Friday 26th April 2024

तपस्वी बम्जनको आश्रमबाट हराएका मानिसको हत्या भएको आशंका


तितोपाटी – तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो ।

‘आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा हड्डी पाएको छैन’ अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भने, ‘शव अन्यत्रै लगेर जलाइएको हुनसक्छ।’

सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए। लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो। त्यसपछि शुक्रबार नै प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो। सञ्चलालका छोराले आफ्नो बुवालाई कुटेर मारेको आरोप लगाएका छन्।

एक अनुयायीको हत्या गरी नुन छर्केर गाडिएको आशंका गरिएको रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रमबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले नुनका खाली प्याकेट (पोका) बरामद गरेको छ।

शव गाडिएको भनिएको खाडल उत्खनन् गर्दा भेटिएका पोकाले अनुसन्धान अघि बढाउन बाटो खुलेको निष्कर्ष फिल्डमा खटिएको सिआइबी टोलीले निकालेको छ। सिआइबी र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयूक्त टोलीले शुक्रबार आश्रम नियन्त्रणमा लिँदै छापा मारेर अनुसन्धान थालेको थियो।

‘जुन ठाउँमा अनुयायी हत्या गरेर गाडिएको सूचना हामीलाई थियो, त्यही स्थान उत्खनन् गर्दा नुनका खाली नौ वटा प्याकेट फेला पार्‍यौँ,’ एक अनुसन्धानकर्ताले भने। उनका अनुसार पाँच फिट गहिरो खाडल खनेपछि प्लास्टिकका पोका भेटिएका थिए। खाडलबाट हड्डी, मानव कंकाल लगायत वस्तु भने नभेटिएको उनले बताए। स्रोतका अनुसार सिआइबीलाई शव गाड्दा २० प्याकेट नुन छर्केको पूर्वसूचना थियो।

‘२० मध्ये नौ खाली पोका फेला पर्नुलाई ठूलो उपलब्धि ठानेका छौँ। यसले अनुसन्धानलाई साँघुर्‍याउँदै अघि बढ्न मार्ग प्रसस्त गरेको छ,’ सिआइबी स्रोतले बतायो। आश्रमबाट करिव तीन सय मिटर उत्तरतर्फ शव गाडिएको पूर्वसूचनाका आधारमा उक्त स्थानलाई केन्द्रविन्दु बनाएर प्रहरीले शनिबार खाडल उत्खनन् गरेको थियो।

फिल्डमा रहेका अनुसन्धानकर्ताहरुका अनुसार उत्खनन् गरिएको खाडलको माटो खुकुलो र नयाँ थियो। खाडलबाट हड्डी, मानव कंकाल लगायत नगल्ने वस्तु अन्यत्रैे सारिएको वा जलाइएको हुन सक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ। उनीहरुका अनुसार हत्या अनुमान गरिएको समयपछि केही आनी आश्रम छोडेर भागेको पाइएको छ। ‘उनीहरु घटनाको प्रत्यक्षदर्शी भएकाले प्रमाण नष्ट गर्न शवका अंश त्यहाँबाट निकालिएको हुन सक्छ,’ सिआइबी स्रोतले बतायो।

शवका हड्डी, मानव कंकाल जलाइएको हुन सक्ने आशंकामा आश्रमका विभिन्न स्थानमा भेटिएका कोइलाको समेत सिआइबी टोलीले नमूना संकलन गरेको छ। ‘जुन ठाउँमा २० पोका नुन छर्केर शव गाडिएको भनिएको थियो, त्यही स्थानमा पोका फेला पर्नु संयोग मात्रै होइन,’ स्रोत भन्छ। बरामद पोका हतारमा च्यातिए झैँ देखिन्छन्।

बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट पाँच अनुयायी बेपत्ता भएको खबर सार्वजनिक भएपछि सिआबीले अनुसन्धान थालेको हो। तीमध्ये चार अनुयायी बाडेगाउँ आश्रमबाटै बेपत्ता भएको बताइएको छ। यहाँबाट बेपत्ता भएका भनिएका चारमध्ये एक अनुयायीको आश्रमभित्रै हत्या भएको सूचना सिआइबीले समेत पाएको छ।

