Tuesday 23rd April 2024

भारतका “मोटिभेसन स्पिकर” विवेक विन्द्राले झुटा तथ्यांक देखाएर नेपालको वदनाम गरे


तितोपाटी – भारतका एक ‘मोटिभेसनल स्पिकर’ ले मिथ्यांकको सहारा लिएर नेपालका बारेमा भ्रामक प्रचार गरेका छन् । शुक्रबार सार्वजनिक भएको उनको यूट्यूब भिडियो अहिले नेपालमा समेत ट्रेन्डिङ छ । मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले ‘फुल केस स्टडी अफ नेपाल’ शिर्षकमा आफ्नो यूट्यूव च्यानलबाट १५ मिनेटको भिडियो पोष्ट गरेका हुन् । भिडियोलाई दुई दिनमा करिब ७ लाखले हेरेका छन् भने १३ हजारभन्दा बढि प्रतिक्रिया आइसकेका छन् । ५६ लाख सब्स्क्राइबर भएको च्यानलमा उनले पोष्ट गरेको भिडियोले अन्तर्राष्ट्रियस्तरमै नेपालको बेइज्यती गरेको छ ।

बिन्द्राले नेपालको वर्तमान अवस्थालाई भयावह बनाएर पेश गरेका छन् । उनले प्रस्तुत गरेका अधिकांस तथ्य अतिरञ्जित वा झुटा छन् । ‘पहाडहरुले ढाकिएको नेपालको अवस्था यति खराब छ कि,’ भिडियोमा उनी भन्छन्, ‘अधिकांस नेपालीहरु नेपालमा बस्नै चाहँदैनन् ।’ नेपालको खराब चित्र प्रस्तुत गर्ने क्रममा उनले आर्थिक वृद्धिदर र मुद्रास्फितिको हावादारी विवरण दिएका छन् ।

बिन्द्राले भनेका छन्, ‘नेपालको मुद्रास्फिति साढे १० प्रतिशत छ, तर आर्थिक वृद्धिदर डेढ प्रतिशत मात्र छ ।’ यो कहिलेको तथ्यांक हो भन्ने उनले उल्लेख गरेका छैनन् । तर, गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको मुद्रास्फिति ४.५ प्रतिशत थियो भने आर्थिक वृद्धिदर ५.९ प्रतिशत । त्योभन्दा अगाडिको वर्ष अर्थतन्त्रको अवस्था झनै राम्रो थियो । आव २०७३/७४ मा मुद्रास्फिति ४.५ प्रतिशतमा खुम्चिएको थियो भने आर्थिक वृद्धिदर ७.४ प्रतिशत पुगेको थियो ।

बिन्द्रा अपडेट नभएका हुन् वा जानाजान भ्रम फैलाउने चेष्टा गरेका हुन्, उनले अहिले पनि नेपालमा १२ घन्टाभन्दा बढि बिजुली उपलब्ध नहुने बताएका छन् । जबकी नेपालमा लोडसेडिङ इतिहास भइसक्यो ।

नेपाल विश्वकै २५ गरिब देशमा पर्ने भनेर उनले अपुष्ट सूचना दिएका छन् । यस्तै ८० प्रतिशतभन्दा बढि मानिस गाउँमा बस्ने, ७३ प्रतिशतभन्दा बढि मानिसहरुसँग पानीको सुविधा नभएको, नेपालसित कुनै पनि प्राकृतिक सम्पदा एवम् खानिज नरहेको, १ करोड जनसंख्या गरिबिको रेखामुनि रहेको उनले बताएका छन् । यी सबै झूटा वा अतिरञ्जित तथ्यांक हुन् ।

नेपाल प्राकृतिक सम्पदा र खानिजहरुमा धनी छ, केवल उत्खनन् गर्न सकिएको छैन । नेपालमा खानेपानी नपुगेको जनसंख्या १३ प्रतिशत मात्र हो । गरिबीको रेखामुनि रहेको जनसंख्या करिब ७० लाख हो । ८० प्रतिशत मानिसहरु गाउँमा बस्ने कुरा पनि उनले हचुवामा भनिदिएका छन् । त्यसको कुनै प्रामाणिकता छैन ।

साथै नेपालको सरकारले शिक्षालाई विश्वमै कम अनुपातमा बजेट छुट्याएको उनको अर्को दावी पनि निराधार छ । यो तर्क पुष्टि गर्न उनले १५ वर्ष पुरानो तथ्यांकको सहारा लिएका छन् ।

