Tuesday 20th October 2026

बर्खास्त भएका श्रीलंकाली प्रधानमन्त्रीको पुनर्बहाली भयो, छिट्टै नै मन्त्रिपरिषद गठन हुने


तितोपाटी – श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरिएको हो । सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिङ्घेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ पनि गराएका छन् ।

विक्रमासिङ्घेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैँले बर्खास्त गरेका विक्रमासिङ्घेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य भएका हुन् । राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अबैध भन्दै काम गर्न नदिएपछि उनले शनिबार राजीनामा दिएका हुन् । संसद र अदालत दुबैले संसदबाट बहुमतप्राप्त भएकाले विक्रमासिङ्घेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेनाले उनलाई नै फेरि नियुक्त गर्न बाध्य भएको हो ।

विक्रमासिङ्घेको पार्टी युनाइटेड नेसनल पार्टीले ट्वीट मार्फत् राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न लड्नु भएका सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । विक्रमासिङ्घेका एकजना प्रवक्ताले उनले चाँडै नै मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । नयाँ वर्ष सन् २०१९ का लागि वार्षिक बजेट बनाउने विषयमा पनि उनले प्राथमिकताका साथ काम गर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...