Thursday 30th July 2026

अमेरिकी हिरासतमा आप्रवासी बालबालिकाको मृत्यु


तितोपाटी – आफ्नो बाबुसँग अमेरिका प्रवेश गर्दै गर्दा पक्राउ परेका ग्वाटेमालाका एक आठ वर्षीय बालकको अमेरिकी हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्। मेक्सिकोबाट सीमा पार गरेर अमेरिका छिरेपछि बन्दी बनाइएका ती बालकको मृत्यु यो महिनामा भएको त्यस्तै प्रकारको दोस्रो घटना हो। इसाईहरुको धार्मिक पर्व क्रिसमसको मध्यरातपछि ती बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा अधिकारीहरूले बताएका छन्।

अमेरिकी अधिकारीहरूको एउटा वक्तव्यमा ती आठ वर्षीय बालक सोमबारदेखि नै बिरामी भएको समेत उल्लेख गरेका छन्। ती बालक र तिनका पितालाई सोमबार न्यु मेक्सिकोको अलामोगोदोस्थित अस्पतालमा लगिएको थियो। उनलाई त्यहाँ रुघा र ज्वरो आएको बताइएपछि उपचार गरिएको थियो र त्यही दिन दिउँसो अस्पतालबाट फर्काइएको थियो। सोही दिन साँझ ती बालकले बान्ता गर्न थालेपछि पुनः अस्पताल लगेको केही घन्टापछि नै उनको मृत्यु भएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

बालकको मृत्युको खास कारण भने पत्ता लागिनसकेको अमेरिकी सीमा एजेन्सीको वक्तव्यमा उल्लेख गरिएको छ। अमेरिकी भन्सार तथा सीमा संरक्षण निकायले जारी गरेको लामो तथा नयाँ विज्ञप्तिमा औपचारिक रूपमा परिचय निश्चित नभएका ती बालकको स्थानीय समयअनुसार सोमबार राति ११ बजेर ४८ मिनेटमा मृत्यु भएको थियो। बालकको मृत्यु भए पनि उनका बाबु अझै पनि हिरासतमै रहेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ। एपीका अनुसार ती बाबुछोरा तेनेसीको जनसन सहर जाने तयारी गर्दै गर्दा अमेरिकी सीमा सुरक्षा बलको नियन्त्रणमा परेका थिए।

यसअघि भएको पहिलो घटनामा थुनामा राखेको केही घण्टापछि नै ग्वाटेमालाकी सात वर्षिया बालिकाको मृत्यु भएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार उनले आफ्नो परिवारका सदस्यसँग अमेरिका–मेक्सिको सीमा पार गर्ने प्रयास गरेकी थिइन्। ‘जेकलिन काल’ नामले चिनाइएकी ती बालिकाको कलेजोको समस्याका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। तर वासिङ्टन पोस्टले भने ती बालिकाको शरीरमा पानीको कमी र अकस्मात् उत्पन्न डरका कारण मृत्यु भएको उल्लेख गरेको छ।

अमेरिका–मेक्सिको सीमास्थित अधिकारीहरूलाई उद्धृत गर्दै सो पत्रिकाले ती बालिकाले धेरै दिनदेखि खानपिन नगरेको खुलाएको छ। हजारौं आप्रवासीहरू मध्यअमेरिकाबाट अहिले संयुक्त राज्य अमेरिकाको सीमामा आइपुगेका छन्। मध्य अमेरिकी देशहरु ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरमा व्याप्त गरिबी, हिंसा र दमनबाट बच्नका लागि आफूहरु भागेर अमेरिका प्रवेश गर्नका लागि आएको उनीहरुले बताउने गरेका छन्। हजारौंको संख्यामा आप्रवासीहरु अमेरिका प्रवेश गर्नका लागि अमेरिका–मेक्सिको सीमातर्फ अघि बढेपछि अमेरिकी सरकार कडा बनेको छ। कसैले अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयास गरेमा उनीहरुलाई पक्राउ गरी मुद्दा चलाइने र देशनिकालासमेत गर्ने चेतावनी अमेरिकाले दिएको छ। अमेरिकी चेतावनीको विपरित पनि आप्रवासीहरुमध्ये अधिकांशले अमेरिकामै बस्ने लक्ष्य बनाएको बताउने गरेका छन्।

बालबालिकाको मृत्यु भएपछि अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका आयुक्त केभिन म्याकएलिनानले मृत्यु अत्यन्तै दुःखद् भएको भन्दै हिरासतमा रहेका सबै बालबालिकाको थप स्वास्थ्य परीक्षण गरिने घोषणा गरेका छन्। उनले हिरासतमा रहेका १० वर्षमुनिका बालबालिकालाई थप ध्यान दिइने पनि घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ। उनले आप्रवासीलाई राखिने हिरासतको अवस्थामा सुधार ल्याउन पनि पहल गरिने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...