Saturday 18th May 2024

कमरेड ओली र प्रचन्डलाई खुला पत्र – टोल र बस्तीसम्म पार्टी एकताको सन्देश कहिले आइपुग्छ ?


-मन्जु नेपाल भण्डारी
आदरणीय अध्यक्षद्वय कमरेड के पी ओली र कमरेड प्रचण्ड,
न्यानो अभिबादन सहित नमस्कार

म सिन्धुपाल्चोक जिल्लामा जन्मेर आफ्नो बाल्यकाल पुरा नहुँदै या कि बल्याबस्था ९कक्षा ७ पढ्दा० देखि नै नेपालमा कम्युनिस्ट शासन व्यवस्था स्थापनाको अभियानमा सहभागी एउटा कार्यकर्ता हुँ र नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन हजारौं लाखौं योद्धाहरुसंग हातेमालो गर्दै अघि बढें । यसको अभियानमा सहभागी हुँदाका बखत समुदायमा कम्युनिस्ट आन्दोलन उठाउन धेरै प्रयास गरें। कम्युनिस्ट आन्दोलनको महासागरमा लागेकै कारण साना ठुला थुपै खालका कारबाहीको छालहरूसंग संघर्ष गरें । तर कुनै दुख तथा पीडाको परबाह नगरी निरन्तर लागि नै रहेको छु लागि नै रहनेछु ।

गत २०७४ साल आश्विन १७ गते एक्कासी देसका दुइ ठुला कम्युनिस्ट पार्टी बीच पार्टी एकीकरण सम्मको सहमति गरी तत्कालका लागि गठबन्धन घोषणा गर्नुभयो र त्यो यहाँहरुको ठुलो समझदारी थियो, ठुलो उपलब्धि थियो, दुई भीमकाय महासागरहरुको मिलन थियो । यसका कारण पनि तत्कालको निर्बाचनमा नेपाली जनताले तपाईहरुलाई झन्डै दुइ तिहाई सिटमा जित दिलाएको छ । यो गठबन्धन मात्र गठबन्धन थिएन, पार्टी एकताको झल्को तेतिखेरै आम कार्यकर्ता माझमा थियो । दुइ फरक पार्टी भए पनि हामी तमाम कार्यकर्ता फरक पार्टी, फरक गुट वा फरक समुह समेतको महसुस थिएन । फरकताको कुनै भाव नराखी चुनाबी महाअभियानमा खटियौं र हाम्रो टिममा कसैसंग पनि कुनै किसिमको फरक महसुस थिएन र। त्यतिबेला नै हामी एकै पार्टी भैसकेका थियौं र त हाम्रो पार्टीको यति ठुलो ऐतिहासिक विजय सम्भव भयो अनि आम नेपालीको देसमा कम्युनिस्टको स्थायी सरकार हेर्ने सपना साकार पनि भयो ।

एकिकरणको पुर्ब सहमति अनुसार नै तपाईहरुले गत २०७५ जेष्ठ ३ गते मदन आश्रित स्मृति दिवसको सुअवसर पारेर केन्द्रिय स्तरमा पार्टी एकिकरण गरेको घोषणा गर्नुभयो । अहिले करिब ९ महिना वित्न लागिसक्यो तर खै त जिल्ला कमिटिहरु बनाएको ? हुन त म पनि जिल्ला कमिटिको प्रस्तावित सदस्य हुँ । म कहिले सम्म प्रस्तावित मात्रै भएर बस्ने ? त्यतिबेला हामीलाई भदौ ५ को समय सिमा तोक्नु भएको थियो । त्यो सिमा सकिएको पनि ६ महिना वित्न लाग्यो। हामीले हाम्रो जिल्ला कमिटि कस्तो हुने, कत्रो हुने र नेतृत्व कसले लिने भन्ने बिषय पनि टुंग्याएर पठाएका थियौं र अहिलेसम्म केन्द्रले अनुमोदन गर्न सकेको छैन । भलै जिल्ला कमिटि त प्रस्तावित भए पनि छ । हाम्रा अग्रज नेताहरुले प्रस्तावित नै भएर पनि काम गरिरहनु भएको छ । हुन त तपाईहरुले २ बर्षभित्रमा केन्द्रिय अधिबेसन गरेर एकताको नयाँ सन्देस दिने पनि घोषणा गर्नु भएको छ । तर यो गतिमा तपाईहरुको समझदारी पुरा हुन्छ भन्नेमा हामीलाई शंका छ । ठुलो पार्टी भयो भनेर २ जना अध्यक्षको प्राबधान राख्नु भएको छ । एकजना अध्यक्षले पार्टी चलाउने र अर्को अध्यक्षले सरकार चलाउने पनि भन्नुभएको छ । यति हुँदा पनि पार्टीको कामले गति लिन नसकेको हो कि भन्ने हामीलाई लागेको छ ।

