Tuesday 8th September 2026

भारतको बिहारमा धेरै लिची खाएर ४७ जना बालबालिकाको मृत्यु


तितोपाटी-भारतको बिहारमा यसपालीको गर्मी सिजनमा धेरै लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ। कति मानिसले यो खबर पत्याएका छैनन्, कति डरले लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्।

कुपोषणको शिकार बनेका बालबालिका गर्मीको समयमा लामो समयसम्म भोकै रहँदा उनीहरूको रगतमा चिनीको मात्रा र शरीरमा पानीको मात्रा पनि कम  भएको बेला  लिची खाँदा बच्चाहरूको मृत्यु भएको हुन सक्ने विज्ञहरूले बताएका छन् । लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा बालबालिकाको मृत्यु भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ बालबालिकामा तीब्र इस्सेफ्लाईटिस सिन्ड्रोम देखियो, जसका कारण मस्तिष्क सुन्निएर उनीहरुको मृत्यु भयो । मुजफ्फरपुरका दुई अस्पतालमा जनवरीदेखि यतामात्रै यस प्रकृतिका एक सय ७९ विरामी भर्ना भएको तर केही साता यतामात्रै उनीहरुको मृत्यु भएको जनाइएको छ ।

ज्यानै जाने लिचीमा के रसायन हुन्छ ?

भोको पेटमा जब बच्चाले लिच्ची खान्छ शरीरले लिचीमा हुने गुलियो छिटो छिटो तन्तुमा लान खोज्छ। यो गुलियोलाई तन्तुमा पुर्याउने काम क्यारनिटिन नामक एमिनो एसिडले गर्दछ। लिचीमा पाइने मिथाइलिन-साइक्लो-प्रोपायल-ग्लाइसिन (एमसीपीजी) र मिथाइलिन-साइक्लो-प्रोपायल-एसिटिक-एसिड (एमसीपीएसी) क्याटरिनसँग टाँसिएर बस्छ। त्यसले क्याटरिनलाई तन्तुसम्म ग्लुकोज पुर्याउने काममा अवरोध पुर्याउँछ। त्यो अवरोध चिर्न र ग्लुकोज तन्तुमा पुर्याउन शरीरले बचेखुचेको शक्ति त्यसैमा खर्च गर्छ। त्यसले रगतमा ग्लुकोजको झनै कमी गराइिदन्छ।

हाम्रो शरीरमा सबभन्दा भोको अंग भनेको मस्तिष्क हो। शरीरको कुल तौलमा मस्तिष्कको हिस्सा २ प्रतिशतमात्र हुन्छ। तर यो मस्तिष्कले शरीरलाई चाहिने जम्मा शक्तिको २० प्रतिशत एक्लै खपत गर्छ। त्यो भोक तृप्त गर्ने स्रोत ग्लुकोज मात्र हो। जब हाम्रो दिमागमा ग्लुकोजको आपूर्ति १० मिनेट मात्र रोकिन्छ त्यसले स्थायी रूपमै दिमागलाई भत्काइदिन्छ। त्यसलाई ‘परमानेन्ट ब्रेन ड्यामेज’ भनिन्छ।

जब लिचीमा हुने एमसीपीजी/ एमसीपीएसीले क्यारनिटिनसँग टाँसिएर दिमागमा ग्लुकोजको आपूर्ति कमी गरिदिन्छ बालबच्चा बेहोस हुन्छन्। दिमागमा ग्लुकोज आपूर्ति बन्द नै हुन थाल्यो भने ‘ब्रेन ड्यामेज’ हुन खोज्छ। त्यस्तो बेला बच्चा कोमामा जान्छ। ग्लुकोज आपूर्ति लामो समयसम्म रोकियो भने केटाकेटीको ज्यानै जान्छ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...