बम्जन आश्रमबाट तीन जना हराएको निवेदन परेको प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले शुक्रबार नागरिकलाई बताएका थिए। उनका अनुसार मकवानपुर, बारा र नुवाकोटमा खोजतलासका लागि निवेदन परेका हुन्। मकवानपुरका सञ्चलाल वाइबा र फूलमाया रुम्बा बाँडेगाउँस्थित आश्रमबाट हराएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परेको छ। वाइबाका छोरा महेन्द्रले बुधबार दिएको निवेदनमा उनका बाबु २०७१ चैतमा बाँडेगाउँस्थित आश्रमबाट बेपत्ता भएको उल्लेख छ। त्यस्तै बाँडेगाउँ आश्रमबाटै फूलमाया हराएको भन्दै उनका भाइ बिजयले निवेदन दिएका छन्। उनले निवेदनमा आनी बन्न बम्जन आश्रम गएकी दिदी फूलमाया २०७१ माघदेखि बेपत्ता भएको जनाएका छन्। महेन्द्रले अन्तिम पटक २०७१ चैत १५ गते बाबु सञ्चलालाई फोन गरेका थिए। उनले फोनमा १६ गते घर आउने बताएका थिए। न सञ्चलाल घर गए न त्यसपछि सम्पर्क नै हुन सक्यो। त्यतिबेला आश्रममा पूजा चलिरहेको थियो। पूजामा केही अनुयायी बिरामी परेपछि तन्त्रमन्त्र गरेको आरोपमा बम्जनसहित उनका सहयोगीले सञ्चलाललाई कुटपिट गरेका थिए। कुटपिटकै क्रममा उनको मृत्यु भएको र खाडल खनी नुन छर्केर पुरेको घटनापछि भागेका प्रत्यक्षदर्शी आनीहरुले बताउँदै आएका छन्।

सिआइबी टोलीलाई परिचालन गरिरहेका सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले अनुसन्धान टुंगिनसकेको बताए। तर आश्रमले थप आशंका भने बढाएको उनले जानकारी दिए। ‘जसरी पीडित परिवारले निवेदन दिएका छन् त्यसका आधारमा आश्रमबाट थप आशंका गर्नुपर्ने तथ्यहरु भने फेला परेका छन्,’ उनले भने। आश्रममाथि अनुसन्धान जारी रहेको एसपी मरासिनीले बताए। आश्रमस्थलबाट सिआइबी र प्रहरीको संयूक्त टोली भने साँझ फर्केको छ। मरासिनीका अनुसार आश्रममा निगरानी गर्न भने छोडिने छैन। फिल्ड स्रोतका अनुसार फर्कँने समयमा अनुसन्धान अधिकारीले अनुसन्धानकर्ताहरुलाई ब्रिफिङ गर्दै अनुसन्धानको नजिक पुगेको भन्दै सबैलाई धन्यवाद दिएका थिए।

घना जंगलबीच झण्डै ८० रोपनी जमिनमा आश्रम फैलिएको छ। आश्रममा आठ जस्ताको टहरा छन्। बम्जन बस्नेसहित चार टहरा केही व्यवस्थित छन्। शनिबार आश्रममा १४ पुरुष अनुयायी भेटिए। हत्या र बेपत्ता भएको भनिएको समयका सात अनुयायी अझै यहीँ रहेछन्। अरु सात अनुयायी नयाँ थिए। सिआइबी टोलीले आश्रम नियन्त्रणमा लिएकाले उनीहरुलाई प्रहरीलाई बाहेक अरुसँग आश्रमका विषयमा बोल्न रोक लगाइएको थियो। सिआइबी टोलीले नयाँ, पूराना सबै अनुयायीसँग बयान लिएको छ।

मोटरबाटो पुग्ने अन्तिम बस्ती थलडाँडाबाट आश्रममा पुग्न १५ मिनेट ओह्रालो हिँडुपर्छ। चिलाउने र ढाल्नेका घना जंगलबीच कोल्टेमा रहेको आश्रम कतैबाट देखिँदैन। यहाँ बम्जनले दुई वर्षभन्दा बढी समय बिताएका थिए। २०७० असोज ४ गते यहाँ आइपुगेका बम्जन २०७२ वैशाख १२ को भूकम्पको केही महिनापछि यो आश्रम छाेडेर हिँडेका थिए।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...