Thursday 27th August 2026

एक गाग्री पानीको लागि एक हप्तामा पालो !


तितोपाटी – सुन्दा पत्यार लाग्दैन तर यो सत्य हो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ। सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ। दलित बस्तीले उपभोग गर्ने खानेपानीको मुहान एउटा मात्र रहेको छ। वर्षात्को पानी सङ्कलनका लागि सबैका घरमा घैँटा छन्। तर, यसपालिका घैँटाका पानी माघ/फागुनमा सकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन्।  यसपटक प्रशस्त वर्षात् हुन नसकेकाले आकाशेपानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा दिनभर खर्चिन बाध्य हुनुपरेको गुनासो उनीहरुको छ। रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा स्थानीय बासिन्दा गोपाल परियारका अनुसार पानी समस्या बढेपछि दिनरात पानीको मुहानमा बिताउनु परेको छ।

हप्तामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय बासिन्दा तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य बनेका छन्। बिहान ५ बजे पानी ल्याउनका लागि हिँडेका पधेरीहरु ८ बजेतिर घरमा पाइला टेक्छन्। “पानीका मुहान रहेका क्षेत्रहरु पानी बोकेर फर्किँदा उकालो हिँड्नुपर्छ। भुवनपोखरीको कमेरे, मेहालपानी, सिमलडाँडा, खानतुङलगायतका स्थानबाट पानी ल्याउनु परेको स्थानीय बासिन्दा बताउँछन्  पानीका कारण बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ। डाँडामा बस्ती रहेकाले पानीको समस्या वर्षौदेखि रहे पनि यहाँको खानेपानीको समाधानमा कसैको चासो नपुग्दा समस्या हटेको छैन। यो बस्तीलाई लक्षित गरी आरखोला, रैनादेवी, दलित बस्ती खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ। आयोजनाको काम निकै सुस्तगतिमा हुँदा उपभोक्ताले खानेपानीका लागि हैरानी भोग्न बाध्य छन्।

-रासस


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...