‘सन् २००४ को बजेटमा नेपालले शिक्षातर्फ केवल ६ प्रतिशत बजेट छुटयाएको थियो, जुन विश्वमै सवैभन्दा न्यून हो,’ बिन्द्राले भनेका छन् ।

तर, नेपालले अहिले शिक्षा क्षेत्रमा छुट्याउने बजेटलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग तुलना गर्दा न्यून भन्न मिल्दैन । जीडीपीको तुलनामा शिक्षालाई नेपालले छुट्याएको बजेट अनुपात बान्द्राको देश भारतको भन्दा उल्लेख्य बढि छ । भारतमा अघिल्लो वर्ष शिक्षालाई जीडीपीको ३.५ प्रतिशत बजेट छुट्याइएको थियो भने नेपालमा ४.४५ प्रतिशत छुट्याइएको छ । बजेट कार्यान्वयनको कमजोरी अर्कै पाटो हो ।

बान्द्रा नेपालको विषयमा अपडेटेड छैनन् भन्ने यसबाट पनि थाहा हुन्छ कि उनले नेपालमा ७५ जिल्ला रहेको उल्लेख गरेका छन् । ती ७५ जिल्लामा भारतले ४ सय जनाका दरले दक्ष र उनकै शब्दमा ‘धमाकेदार’ शिक्षक पठाएर नेपालले कायापलट गरिदिन सक्ने दावी उनको छ ।

‘नेपालमा मानिसहरु बस्न चाहँदैनन् । त्यहाँ पढ्न चाहँदैनन्, किनकि त्यहाँ योग्यता हासिल गरेर, डिग्री गरेर पनि केही फाइदा छैन,’ बान्द्राले भनेका छन् ।

बिन्द्राले नेपालको ५० प्रतिशत जनता दैनिक एक डलरभन्दा कममा जीवनयापन गरिरहेको तथ्यांक दिएका छन् । यसमा पनि उनको अतिरञ्जना मिसिएको छ । राष्ट्र बैंकका अनुसार २०७४÷७५ मा नेपालीको औसत आय प्रतिवर्ष एक हजार चार डलर रहेको थियो । यस हिसाबले नेपालीको औसत दैनिक आय २.७५ डलर हुन्छ ।

बिन्द्राले नेपालमा ४० प्रतिशतभन्दा बढि केटीहरुको बालबिबाह हुने गरेको आँकडा देखाउँदै यही कारणले नेपाल पछि परेको बताएका छन् । जबकि बालविवाहको समस्या नेपालमा भन्दा भारतमा ठूलो छ ।

‘नेपालमा छोरीहरुले पढ्न पाउँदैनन्, त्यसैले कम उमेरमै विवाह गर्छन् वा ज्याला मजदुरीमा लाग्छन्,’ बिन्द्राले भनेका छन् ।

स्मरणीय के छ भने भारत विश्वमै सबैभन्दा बढि केटीहरुको बालविवाह हुने देश हो । त्यहाँ ४७ प्रतिशतभन्दा बढि केटीहरु कानूनले तोकेको उमेर (१८ वर्ष) भन्दा अगाडि नै बिहे गर्छन् । सन् २०१७ मा प्रकाशित यूनिसेफको रिपोर्टले सर्वाधिक बालविवाह हुने देशहरुको सुचीमा भारतलाई संख्याका आधारमा पहिलो र अनुपातका आधारमा दशौं नम्बरमा राखेको थियो । यो टप १० सुचीमा नेपाल छैन । ह्यूमन राइट्स वाचले २०१६ मा गरेको सर्भेक्षण अनुसार नेपालमा ३८ प्रतिशत केटीहरुको १८ वर्ष नपुग्दै बिहे हुने गरेको छ ।

नेपालले आफूलाई कहिल्यै पराधिन नरहेको स्वतन्त्र राष्ट्रको रुपमा गर्व गर्दै आएको छ । बिन्द्राले यसलाई लिएर नयाँ तर्क निकालेका छन् । नेपाललाई विदेशीले कब्जामा लिन नसकेको नभएर नचाहेको उनको दलिल छ ।

उनी भन्छन्, ‘नेपालले कहिल्यै आफ्नो स्वतन्त्रता दिवस मनाउँदैन किनकी नेपाल कहिल्यै पराधिन भएन । तर, यसको कारण नेपालीहरु बहादुर हुनु मात्र होइन । खासमा नेपालको अर्थतन्त्र पहिल्यैदेखि नै दयनीय थियो । जहाँ अर्थतन्त्र बलियो हुँदैन, त्यहाँ विदेशीहरुले आँखा लगाउँदैनन् । नेपाल गरिब भएकाले नै अंग्रेजहरुले नेपाललाई कब्जामा लिने ठोस प्रयास गरेनन् । सानातिना हमला गरे, तर ठूलो आक्रमण गरेनन् ।’

