Thursday 5th March 2026

‘१२ वर्ष विदेश बसेर २ छोरी पढाएँ, घरखर्च चल्यो’


तितोपाटी- उनलाई आजभोलि आफ्नै माटोमा बगाएको पसिनासँग प्रेम हुन थालेको छ। त्यसैले त खोटाङ नुनथलाका युवराज राईले ओमानको भिसा थाती राखेर २ महिनादेखि अटो हाँक्न सुरु गरेका छन्।

‘परदेशमा १२ वर्ष बिताउँदा लाग्यो, आफ्नै देशमा यसरी पसिना बगाउँदा त केही न केही पक्कै होला नि। उमेरले ३ दशक नाघिसकेपछि चाहिँ अब यही माटोमा केही गर्छु भन्ने सोचेँ,’ युवराज भन्छन्। गत साउन महिनादेखि युवराट अटो लिएर खोटाङको सदरमुकाम दिक्तेलबाट नुनथला, अर्खौले, हलेसी, हिलेपानी, बुइपालगायत विभिन्न स्थान पुग्छन्। उनका अनुसार अटोबाट परदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ। ‘चलाउन थालेको दुई महिना भयो। आम्दानी राम्रो छ, सिजनको बेला भएर हो कि?’ युवराज सुनाउँछन्, ‘अटो चलाउन सुरु गरेको महिनादेखि नै राम्रोसँग चलिरहेको छ। दिनमा थोरै भएपनि ४/५ ट्रिप हुन्छ।’

‘हामी रिर्जभमा चलाउँछौँ, दिक्तेलबाट हलेसी, बुइपा, अर्खौले जाने मान्छेहरु भेटिन्छन्, राम्रो चलिरहेको छ,’ उनले भने। अटोमा पुग्ने ठाउँ अनुसार भाडादर फरक छ। नुनथलाबाट हलेसीसम्म आएको १५ सयदेखि २ हजारसम्म लिन्छन्। ‘भाडा समय हेरेर हुन्छ। चाडबाडका बेला हामीले चाडबाड नभनी चलाएका हुन्छौँ। यतिबेला नुनथलाबाट हलेसीसम्म पुग्न रिजर्भमा २ हजार लिन्छु,’ उनले भने।

अटोमा एकपटकमा ४ जना अटाउँछन्। ‘पातलो मान्छे हुँदा ५ जना अटाउँछन् नत्र ४ जना मात्र,’ युवराजले सुनाए । नुनथलामा भेटिएका युवराजकै अटोमा नेपाल लाइभ टिमको एक सदस्य पनि हलेसीसम्म जाने भए। नुनथलाबाट हलेसी पुग्न लगभग १ घन्टा लाग्ने युवराजले सुनाए। म ड्राइभर बस्ने सिट नजिकै भएकाले यात्रा अवधिमा संवाद चल्यो।

‘के को लागि हलेसी पुग्न लाग्नु भएको?’

युवराजको यो प्रश्नपछि हाम्रो थप कुराकानी गर्ने आधार तय भयो। ‘तपाईँको घर कहाँ? अटो कहिलेदेखि चलाउन थाल्नु भएको?’ दुई प्रश्न एकै पटक सामना गर्दै युवराजले सुनाए, ‘अघि तपाईँ अटो चढ्नु भएकै ठाउँमा हो मेरो घर। दुई महिना भयो मैले अटो चलाउन थालेको।’ ‘यो भन्दा अगाडि चाहिँ?’ ‘१२ वर्ष परदेशमै बिताएर फर्केको।’ ‘१२ वर्ष एउटै देशमा कि?’ ‘होइन, ३ वटा मुलुक पो पुगियो त।’‘कुनकुन देश पुग्नु भयो?’ ‘साउदी, कतार, युएई।’

संवाद चलिरहेको थियो। अटो हुँइकिरहेको थियो। नुनथलाबाट महुरे हुँदै बिजुले पुग्दासम्म युवराजले धेरै कुरा सुनाइसकेका थिए। तर पनि उनको कथा सकिएन। ‘अब आधा घन्टामै हलेसी पुगिन्छ,’ युवराजले हलेसी पुगिने समय जनाउ दिँदा समय अझै लम्बियोस् जस्तै लागिरहेको थियो।अटो उस्तै गतिमा कम भएको थिएन। युवराजले आफ्नो बाल्यकालदेखिको कथा सुरु गरे। परिवार सामान्य थियो। सानो छँदा खानलाउनको खासै दुःख थिएन। उमेर बढ्दै गयो। आवश्यकता पनि उमेरसँगै बढ्दै गए। ‘माध्यामिक तहसम्मको अध्ययन नुनथलाकै जालपा माविबाट सकेँ। त्यतिबेला एसएलसी परीक्षा पास गर्न बडो मुस्किल हुन्थ्यो, मैले २०५७ सालमा एसएलसी दिएको। पास पनि भएँ,’ युवराजले सुनाए।

