Thursday 5th March 2026

जापान र घानाको नाममा युवाहरुबाट १ करोड बढी ठगी


तितोपाटी- ओखलढुंगाका पदमबहादुर रोक्का वैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाडौं आए। रोजगारीका लागि राम्रो कमाइ हुने मुलुकमा पठाउने म्यानपावरको खोजीमा रहेका उनी बि एण्ड बि एचआर म्यानपावरमा पुगे। सो म्यानपावरले उनलाई घानामा सेक्युरिटी कम्पनीमा राम्रो काम भएको कमाइ पनि टन्न हुने सुनायो।

जसका लागि ९ लाख रकम लाग्ने सुनाइयो। काम र कमाइ पनि राम्रो हुने भएपछि पदमबहादुरले ऋण खोजेर म्यानपावरलाई बुझाए। गएको दशैँभन्दा अगाडिको कुरा हो। उनलाई मिति त ठ्याक्कै याद छैन। म्यानपावरले भिसा आयो भनेपछि उनीसहित ५ जना साथीहरु घाना जान तयार भए।

उनीहरुलाई घानाको सिधै टिकट नपाइने भएपछि संयुक्त अरब इमिरेट्स (युएई) हुँदै जानुपर्ने सुनाइयो। उनीहरुलाई जसरी पनि घाना पुग्नुपर्ने थियो। टन्न पैसा कमाउनु थियो। परिवारका लागि खुसी लिएर फर्कनु थियो।

‘निकै मीठो सपना देखाएर घाना पुर्‍यायो त्यसपछि हामीलाई दुई महिनासम्म अलपत्र पार्‍यो‚’ पदमबहादुरले नेपाल लाइभलाई सुनाए।एअरपोर्टबाट अलि पर एउटा टेन्ट टाँगिएको ठाउँमा उनीहरुलाई राखिएको थियो। त्यहाँ पदमबहादुर सहित ५ जनाको टिम र अन्य थुप्रै युवाहरु अलपत्र परेका थिए। खाना पनि राम्रो थिएन। धन्न सास अल्झिएको थियो। एत्तिकैमा दुई महिना बित्यो। काम भोलिभोलि भन्दै म्यानपावरले झुलाइरहेपछि अलपत्र परेका युवाहरु आफन्तसँग पैसा मगाएर फेरि नेपाल फर्किए।

बि एण्ड बि एचआर म्यानपावरमार्फत घाना र जापान पुगी अलपत्र परेर फर्किएका थुप्रै युवाहरुले विभागमा म्यानपावरविरुद्ध सामुहिक उजुरी दिएका छन्। कतिपयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काएको उल्लेख गरेका छन् भने रकम बुझाइसकेपछि प्रक्रिया अगाडि बढिरहेको भन्दै म्यानपावरले झुलाइरहेका युवाहरुले समेत उजुरी दिएका छन्।

म्यानपावरले जापान र घाना पठाउने भन्दै युवाहरुबाट प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म असुली गरेको पाइएको छ। विभागमा १२ जना पीडितहरुको समूहले गरेको पहिलो उजुरीमा पीडितहरुले ५८ लाखभन्दा बढी बिगो दाबी गरिएको विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले जानकारी दिए। सो उजुरी उपर विभागले म्यानपावरलाई २ लाख ३० हजार जरिवाना तोकेको छ।

उनकाअनुसार दोस्रो चरणमा ७ जनाको समूहले गरेको सामुहिक उजुरीमा ५९ लाख बिगो दाबी माग गरिएको थियो। सो उजुरी उपर विभागले म्यानपावरलाई १ लाख जरिवाना तोकेको छ।विभागका अनुसार म्यानपावरले क्षतिपूर्ति र जरिवानासहित लगभग १ करोडभन्दा बढी बेहोर्नुपर्ने देखिएको छ।

तोकिएको क्षतिपूर्ति र जरिवाना रकम म्यानपावरको धरौटी रकमबाट कटौति हुने प्रक्रिया अगाडि बढिसकेको विभागले जनाएको छ। ‘हामीले विभागको निर्णयबारे म्यानपावरलाई खबर गरिसकेका छौं, पुनरावेदनको समय बाँकी रहेकाले पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको छैन‚’ विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले भने।३५ दिने पुनरावेदन अवधि बाँकी रहेकाले पीडितहरुले क्षतिपूर्ति भने पाइसकेका छैनन्।-साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...