Wednesday 13th May 2026

विदेश जानेको पिसिआर परीक्षणमा राहत


विदेश जानेको पिसिआर परीक्षणमा राहत : विदेश जानेले ‘क’  वर्गका सबै प्रयोगशालामा पिसिआर परीक्षण गराउन पाउने

सरकारले विदेश जानेको पिसिआर परीक्षणका लागि सबै सरकारी पिसिआर प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित प्रयोगशाला र ‘क’ वर्गका सबै प्रयोगशालालाई अनुमति दिएको छ । यसअघि सरकारले विदेश जानेको हकमा ४६ वटा सरकारी अस्पताल र पाँचवटा निजी प्रयोगशालालाई मात्रै परीक्षणको अनुमति दिएको थियो ।

दायरा साँघुरो बनाएपछि विदेश जानेहरू पिसिआर परीक्षणका लागि दिनभरि जोखिमपूर्ण लाइन बस्न बाध्य भएका थिए । सीमित प्रयोशालालाई अनुमति दिने सरकारको निर्णय विवादमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकाल्दै सबै ‘क’ वर्गका प्रयोगशालालाई मान्यता दिएको हो । मन्त्रालयको सूचनाअनुसार सबै सरकारी प्रयोगशाला र ‘क’ वर्गका निजी प्रयोगशालामा परीक्षण गरेकालाई विदेश जान मान्यता दिने निर्णय भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमा हाल कोभिड परीक्षणका लागि अन्तर्राष्ट्रिय मान्यता पाएका ५६ वटा ल्याब छन् । तर, अहिले देशभर ५१ वटा सरकारी र ३६ वटा निजी प्रयोगशालाले पिसिआर पीरक्षण गर्दै आएका छन् ।

सरकारले पिसिआर रिपोर्टमा आर्थिक चलखेल भएको भन्दै सीमित प्रयोगशालालाई मात्रै मान्यता दिएको बताएको थियो । बिदेसिनेहरूको रिपोर्ट विश्वसनीय हुनुपर्ने भन्दै सरकारले चालेको कदम ठिकै भए पनि केही अस्पताललाई मान्यता दिँदा भिडभाडमा संक्रमणको जोखिम बढेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘नक्कली रिपोर्ट बनाएर बाहिरिएका केस सार्वजनिक भएपछि नियमनका लागि मात्र केही ल्याबलाई मान्यता दिइएको थियो । अस्पतालमा भिडभाड बढ्न थालेकाले ‘क’ वर्गका सबै ल्याबलाई मान्यता दिइएको हो ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...