बिन्द्राले नेपालमा गतिला विश्वविद्यालय र कक्षाकोठाहरु नरहेको दावी गरेका छन् ।

उनी भन्छन्, ‘नेपालको सबैभन्दा उत्कृष्ट भनिने विश्वविद्यालय विश्वका टप यूनिभर्सिटीहरुको लिस्टमा धेरै पछाडि छ । नेपालको दशौं उत्कृष्ट विश्वविद्यालय विश्वका दशांै हजार उत्कृष्ट विश्वविद्यालयको सुचीमा पनि पर्दैन ।

बिन्द्राले नेपालमा व्यवसाय गर्ने वातावरण नभएको समेत बताएका छन् ।

‘इज अफ डुइङ विजनेसमा नेपाल निकै पछाडि छ । भुटानभन्दा पनि पछाडि । त्यहाँ सडक विजुली लगायत कुनै पनि आधारभूत पूर्वाधारहरु छैनन्,’ बान्द्राले भनेका छन् ।

उनी थप्छन्, ‘नेपालको निर्यात लगभग शून्य छ । अघिल्लो वर्षमा मात्रै नेपालले १० अर्ब डलर व्यापार घाटा व्यहो¥यो ।’ यो आँकडा चाहिँ सत्यको नजिक छ । नेपालले आर्थिक वर्ष २०७४÷७५ मा १३ खर्बको वैदेशिक व्यापार गरेको थियो । यसमध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको आयात र ८१ अर्ब १९ करोड रुपैयाँको निर्यात ग¥यो । यस हिसाबले नेपालको व्यापार घाटा साढे ११ खर्ब रुपैयाँभन्दा बढि देखिन्छ ।

बान्द्राले पर्यटन उद्योगलाई प्रबद्र्धन गरेर नेपाललाई धनी बन्न सल्लाह दिएका छन् । मोदीले मेक इन इन्डिया अभियान सुरु गरेजस्तै नेपालले मेक इन नेपाल अभियान सुरु गर्नुपर्ने पनि उनले बताएका छन् ।

भिडियोमा बिन्द्राले नेपालीहरुको बखानसमेत गरेका छन् । उनले नेपालीहरुलाई ‘बहादुर’ भनेर फुक्र्याएका छन् ।

रजनिकान्तसँग गोरखालीको तुलना गर्दै उनले भनेका छन्, ‘खास बाहुबली रजनिकान्त होइन, गोर्खाली हुन् ।’

भारत को स्थिति के ?

बिन्द्राले नेपाललाई संसारकै गरिब मुलुकको रुपमा चित्रण गर्दै सहानुभूति व्यक्त गरे । तर, यो बिर्सिए कि उनको आफ्नै देश गरिबहरुले भरिएको छ ।

सर्वाधिक गरिब जनसंख्या रहेको देशको सुचीमा भारत अहिले विश्वमै दोस्रो नम्बरमा रहेको छ । यसअघि दशकौंसम्म पहिलो नम्बरमा रहेको भारतलाई २०१८ मा नाइजेरियाले जितेको हो । दैनिक १.९ डलरभन्दा कम आम्दानी गर्ने परिवारलाई गरिबीको रेखामुनि रहेको मानिन्छ । सन् २०१८ को मेसम्मको तथ्यांकअनुसार भारतमा ७ करोड ३० लाख मानिसहरु गरिबीको रेखामुनि छन् भने नाइजेरियामा ८ करोड ७० लाख । भारतले सन् २०३० सम्ममा गरिबी उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

विश्व मानव विकास सुचकांकमा भारत अहिले पनि निकै पछाडि (एक सय ३० औं स्थानमा) छ । नेपाल भारतभन्दा १९ स्थान तल छ । आधा जनसंख्या कृषिमा आवद्ध भारतमा सरकारको ऋण तिर्न नसकेर वर्षेनी विपन्न किसानले आत्महत्या गर्छन् । प्रत्येक वर्ष औसत १२ हजार किसानले आत्महत्या गर्ने गरेको भारतको सरकारले सर्वोच्च अदालतलाई जानकारी गराएको थियो ।

