आफूभन्दा मुनि दुई भाइ र एक वर्षकी सानी बहिनी जानकीको पोल्टामा सुम्पेर उनकी आमा परलोक हुँदा ऊ केवल १३ वर्षकी मात्र थिइ।
कक्षा सातमा पढ्दै गरेकी जानकीको टाउकोमा पहाड खसेको थियो । जस्तै परिस्थिति पनि मान्छेले सामना गर्नैपर्ने प्राकृतिक नियमानुसार नै जानकीले पनि परिस्थितिसँग जुध्न थाली।
अन्तिम श्वास लिदै गर्दा उस्की आमाले “जानकी सानी बहिनीको राम्रो हेरचाह गरेर हुर्काउनु र पढाएर ठूलो मान्छे बनाउनु है” भनेको कुरा सम्झदै बहिनीलाई रातभरि काखमा राखेर आँशुको दहमा डुबिरहन्थी।
समयले उस्को घाउमा मल्हम लगाएर पुरिदिदै थियो । ऊ भने साना भाइबहिनीहरुको सेवामा यति तल्लिन भई कि उस्ले आफ्नो पढाइ पनि छोडिसकेकी थिइ । भाइबहिनीहरुको हेरचाह, मेलापात, घरधन्दा सबै उसैको जिम्मामा थियो । हुनत बाबुले सौतेनी आमा पनि भित्र्याईसकेका थिए तर पनि सारा कुराको बोझ भगवानले उसैका लागि बनाइदिएको प्रतित हुन्थ्यो ।
उसकी बहिनीले गाउँकै विद्यालयबाट एसएलसी पास गरेर शहरतिर पढ्न हिड्दा उस्लाई आमाले आएर “स्याबास जानकी” भने झै लागिरहेको थियो र यति खुशी थिइकी, लाग्थ्यो बहिनी भन्दा बढी ऊ नै खुशी छे।
तर मान्छेले चाहेजस्तो कहाँ हुन्छ र! निष्ठुरी त्यो शहरले उसकी बहिनीको रङ फेरिदिइसकेको थियो । बहिनीले पढाइ सकेर जानकीलाई खबरै नगरी शहरिया राजकुमारलाई आफ्नो बनाई सकेकी थिइ र बिर्सिसकेकी थिइ, आमा बनेर हुर्काउने दिदी अनि ऊ जन्मेको गाँउ।
यता जानकी बहिनीको खुशीमा रमाउँदा रमाउँदै आफ्नो जवानी कहिले आएर सकियो? खुशी कता हरायो? थाहा पाउनै सकेकी थिइन ।
उमेरले नेटो काटिसकेकी जानकीलाई एकदिन उसकै बाबु र सौतेनी आमाले यौटा विदुरको साथ लगाएर पठाइदिए । लोग्नेको घरमा पनि सौताले उसलाई उपहारमा छोडेकी स-साना नानीहरूको स्याहार सुसारमा दिनहरू बिताउन थाली,आफ्नै आमाको आशीर्वाद सम्झेर।
पुष्पा नेपाल (सुवेदी )
इलाम