Tuesday 7th May 2024

युटुबमार्फत चलचित्र क्षेत्रको दुष्प्रचार गरेको आरोपमा कमेडियन गाैतम पक्राउ


तितोपाटी – टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ- ‘हेर न त्यो केटालाई, कस्तो कालो ? कस्तो घीनलाग्दो !’ नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो । टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उनी टिकटकका कारण थुनिएका होइनन्, प्रहरीले उनलाई ‘वीरविक्रम २’ चलचित्रको भिडियो समीक्षा गरेवापत हिरासतमा थुनेको हो ।

धरान नगरपालिका वडा नम्बर १४ घर भइ हाल भक्तपुरको बालकोटमा बस्ने प्रनेशले चलचित्र वीरविक्रम २ को भिडियो समीक्षा गरेका थिए । उनी कमेडियन भएकाले उनले चलचित्रको समीक्षा फरक शैलीमा गरेका थिए तर चलचित्रका निर्देशक मिलन चाम्लिङ राई (मिलन चाम्स) ले मिम नेपालका सञ्चालक प्रनेशले चलचित्र व्यवसायमा घाटा पुर्‍याउने गरी झुठा प्रचार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले गौतमलाई हिरासतमा राखेको हो । प्रहरीले प्रनेशमाथि साइबर क्राइम अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

फरक शैलीको समीक्षा

सूत्रहरुका अनुसार चलचित्र निर्देशक राईले नै मिम नेपालका सञ्चालक प्रनेशलाई आफ्नो चलचित्रको समीक्षा गरिदिन भनेका थिए । प्रनेशले नितान्त फरक शैलीको भिडियो समीक्षा बनाए, जसमा यो चलचित्र झूर रहेको बताइएको छ । उनले चक्कु बोकेर मानिसहरुलाई चलचित्र राम्रो छ भन् भन्दै अभिनय गरेका छन् ।

‘वीर विक्रम २’ प्रदर्शनमा आएलगत्तै प्रनेसको भिडियो समीक्षा मिम नेपालको युट्यूव पेजमा अपलोड भएको थियो । मिम नेपाल सामाजिक सञ्जालमा निकै चलेको च्यानलमा पर्छ । फेसबुकमा यसका फलोअर्स धेरै छन् । यसका यूट्यूव सब्सक्राइबर भने हाइड गरिएको छ ।

भिडियो अपलोड भएपछि वीर विक्रम २ को निर्माण पक्षले प्रहरीमा साइबर क्राइमको उजुरी दिएको थियो । त्यसैका आधारमा प्रहरीले प्रनेसलाई पक्राउ गरेको हो । अहिले पत्रकारदेखि राजनीतिक दलका नेतासम्मले यो पक्राउको विरोध गरिरहेका छन् ।

प्रनेशको यो कमेडिन शैली विश्वभर प्रचलनमा रहेको जानकारहरुको तर्क छ । यसरी व्यंग्यात्मक समीक्षा गर्दैमा प्रनेशलाई प्रहरीले पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको भन्दै उनको गिरफ्तारीप्रति विभिन्न ठाउँबाट आपत्ति प्रकट भइरहेको छ ।

प्रहरी के भन्छ ?

नेपाल प्रहरीले प्रनेशलाई हत्कडी लगाएर गिरफ्तार गर्नुका साथै आँखामा पट्टी लगाइएको तस्वीर समेत सार्वजनिक गरेको छ । ‘युट्युवमार्फत फिल्म क्षेत्रको दुश्प्रचार गर्ने व्यक्ति पक्राउ गरिएको’ प्रहरीको भनाइ छ ।

गौतमलाई खोजतलास गर्ने क्रममा काठमाडौंको टेकुबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन अन्तरगत अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको प्रहरीको भनाइ छ ।

गिरफ्तारीको विरोध

वीर विक्रम चलचित्र राम्रो छैन भन्दै व्यंग्यात्मक शैलीमा समीक्षा गरेकै आधारमा गौतमलाई गिरफ्तार गरिनु आपत्तिजनक भएको भन्दै सर्वत्र विरोधका स्वर सुनिन थालेका छन् । कांग्रेस नेता एवं सांसद गगन थापाले गिरफ्तारीको विरोध गर्दै टि्वटमा भनेका छन्- ‘एब्सर्डिस्ट ह्युमरलाई विश्वभर सामान्य रुपमा लिइन्छ । त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । आलोचनात्मक चेत लोकतन्त्रको मर्म हो, यसको संरक्षण गरियोस् ।

त्यसैगरी बरिष्ठ पत्रकार एवं नागरिक अगुवा कनकमणि दीक्षितले टि्वट गर्दै भनेका छन्, ‘के यत्ति मज्जाको ठट्यौली फिल्म रिभ्यु गरेको भरमा मिम नेपालका प्रनेश गौतमलाई प्रहरीले साइबर अपराधको मुद्दा चलाउन लागेको हो ? त्यसो हो भने यो गलतमात्र होइन, अनर्थको पराकाष्टा हो र हाम्रो सामाजिक यात्राको दिशाको संकेत पनि ।’

थापा र दीक्षितले जस्तै सामाजिक सञ्जालमा गौतमको रिहाईको माग गर्नेहरु प्रशस्तै देखिएका छन् । यतिसम्म कि विदेशी कलाकारहरुले पनि गौतमको रिहाईको माग गरेका छन् ।

के भन्छन् मिलन चाम्स ?

प्रनेशलाई गिरफ्तारी गर्न प्रहरीमा उजुरी दिने मिलन चाम्सको भनाइ यस्तो छ-

हामीले चलचित्रको समीक्षा गरेकोमा उजुरी दिएका होइनाैं । गाली बेइज्जती, रंगभेद भएकोमा हाम्रो आपत्ति हो तर अहिले बाहिरबाट मानिसहरुले यसलाई राजनीतिकरण गरिरहेको देख्दा दुःख लागेको छ । प्रनेशसँग मेरो भेट भैरहेको छ र उनले गल्ती पनि स्वीकारेका छन् । कानुनी प्रक्रियाले मात्र ढिलो भएको हो । उनी केही दिनमै छुट्छन् ।

उसका बुबाआमासँग पनि मेरो भेट भैरहेको छ । उसकी आमा मेरा अगाडि रुँदा म पनि रोएको थिएँ । मलाई थाहा छ, उसले १ करोड क्षतिपूर्ति दिन सक्दैन तर मिम नेपालका युवाहरुले क्षतिपूर्ति कति दिनुपर्छ भनेर सोध्दा मैले रिसमा १ करोड भनेको थिएँ ।

उसले आफू कलाकार बन्न यहाँ आएको बताएपछि मैले तिम्रो रहर पूरा गर्न मैले सहयोग गर्न सक्छु भनेको थिएँ । उसले पाउनुपर्ने सजायँ पाइसकेको छ । यो मुद्दा कानुनी प्रक्रियामा भएकाले केही दिन लाग्ला । मैले मुद्दा फिर्ता अहिले लिएसकेको छैन तर ऊ चाँडै छुट्छ ।’

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...