Wednesday 15th April 2026

नागढुङ्गा-नाैबिसे सुरूङ मार्ग जापानी कम्पनीले बनाउने


तितोपाटी – जापान सरकारको ऋण सहायतामा बनाउन लागिएको नागढुङगा– नौबिसे सुरुङ मार्ग निर्माणको जिम्मेवारी जापानी निर्माण कम्पनीले पाउने भएको छ। सरकारले आव्हान गरेको ग्लोवल टेन्डरमा भाग लिएका चार चिनियाँ र एक जापानी कम्पनीबाट जापानको हाज्मा आन्दो कर्पोरेशन कम्पनी छनौट हुने लगभग निश्चित भएको छ। कोटेश्वर – सुर्यविनायक, बिपी राजमार्ग बनाएको जापनकै ठूलो निर्माण कम्पनीसँग ठेक्का सम्झौताको तयारी भइरहेको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

आर्थिक प्रस्ताव खोल्दा धेरै कबोल गरेपनि जापानी कम्पनीसँग सम्झौताको क्रममा रकम घटाएरमात्र ठेक्का दिने विभागले तयारी गरेको छ। चिनियाँ कम्पनीले न्यून कबोल गरेपनि ऋणदाता जापान सहयोग नियोग(जाइका)ले असहमति जनाएपछि रकम घटाएर जापानी कम्पनीलाई ठेक्का दिने तयारी भएको हो। १३ अर्ब ८५ करोड भन्दा माथि कबोल गरेको जापानी कम्पनी ७० करोड रुपैयाँ न्यून आउन तयार भएको छ। यसरी आउँदा ठेक्का १३ अर्ब १५ करोडको हुने छ।

यो ठेक्काबाट जापानी कम्पनीले २.७ किलोमिटर सुरुङ, २.५ किलोमिटर सडक, एउटा फल्लाई ओभर र एउटा सर्भिस सेन्टर निर्माण गर्नेछ भने २२ अर्बको लागत अनुमान रहेको उक्त सुरुङमार्गमा जापान सरकारले १६ अर्ब ऋण साहयता दिने छ। उक्त ऋण सम्झौतामा २०७३ सालमै भएको थियो। तर निर्माण कम्पनी छनौट तथा जग्गा अधिग्रहण नहुँदा काम अघि बढ्न सकेको छैन। कूल ३ सय ७७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने उक्त आयोजनाका लागि ३ अर्ब ५० करोड खर्च हुने सरकारको अनुमान रहेको छ। अधिग्रहण गर्नुपर्ने जग्गामा १ सय ९ रोपनी धादिङमा पर्छ।

यही वर्षबाट निर्माण शुरु गरेर साढे ३ वर्षमा काम सक्ने लक्ष्य लिइएको छ। ठेक्का सम्झौता भएको ३ वर्षभित्र काम सम्पन्न हुने अधिकारीहरुले बताउँदै आएका छन्।असारभित्रै सम्झौता हुने सडक विभागले जानकारी दिएको छ। यो आयोजनाका लागि सरकारले यो वर्ष ६ अर्ब बजेट विनियोजन गरेको छ।

राजधानीबाट बाहिरिँदा वा भित्रिँदा ३ घण्टाभन्दा बढी समय जाममा बस्नुपर्ने बाध्यता रहेको छ। २ दशमलब ६ किलोमिटरको यो मार्ग निर्माणपछि यहाँ जाम त के २० मिनेटमै क्रस गर्नसकिने अधिकारीहरुले बताएका छन्। जम्मा ६० किलोमिटरको यो बाटोमा २।७ किलोमिटर लम्बाइ रहने सुरुङ निर्माण भइसकेपछि हालकोभन्दा ८ किलोमिटर बाटोको दुरी पनि कम हुने प्रारम्भिक अध्ययनको निष्कर्ष रहेको छ। २ वटा पुल, २ वटा कल्भर्ट निर्माण हुने यो बाटोमा दुबैतिर १ मिटरको फुटपाथ निर्माण हुने छ। सडकको चौडाइ भने १२ मिटरको हुने छ।

-सेतोपाटी बाट


सम्बन्धित शीर्षकहरु

नितिश कुमारले राजीनामा दिएर बिहारमा बीजेपी नेतृत्व स्वीकार्नुको मुख्य कारण राजनीतिक संक्रमण, संवैधानिक आवश्यकता र शक्ति सन्तुलन तीनै पक्षसँग जोडिएको…

सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता पत्र” मा नेपालले कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा सम्झौतामा सहभागी नहुने स्पष्ट अडान दोहोर्‍याएको…

अमेरिकी राष्ट्रपति Donald Trump ले मध्यपूर्व युद्धका क्रममा यदि बेइजिङले इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनबाट अमेरिका प्रवेश गर्ने…

प्रतिकृयाहरू
...