भारत विश्वमै सर्वाधिक संख्यामा भिखारीहरु रहेको देशका रुपमा पनि चिनिन्छ । २०१५ को सर्भेक्षणअनुसार भारतमा चार लाख १३ हजार ६ सय ७० जना भिखारी थिए, जसमध्ये दूई लाख २१ हजार ६ सय ७३ पुरुष र बाँकी महिला छन् । नेपालमा पनि हजारौंको संख्यामा भारतीयहरु भिख मागेर हिँडिरहेका छन् । लाखौं भारतीयहरु नेपालमा मजदुरी गरेर आफ्नो परिवार पालिरहेको तथ्य पनि बिर्सन हुँदैन ।

यद्यपि, कतिपय क्षेत्रमा भारतले निकै प्रगति पनि गरिरहेको छ । पछिल्ला वर्षहरुमा भारतले आफ्नो सामरिक शक्ति विस्तार गरेको छ भने फिल्म, क्रिकेट र आइटीले भारतको अर्थतन्त्रलाई माथि उठाएका छन् । तर, त्याहँ गरिब र धनीहरुबीचको खाडल झन् बढ्दो छ ।

सामाजिक चेतनाका दृष्टिकोणले भने भारतीय समाज निकै पिछडिएको छ । महिलामाथि बलत्कार र घरेलु हिंसाका लागि भारत विश्वमै ‘प्रख्यात’ छ । भारत सरकारको धार्मिक कट्टरताले त्यहाँ अल्पसंख्यक मुस्लिमहरु थिचोमिचोमा परिरहेका छन् ।

को हुन् विवेक ?

डा. बिन्द्रा अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त मोटिभेसनल स्पिकर र लिडरसिप ट्रेनर हुन् । उनका २५ वटा देशमा क्लाइन्ट छन् ।

१९७८ मा भारताको दिल्लीमा जन्मेका बिन्द्रा अढाई वर्षको हुँदा उनका बाबुको मृत्यू भएको थियो भने आमाले अर्को बिहे गरेकी थिइन् । उनले संघर्ष गरेर पढेका थिए ।

बिन्द्राले आफ्नो नाम अगाडी लेख्ने गरेको डा. पद्वी विवादित छ । खासमा उनले कुनै न एमबीबीएस गरेका हुन् न कुनै विषयमा पीएचडी । कोलम्बोको ओईयूएम यूनिभर्सिटीले उनलाई मानार्थ पीएचडीको पद्वी दिएको थियो । त्यसैका आधारमा उनले आफ्नो नाम अगाडि डा. लेख्ने गर्छन् । उनी आफ्नो प्रायः भिडियोमा श्रीमद्भागवत गीतको उद्वरण गर्ने गर्छन् ।

बिन्द्राविरुद्ध गत वर्ष भारतमा डाक्टरहरुले एफआईआर दर्ता गरेका थिए । देशभरीका डाक्टरहरुको विषयमा दिएको ‘घृणा फैलाउने’ अभिव्यक्तिलाई लिएर उनी आलोचित बनेका थिए ।

जयपुर मेडिकल एसोसिएसनका उपाध्यक्ष डा. सञ्जिब गुप्ताले एफआईआर दर्ता गराएका थिए भने इन्डियन मेडिकल एसोसियसनले बिन्द्रालाई ‘मानहानीको सुचना’ पठाएको थियो । बिन्द्राले आफ्नो यूट्यूव भिडियोमा देशका डाक्टरहरुलाई ‘सेतो कोट लगाएका हत्याराहरु’ को संज्ञा दिएका थिए ।

उनी उद्योगीहरुलाई व्यवसायिक समस्या समस्याका समाधानका लागि परामर्श दिने गर्छन् । भारतमा उनलाई सन्दिप महेश्वरीसँग दाँजेर हेर्ने गरिन्छ । यद्यपि, दुवैको शैली र क्षेत्र फरक–फरक छ ।

नेपालीहरुको प्रतिक्रिया

बान्द्राको भिडियोमा थुप्रै संख्यामा नेपालीहरुले प्रतिक्रिया जनाइरहेका छन् । केहीले नेपालप्रति सहानुभूति राखेको भन्दै उनलाई धन्यवाद दिएका छन् भने धेरैले नेपालको भन्दा आफ्नो देशको चिन्ता गर्न सुझाव दिएका छन् ।

कपिल पन्तले लेखेका छन्, ‘तिमीहरुले नेपालमा घुसपैठ गरेर बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लग्यौ भने नेपाल दुई दिनमै बन्छ ।’

यसैगरी अतुल केसीले लेखेकी छन्, ‘नेपालको चिन्ता तिमीले लिनु पर्दैन । पहिले आफ्नो देशको समाज सुधार ।’

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा…

प्रतिकृयाहरू
...