Friday 9th October 2026

नक्कली राहदानी बनाई भारत पुर्‍याएर बिक्री


तितोपाटी- मानव बेचबिखनको गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पुर्‍याएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

उनीहरूले वैदेशिक रोजगारीको बहानामा दुबईमा मासिक ५० हजार तलब पाउने आश्वासनमा नक्कली भिसा बनाएर पीडितबाट १ लाख ५० हजार र भारतीय नागरिकबाट भारु ३ लाख ५० हजार लिई बिक्री गरेको ब्युरोका प्रमुख दुर्गा सिंहले जानकारी दिइन् ।

उक्त घटनामा भुपालमान श्रेष्ठ र रमेश खड्कालगायत व्यक्ति संलग्न रहेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको तथा खड्का भने हाल कारागारमा रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले दुबईको होटलमा काम गर्न भारतमा थप ११ महिना वेटरको तालिम लिनुपर्छ भनी महिलालाई भारत पुर्‍याएका थिए । श्रेष्ठले रमेश खड्का भन्ने तुलाराम खड्काको जिम्मा लगाई भारतको नयाँ दिल्ली पुर्‍याएको अनुसन्धानमा खुलेको छ । त्यसपछि खड्का भारतीय र अरेबियन मानिसको जिम्मा लगाई भारु ३ लाख ५० हजार बुझेर नेपाल फर्किएका थिए ।

उनीहरूले भारतमा ४५ दिनसम्म बन्धक बनाई चरम शोषण गरेको र दार्जिलिङ बस्ने एक व्यक्तिको सहयोगमा भाग्न सफल भई आएर ब्युरोमा जाहेरी दिएको पीडितको भनाइ उद्धृत् गर्दै प्रहरीले जनाएको छ । उक्त जाहेरीका आधारमा खोजतलास गर्दा खड्का अर्कै अपराधमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेको पाइएको छ ।
उनीबाट प्राप्त सूचनाको आधारमा श्रेष्ठलाई काठमाडौंको सामखुशीबाट पक्राउ गरी अनुसन्धान थालिएको र अन्य फरार रहेकाको खोजी जारी रहेको ब्युरो प्रमुख सिंहले जानकारी दिइन् । उनका अनुसार पछिल्लो समयमा यसरी वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनको क्रम बढेको छ । रासस


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...