हुन त यतिखेर हाम्रो पार्टीको सरकार बिरुद्ध चौतर्फी बिरोध र आलोचनाको प्रोपोगान्डा मचाउन विपक्षीहरु लागिपरेका छन् । समृद्धिको अभियानमा व्यस्त पनि हुनु भएको छ । तर यस्तो बेलामा जिल्लास्तरमा, पालिका स्तरमा र वडास्तरमा पार्टीको अभियान लिएर समुदाय समक्ष जाने टिमको अभाब हुनु पार्टीको लागि नै घाटा हुन सक्छ । त्यसकारण पार्टी एकिकरणको कामलाई पहिले प्राथमिकतामा राखेर छिटो भन्दा छिटो जिल्ला, क्षेत्र, पालिका र वडातह सम्मको एकता प्रक्रिया टुंग्याउनुस । एकता प्रक्रिया ढिला भएरै होला कार्यकर्ताहरुमा पहिले जस्तो उत्साह नभए जस्तो, जाँगर सेलाए जस्तो, गुट उपगुट र समुहले प्रश्रय पाय जस्तो महसुस हुन थालेको छ र तत्कालिन एकताको तातो उल्लास अब सेलाउन थाले जस्तो महसुस हुन थालेको छ । मलाई लाग्छ जुनसुकै हालतमा पार्टी एकिकरणको काम टुंगिनुपर्छ । छिटोभन्दा छिटो सबै जिल्ला, क्षेत्र, पालिका र वडाहरुमा एकीकृत कमिटि बन्नु पर्छ र कोहि कसैले यसलाई अल्मल्याउनु हुँदैन। जनस्तरमा भएको पार्टी प्रतिको विश्वासलाई कुनै पनि हालतमा डग्न दिनु हुन्न ।

जिल्लामा हामीले टुंग्याएर पठाएको नाम अनुमोदन गर्न केले रोकेको छ कमरेड ? जिल्ला कमिटि नहुँदा जिल्लामा कति काम असरल्ल छन्, पार्टी काम बग्रेल्ती छन् । कसले संहाल्ने यी काम ? अनि कहिले बन्छ क्षेत्रीय कमिटि? कहिले बन्छ पालिका कमिटि? अनि कहिले बन्छ वडा कमिटि ? बस्ति र टोलमा एकता कहिले हुन्छ ? टोल र बस्तिसम्म पार्टी एकताको सन्देस कहिले आइपुग्छ? अझ भात्री संगठनहरुको त केन्द्रदेखिकै धेरै काम बाँकी नै छ यो कहिले सकिन्छ ? यो प्रश्न म एक्लैको होइन यो आम कार्यकर्ताको हो, आम न्यायप्रेमी नेपालीको हो । त्यसकारण अध्यक्षद्वयलाई मेरो अनुरोध छ कि जुनसुकै हालतमा पनि पार्टी एकिकरणको कामलाई सम्पन्न गर्नुस, नरोक्नुस र पार्टीलाई गति दिनुस् । टुप्पो मात्र मिलेर हुँदैन जरासम्म एक बनाउनुस र वास्तविक एकताको सन्देस दिनुस् । २ वर्षभित्र राष्ट्रिय महाधिबेसन गरेर एकता अभियानको बिट मार्नुस ।

सुनकोशी ३, कालिका, सिन्धुपाल्चोक

(लेखिका पुर्ब नेकपा एमालेको १ नम्बर क्षेत्रीय कमिटि उपाध्यक्ष र नेकपाको प्रस्तावित जिल्ला कमिटि सदस्य हुन् )


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...