Saturday 1st August 2026

यहाँ पनि सरकार भेटिएन


तीतोपाटी-गाउँमा एउटै पसल छैन। स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन। भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन।

सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ। यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन्। यो सिकारीवास गाउँ हो र यहाँ राज्य छैन। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सिकारीवास पर्साको ठोरी गाँउपालिका–३ मा पर्छ। वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने ब्रम्हनगर गाँउको चोकबाट उत्तरतिर सात किलोमिटर जंगलको गोरेटो पार गरेपछि पुगिन्छ सिकारीवास। यो गाउँ अहिले खोरिया फाँडेर बसाइएको होइन।

ठोरी गाउँपालिकाकै पुरानो बस्ती सिकारीवास डेढ सय वर्ष पहिले बसाइएको हो। पर्सा र चितवन राष्ट्रिय निकुञ्जबीचमा छ यो बस्ती। यहाँका बासिन्दा स्वास्थ्य, शिक्षा, पिउने पानी, सडकजस्ता राज्यबाट पाउनुपर्ने सबै सुविधाबाट वञ्चित छन्।

शुक्रबार दिउँसो सुदीपबहादुर बस्नेत घरमै भेटिए। ७० वर्षे बस्नेतलाई नातिनातिनालाई स्कुल नपठाई घरमै राख्नुपरेको चिन्ताले सताएको छ। ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, हामी सिटामोल लिन पनि तीन घण्टा जंगलको बाटो हिँड्नुपर्छ,’ उनले भने, ‘गाँउमा एउटा धारा पनि छैन। खोलाकै धमिलो पानी खान्छौं। नातिनातिना स्कुल जान पाउँदैनन्। यो सबै हेर्दा त हामी यो जुगको मान्छे होइनौंजस्तो लाग्छ।’

बस्नेतका अनुसार गाउँमा दुई दशकअघिसम्म झण्डै एक सय घरधुरी थिए। अहिले ४०/४२ घर मात्र बाँकी छन्। राज्यले त्यहाँका बासिन्दालाई कहिल्यै सहारा दिएन। आधारभूत सेवा सुविधाबिनाको कष्टकर जीवन जिउन गाह्रो हुँदै गयो। त्यसैले गाउँ छोड्ने क्रम बढिरहेको छ।

गाउँमा सबैभन्दा ठूलो अभाव स्वास्थ्य सेवाको छ। निजी क्लिनिक वा औषधि पसल समेत छैन। कसैलाई सामान्य ज्वरो आए पनि सिटामोल लिन सात किलोमिटर जंगलको बाटो छिचोलेर ब्रम्हनगर वा विजयबस्ती पुग्नुपर्छ। ब्रम्हनगरदेखि सिकारीवाससम्म एम्बुलेन्स समेत पुग्दैन। किनकि सडक बनेकै छैन।

‘गाँउमा कोही सिकिस्त भयो भने तीनरचार जना मिलेर ढोड्सन (कपडा र बाँसको झोलुंगे)मा बोकेर सात किलोमिटर परको विजयबस्ती हेल्थपोस्टमा पुर्याउछौँ,’ स्थानीय ब्रदी चौधरीले भने। सात किलोमिटर बाटोमा स्थानीय पैदल, साइकल वा मोटरसाइकलमा आउजाउ गर्छन्।

साभार दैनिकनेपाल


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...