Saturday 18th April 2026

श्रम स्वीकृति नलिइ मलेसिया जान लागेका २९ जना अध्यागमनबाट फर्काइए


तितोपाटी – कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाइदिएको छ । श्रम स्वीकृति नलिई गएका उनीहरूलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्काएको हो । वैधानिक कागजात नपुर्‍याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ । मलेसियाका लागि भिसा प्रोसेस, मेडिकल जाँच र औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भीएलएनविरुद्ध कानुनी कारबाही थालिएयता कामदार भिसामा मलेसिया जान सरकारले रोकेको छ । मलेसियाको कामदार भिसासहितको पासपोर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काइदिएको थियो । मलेसियाको वैध भिसा बोके पनि उनीहरूले श्रम स्वीकृति लिएका थिएनन् ।

श्रम स्वीकृति नभए पनि शुक्रबार विमानस्थल पुगेका २९ जना उड्न पाइनेमा ढुक्क देखिन्थे । विमानस्थल अध्यागमन प्रमुख राजेश पौडेलले यी २९ जना आउनुअघि नै आफ्नो अफिसियल इमेलबाट अध्यागमन डेस्कमा बस्ने अधिकृतहरूले चलाउने साझा इमेलमा उनीहरूको सम्पूर्ण विवरण फरवार्ड गरिदिएका रहेछन् । नोभेम्बर ३० मा मलेसियाको क्वटा टनेल स्क्वाड कम्पनीले केलाङ उपत्यकामा सुरु गर्न लागेको परियोजनाका निम्ति २९ जना नेपाली कामदार लैजान लागेको जानकारी गराउँदै वैदेशिक रोजगार विभागलाई सहजीकरण गरिदिन पत्राचार गरेको थियो ।
विभागले मलेसिया कामदार पठाउने काम हाललाई रोकिएकाले श्रम स्वीकृति दिन नसकिने जवाफ दिएपछि विकल्प खोज्न थालिएको रहेछ । विमानस्थल अध्यागमन प्रमुख पौडेलले हाई स्किल म्यानपावर भएको, सबैको तलब ५ हजार रिंगिटभन्दा माथि भएको र मलेसियास्थित नेपाली दूतावासबाट समेत प्रमाणीकरण गराएको कागज ल्याएकाले के गर्ने भन्नेबारे अध्यागमन विभागका महानिर्देशकसँग सोधेको बताए ।  उनले मलेसिया जाने कामदारमध्येका एक कुमार लामाले आफूलाई पहिल्यै सम्पर्क गरेर जाने प्रक्रियाबारे बुझेको र उनले नै जानेहरूको नामावलीसहितको कागजात दिएको बताए । ‘नीतिगत निर्णयबिना अध्यागमन डेस्क अफिसरहरूले प्रस्थान अनुमति दिन नसक्ने बताएपछि उनीहरूलाई फिर्ता पठाइएको हो,’उनले भने ।

श्रम विभागका एक कर्मचारीका अनुसार तत्काल श्रम अनुमति नमिल्ने भएपछि म्यानपावर एजेन्टहरूले अध्यागमनका उच्च अधिकारीलाई साथमा लिन खोजेका थिए । जसमा अध्यागमन प्रमुख पौडेलदेखि उपसचिव नवराज ढुंगानासम्म सक्रिय देखिएका थिए ।
मंसिर तेस्रो सातातिर पनि भिजिट भिसामा जोर्डन जान खोजेका ७७ जनालाई विमानस्थल अध्यागमन डेस्कले फिर्ता पठाइदिएको थियो । अफगानिस्तानमा काममा जानपूर्वको तालिम लिन जोर्डन जान लागेका उनीहरू त्यसको केही दिनपछि दुई चरणमा जोर्डन उड्न सफल भए ।
शृंखलाबद्ध यस्ता घटनाले स्पष्ट कार्यादेश र नीतिगत निर्णय अभावमा अध्यागमन कार्यालयको डेस्क सम्हाल्ने अधिकृत र उच्च अधिकारीबीच सम्बन्ध चिसिएको एक कर्मचारी बताउँछन् । प्रस्थान अनुमति दिएकै भरमा छानबिनमा तानिने र कारबाहीमा परिने क्रम बढेपछि अधिकृतहरू झस्किएका छन् भने यही बीचमा उच्च अधिकारीको सक्रियतामा पटके कागजी निर्णय गराएर विदेश उडाउने क्रम बढेको छ ।

विमानस्थल अध्यागमनमा श्रम अनुमति लिएर जाने र पर्यटक भिसामा जानेलाई फरक–फरक डेस्क छुट्याइएको छ । भिजिट भिसामा जान लागेका एक यात्रुलाई श्रम डेस्कमा बसेका रामचन्द्र सिवाकोटीले प्रस्थान अनुमति दिएपछि उनी विभाग तानिएका थिए । आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर उनले किन अनुमति दिए भन्ने खुलेको छैन ।


सम्बन्धित शीर्षकहरु

लन्डनबाट आएको एक विश्लेषणले देखाउँछ कि अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व अब टाढाको समस्या मात्र रहेन। यसको असर ग्लोबल साउथका देशहरूमा सिधै देखिन…

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

प्रतिकृयाहरू
...