Tuesday 24th March 2026

ग्रामीण बजेट -तिलाचन बस्याल


शीर्षक=ग्रामीण बजेट
छन्द:शार्दूलविक्रीडित
•••••••••••••••••••••••
हाम्रो भोट सबै भुलेर पथमा हिँड्नेहरू हो सुन
औंलाको बदनाम हुन्छ यसरी भुल्दै गए त्यो गुन
सत्ताको रसले भएर दुविधा झुक्दैछ आफ्नै शिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर (१)

हाँगामा हरियो रहन्न सजिलै बर्षातका त्याग छन्
जोगाऔं उपमा हरेक वनका जैले यही माग छन्
के हुन् प्राप्तिहरू उपाय नहुने हेक्का गरौँ जन्जिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर(२)

अग्लो माथ भयो भनेर नगरौं पर्खालको चाकरी
खोलाले बदला लिनेछ सहजै धक्का दिई बेस्सरी
आगोको रङमा जलेर हुलिया ढुङ्गा बनोस् मन्दिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर(३)

सस्तो भाषणको गरेर महिमा बुझ्दै गयौं यो कुरा
खुट्टाको भरमा अडिन्न जहिले हाम्रो स्वयं पाखुरा
रातारात भयौ धनाढ्य कसरी के नै थियो जागिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर(४)

कैलेसम्म युवा पलायन हुने खोज्दै चुनौतीहरू
सानो काम मिले यहीँ मुलुकमा चाहिन्न केही अरू
मौका अन्तिम हो पवित्र पदको रक्षार्थमा आखिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर(५)

तिलाचन बस्याल ,स्याङ्जा


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...