एसएलसी दिएर युवराजले एघार कक्षामा भर्ना भए। केही महिना कलेज पनि पुगे। तर कलेज पढ्ने रहरले भन्दा बढी बाध्यताले युवराजलाई घच्घच्याउन थाल्यो। ‘पढ्ने मन त थियो नि! के गर्नु सबै कुरा सोच्नु पर्ने भयो। अलि आर्थिक समस्या पनि भयो, पढाइ छाडेँ,’ उनले भने।केही समयपछि युवराजले विवाह गरे। विवाह गरेपछि उनीमाथि जिम्मेवारी थपियो। त्यसपछि उनी २०६० सालमा रोजगारीका लागि कतार पुगे। कतारमा स्काफोल्डिङ कम्पनीमा काम गरे। कमाई ठीकै थियो। तलब करारनामामा जति उल्लेख थियो त्यति त थिएन। तर विदेश जाँदा लागेको ऋण तिर्न र घर खर्च टार्न पुगेको थियो। युवराज कतारबाट दुई वर्षमा फर्किए। पुनः श्रम स्वीकृति लिएर उनी फेरि कतार गए। कतारमा ४ वर्ष बिताएर युवराज युएई पुगे। काम उही थियो। कमाई पनि सामान्य नै थियो।

‘विदेश गएर टन्न पैसा कमाउने सोचेको थिएँ, विदेशमा कहाँ पैसाको रुख हुँदो रहेछ?,’ उनी सम्झिन्छन्, ‘विदेशमा कमाएको पैसा त घर खर्चमै सकियो।’युएईपछि उनी साउदी पुगे। साउदीमा पनि स्काफोल्डिङ काम थियो। कमाई युएई र कतारको भन्दा साउदीमा राम्रो थियो। साउदीमा उनको कमाई पनि मासिक ६० हजारभन्दा बढी थियो। ‘साउदीमा थुप्रै नेपाली साथीहरु थियौँ, त्यसमा पनि खोटाङकै धेरै थियौँ, काम गाह्रो भएपनि रमाइलो नै थियो।’ तर एकदिन त निकै दुखद् घटना भयो, त्यो घटनाले मलाई बढl नै विक्षिप्त बनायो,’ विगत सम्झँदै युवराजले भने।

युवराजकै कम्पनीमा ४ वटा सेल्टरमा नेपाली साथीहरु भरीभराउ थिए। ‘नेपाली साथीहरु धेरै भएकाले कुन रुममा को साथी बस्छन् भन्ने पनि राम्रोसँग थाहा हुँदैन थियो। हामी पनि एउटै कोठामा पनि धेरै जना थियौँ उनले सुनाए, एक दिनको त्यो कुरा सम्झिँदा अझै मन झसंग हुन्छ। एक जना नेपाली साथी साउदी मैले काम गर्ने कम्पनीमा पुगेको तीन हप्ता मात्रै भएको थियो। पहिलो महिना काम गरेको तलब पनि थाप्न नपाएको। दिनभर काम गरेर बेलुका कोठामा सुतेका उनको बिहानै मृत्यु भयो, यो घटनाले परदेशी जीवन खल्लो लाग्न थाल्यो।’

ती मृतक साथीको शव एक महिनापछि बल्ल नेपाल आयो। युवराजको पनि सोही समयमा नेपाल आउने बेला थियो। त्यसपछि साउदीबाट फर्किएका युवराजलाई पुनः साउदी जान मन लागेन। ‘साउदीमा हुँदा पैसा त कमाएकै हो। कमाईसँगै खर्च पनि बढ्दै गयो त्यस्तै हो खर्चलाई ठिकै भयो। अलिअलि बच्यो,’ उनले थपे, १२ वर्ष परदेशमै बसियो। परदेशबाट केही भएन भन्दा छोरीहरु पढाउन पुग्यो। अनि अटोमा केही लगानी गर्ने पैसा बच्यो अरु त त्यस्तै हो।

युवराजका दुई जना छोरी छन्। छोरीलाई धरानमा राखेर पढाएका छन्। ‘कोठाभाडा नै महिनाको ५ हजार छ, छोराछोरी बजु (हजुरआमा)सँग धरानमा राखेको छु। श्रीमती र म यता छौँ,’ उनी भन्छन्, ‘पहिले विदेशबाट खर्च धान्थेँ। अब अटोबाट।’‘अटो पनि पूरै आफ्नो भएकै छैन, सबै आफ्नो पैसा भए साढे ५ लाखमा आउने रैछ, थोरै रकम दिएर बाँकी किस्तामा लिएको भएर ७ लाखभन्दा बढी नै पुग्यो, यो अटो पुरै आफ्नो भएकै छैन।’ ३ वर्षका लागि युवराजले अटो किस्तामा लिएका छन्।

