Sunday 3rd May 2026

चीनको साङ्सी प्रान्तको एक कोइला खानीमा दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु


तितोपाटी – चीनको एउटा कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला उक्त दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार बिहान मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीहरूले बताएका छन् । अन्य ६६ जनालाई भने कोइलाखानीबाट सकुशल उद्धार गरिएको अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । निजी कम्पनी बाइजी माइनिङद्वारा सञ्चालित खानीमा भएको उक्त दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा चीनमा कोइलाखानीमा यस्ता दुर्घटना बेलाबेलामा भइरहने गरेका छन् । ठुला सरकारी उद्योगको तुलनामा निजी क्षेत्रबाट सञ्चालित कोइला उद्योगमा सुरक्षा व्यवस्था कमजोर रहने गरेको छ ।

कोइला उत्पादनमा सुधार ल्याउन तथा गैर कानुनी उद्योगहरू बन्द गर्न पहल गरिए पनि खानी दुर्घटनाका समाचारहरू आइरहने गरेका छन् । गत वर्ष डिसेम्बरमा पनि चीनको दक्षिण पश्चिममा भएको कोइला खानी दुर्घटनामा सात जना कामदारको मृत्यु हुनुका साथै अरू तीन जना गम्भीर घाइते भएका थिए ।

चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा कार्यरत तीन सय ७५ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको तुलनामा यो करिब २८ प्रतिशतले न्यून हो ।


सम्बन्धित शीर्षकहरु

शताब्दी पुरानो बुद्ध मूर्ति आफ्नो जन्मथलोमा फर्किएपछि काठमाडौँको एउटा प्राचीन मन्दिर परिसर शुक्रबार भावुक वातावरणले भरिएको थियो। दशकौँअघि चोरी भएर…

जन-जागृति युवा समाज कुवेतले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा मृगौला पीडित एक श्रमिकलाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी…

राष्ट्रपतिको कार्यालय अहिले केवल औपचारिक संस्था होइन, नेपालको संवैधानिक शक्ति-सन्तुलनको केन्द्रबिन्दु बनेको छ। Ram Chandra Poudel ले मन्त्रिपरिषद्ले सिफारिस गरेका…

प्रतिकृयाहरू
...