ग प्रशस्ती गरिदिईन् । उनले साहित्यक गोष्ठीहरुको आयोजना गरी नेतृत्वदायी एंव समन्वयकारी भूमिका गर्दै आइरहेकी छिन् ।
२.५ प्रतिष्ठित व्यक्तित्व
सबै साहित्यकारहरु प्रतिष्ठित हुँदैनन्, र सबै शिक्षक, प्राध्यापकहरु पनि अनुकरणीय छैनन् । सबै नारीहरुले पनि उचाई चुम्न सकेका छैनन् । यसै परिपेक्ष्यमा प्राध्यापन पेशामा सेवारत रही साहित्यको समधानमा तल्लीन गंगा लिगल सशक्त प्रतिष्ठित, उदाहरणीय एवं अनुकरणीय नारी हस्ताक्षरको रुपमा प्रतिष्ठापित भएकी छन् । उनी थुप्रै संघसंस्थाहरुबाट सम्मानित, पुरस्कृत एवं अभिनन्दित भइसकेकी छिन् । गंगा लिगलले आफ्नो पेशागत, प्राध्यापन जीवनबाट धेरै प्रतिष्ठा कमाएकी छिन्, भने साहित्यमा साधनारत रही सिर्जनशील जीवनबाट समेत अझ निकै नै प्रतिष्ठा कमाएकी छिन् । यी प्राज्ञिक एंव साहित्यक क्षेत्रको प्रतिष्ठाले उनको सामाजिक जीवन अझ उचो भएको छ । यसरी साहित्यकार गंगाले समाजमा प्रतिष्ठित नारी व्यक्तित्वको रुपमा आफ्नो स्थान सुरक्षित र संग्रहित गरेकी छिन् ।
“जीवन भनेको लिनका लागि मात्र नभई दिनका लागि पनि हो” भन्दै यस्तै फरक खालका अभिव्यक्ति दिद्रै, आफ्नै शैलीको साधा जीवनमा रमाउदै पृथक शैलीमा विभिन्न विधाका दुई दर्जन जति कृतिहरु प्रकाशित गरी नेपाली साहित्यको भण्डारको श्रीवृद्धिको लागि अविश्रान्त साहित्यक कर्ममा लागि रहेकी सशक्त साहित्य साधक गंगा लिगल मोफसलको जन्म(पाल्पा) र कर्म(रुपन्देही) देखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तर सम्मनै प्रतिष्ठापित अग्रज बरिष्ठ साहित्यकार हुन् ।

(लेखक पुष्कर अथक रेग्मी पाल्पा साहित्य समाज र शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाका अध्यक्ष र पाल्पाका स्थापित साहित्यकार समेत हुन् ।)


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...