साउदीबाट २०७२ सालमा फर्किएका युवराजलाई परदेशको चक्करले दुई महिना अगाडिसम्म पनि छाडेकै थिएन। विदेशमा पसिना बगाउने बेलामा सोच्थे- परदेशमा जसरी नै आफ्नै देशमा पसिना बगाए कमाई कसो नहोला? तर जब ट्रली गुडाउँदै विमानस्थलको आगमन कक्षबाट बाहिरिन्थे। उनलाई लाग्थ्यो-नेपालमा बस्नु भन्दा विदेश नै जान्छु।’

‘विदेशमा जति सुरक्षा नेपालमा छँदै छैन। जब एअरपोर्टबाट बाहिर आउँथे मेरो पुरै मन नै परिवर्तन हुन्थ्यो। विदेश नै हानिन्थेँ । नेपालमा न रोजगारी, न सुविधा न सुरक्षा कसरी बस्नु जस्तो लाग्थ्यो,’ युवराजले भने।यही कारण पनि युवराजले १२ वर्षसम्म परदेशमै बिताए। बेलाबेलामा मात्र घर फर्कन्थे। उनी परदेश धाउँदाधाउँदै उनका दुई छोरीहरु पनि हुर्किए। विदेशबाट फर्किएर ४ वर्षसम्म घरमै किराना पसलमा बसे। किराना पसलले सबै खर्च धान्न सकेन। ‘दुई छोरी पढाउनकै लागि भएपनि केही न केही विकल्प त सोच्नै पर्यो, दुई महिना अगाडीसम्म पनि मेरो परदेश जाने सोच थियो, ओमानको भिसा आइसकेको थियो। २५ हजारमा पठाउँछु भनेर म्यानपावरले ७५ हजार माग्यो त्यसपछि मलाई जान मन लागेन’ युवराज भन्छन्, ‘मलाई ५० हजारले स्वदेशमै रोक्यो। २५ हजारमा पठाएको भए एकपटक त ओमान पुगेर आउने सोचेको थिएँ।’

भनेजति लागतमा ओमान जान नपाएपछि युवराजले सोच बदले। भन्छन्, ‘अब विदेश जाँदिन, जे गरेपनि स्वदेशमै गर्छु भन्ने सोचेँ। पहिले घरमै सानो पसलमा अल्झिरहेको म इटहरी गएर अटो चलाउन सिकेँ त्यसपछि काम सुरु गरेँ।’एकदिन सिकेपछि नै युवराज अटो चलाउन सक्ने भए। ‘बाइक चलाउन जान्ने मान्छेलाई अटो चलाउन त्यति गाह्रो छैन, मैले अटो एकैछिनमा सिकेको,’ उनले भने। युवराजले अटो चलाउने रुटमा ३० वटाभन्दा बढी अटोहरु छन्। ‘अटो चढ्ने मानिसहरु पनि भइरहन्छन्। जे होस् खाली भइँदैन। राम्रो आम्दानी भइरहेको छ, नत्र त छोरीहरु कसरी पढाउनु,’ युवराज भन्छन्।

अटोसँगै युवराजले विदेशबाट फर्किएका अन्य साथीहरुसँग सहकार्य गरेर बंगुर फार्म सञ्चालन गर्ने योजना बनाएका छन्। ‘गाउँमै सामुहीक बंगुर फार्म सञ्चालन गर्ने तयारी भइरहेको छ । हामीले बंगुर फार्म बनाउन सुरु गरिसकेका छौँ, त्यसपछि अटोसँगै बंगुरबाट पनि आम्दानी हुन्छ की भन्ने आशा छ,’ युवराजले भने।युवराज जस्तै थुप्रै युवाहरुको परदेश जानैपर्ने बाध्यता छ। विदेशिनै पर्ने बाध्यतालाई मध्येनजर गर्दै युवाहरुले परदेशमा पसिना बगाएजसरी नेपालमा पनि पसिना बगाउन सके परदेशको जति आम्दानी नेपालमै हुने युवराजको भनाई छ।

‘हामी विदेश-विदेश भन्छौँ, एकपटक परदेशी जीवन भोगिसकेपछि पसिनाको मूल्य त अवश्य सबैले बुझ्नु हुन्छ, त्यसबारे मैले थप भनिरहनु नपर्ला तर सुरुमा हामी नेपालमै लगानी गर्ने वातावरण नभएर विदेशिन्छौँ। विदेश पुगेर केही आम्दानी गरिसकेपछि नेपालमै आएर पसिना बगाउन सके। यहीँ परदेशको भन्दा राम्रो आम्दानी हुन्छ।’ युवराजलाई परदेशमा बिताएको १२ वर्षले श्रमको मूल्य बुझाएको छ।युवराजसँग कुरा गर्दै जाँदा समय बितेको पत्तै नपाइ हलेसी पुगिएछ। उनले अटो रोके। उनीसँगका कुराकानी लगभग टुंगिएका थिए। हामी सबै अटोबाट ओर्लियौं। अटोमा अरु यात्रु जम्मा पारेर उनी फेरि नुनथला लागे। यो खबर नेपाल लाइभमा निर्मला घिमिरेले लेखेकी छिन।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...