Sunday 22nd March 2026

कविताः जाँतोको हातो -हरि शर्मा (गलकोटे कवि)


जाँतोमा हातो समाई सातु आमाले पिँधेको।
खाएर सातु कहिले काहीँ मेलोमा हिँडेको।
हलो र जुवा काँधमा बोकी ओराली झरेको।
खेतमा पुगी हलोले जोती रोपाइँ गरेको ।१।🌷🙏🌺

भनेको सुन्दा आश्चर्य लाग्ला पछाडि गएर।
त्यसैले मैले कविता लेखेँ मनमा लागेर ।
गाउँमा बसी ढिँडो र रोटी खाएका मानिस।
निरोगी भई बाँचेको देख्छु समय साक्षी छ ।२।🌷🙏🌺

दुध र घिउ दही र मही खाएको बलियो।
मासुको टुक्रा बियर साथ खाएको थलियो ।
भनेमा गाली अवश्य मिल्ला जमाना आजको ।
अमृत ठानी सुरुप्प प्युँने अनौठो चिज त्यो ।३।🌷🙏🌺

भकारीबाट झिकेर धान ढिकीमा कुटेको ।
चामल मकै फापर कोदो जाँतोमा पिसेको ।
चामलको भात मकैको आटो गहुँको रोटीको।
स्वादिलो मानी मिठ्याई मुख आफूले खाएको ।४।🌷🙏🌺

बालक काल सम्झना होला गाउँमा हुर्केमा ।
माथिको कुरा कथा झैँ होला शहर पसेमा ।
पूजाको दिन पुरेत बाजे आएर झ्यालमा।
कता छ रेखी भनेर सोध्दा भएर झसङ्ग ।५।🌷🙏🌺

आमाले झट्ट चामल झिकी दिनु भो मलाई।
पिसेर ल्याऊ हे मेरो छोरा नगरी ढिलाई।
चामल पिस्न भनेर मैले जाँतोमा पुगेको।
जाँतोको हातो खुसुक्क खुस्की निधार चुमेको।६।🌷🙏🌺

निधार छाँम्दा अमला जत्रो टुटुल्को उठेको।
त्यसैले गर्दा दुईघण्टा मैले कुनामा सुतेको ।
ती सबै कुरा सम्झना दियो अहिले जाँतोले।
कसैको पनि नहोस् है त्यस्तो जाँतोको हाँतोले ।७।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...