Thursday 27th August 2026

सर्लाहीमा प्रहरीको जवाफी कार्वाहीमा विप्लव समुहका जिल्ला इन्चार्जको मृत्यु


तितोपाटी – प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ। बिहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको प्रहरी स्रोतले जनायो। विशेष सुराकीका आधारमा गएको प्रहरी गस्ती टोली देखेपछि पौडेल सहितका विप्लव कार्यकर्ता टोलीले गोली प्रहार गरेको र जवाफी कारबाही गर्दा उनको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतले जनाएको छ।

प्रहरीले जवाफी कारबाही गर्ने क्रममा केहीबेर दोहोरो गोली हानाहान भएको र पछि विप्लव समूहका कार्यकर्ता भागेका बताइएको छ। स्रोतका अनुसार प्रहरी कारबाही रोकिएपछि केही उत्तरतर्फ गएर हेर्दा गोली लागेको अवस्थामा पौडेलको शव फेला परेको हो। घटनास्थलमा बन्दुक, मोटरसाइकललगायत बरामद् भएको प्रहरी स्रोतले जनायो। कारबाहीमा विप्लव समूहका अन्य कार्यकर्तासमेत घाइते भएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ।

सर्लाहीकै वागमती नगरपालिका–२, धरहराका पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाही अध्यक्ष बनेका थिए। पछि नेकपा माओवादी प्रवेश गरेका पौडेल मोहन वैद्यले पार्टी फुटाएपछि त्यतै लागेका थिए। लगत्तै वैद्यसँग पार्टी फुटाएर विप्लवले नयाँ समूह खोलेपछि पौडेल भूमिगत भएका थिए।


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...