Sunday 7th June 2026

कविताः- “अस्ताए राजु” – -डम्बर थामी ‘अनुपम ‘


“अस्ताए राजु”

स्कूल जाने बेलामा
भनौं किशोरावस्थामै नै
समस्याको पहाडले थिचेपछि
तिर्खाएको काकाकूल जस्तै
रोजीरोटीको खोजीमा
आफ्नो देशको सिमाना नाघेर
परदेश हान्निएका हुन राजु सदा ।

कोरोना कहरले भयाक्रान्ता भएपछि
श्रम किनबेच पनि ठप्प भएपछि
जीवन मरणको दाेसाँधमा
अाँखामा सिङ्गो देश सजाएर
जन्मभूमिको असीमित माया
अदपमा राखेर
घर परिवारको याद
मुटुभरि संगालेर
सयौं कोश टाढा-टाढाबाट
खस्रा पटपटी फुटेको
पैतालाबाट रगत चुहाउँदै
भोक प्यासको बेवास्ता गर्दै
फिरेका हुन आफ्नै जन्मभूमि
सरकारको निर्देशन अनुसार
बसेका हुन क्वारेन्टाइनमा ।

क्वारेन्टाइन मानवाश्रम हो कि
सुनसान मसानघाट ?
जहाँ उनले न औषधि पाए
न उपचार पाए
न कसैको सहारा पाए
न उनको चीत्कार कसैले सुने
एउटा जीवनजलको अभावमा
आफ्नो प्राण धान्न पनि नसकेर
सुख्खा बगरको माछा जस्तै
छट्पटाउँदै-छटपटाउँदै
निभे बा-आमाको धिपधिपे दियो
घटे दिदीबहिनीको एक सहारा
कहिल्यै नउदाउने गरि अस्ताचलतिर
अस्ताए राजु सदा सदाको लागि ।

दुख्न त सिङ्गो देशलाइ दुख्नु पर्थ्यो
तराई दुख्दा पहाडले अाँसु पुछ्नु पर्थ्यो
हिमालहरू पोलेका घाउहरुमा मलम बन्नुपर्थो
तर किन रोएन हिमाल, पहाडहरू
आज राजु सदाका लासहरू
दुई तिहाईको बलियो सरकारलाई गिज्याउँदै
लडिरहेछन यत्रतत्र
सरकार लाचार भएर मौन छ
त्यही नदी किनाराको बकुल्ला जस्तै ।

रचनाकार : डम्बर थामी ‘अनुपम’
दिनाङ्क : २७ जुन, २०२० पराईभूमी


सम्बन्धित शीर्षकहरु

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

काठमाडौं महानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ भूमि व्यवस्थापन अवधारणामाथि गृहकार्य अघि बढाएको छ। प्रस्तावित योजनाअनुसार…

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

प्रतिकृयाहरू
...