Saturday 20th April 2024

अोपेकले तेल उत्पादनमा कटाैती गर्ने, अन्तर्राष्ट्रिय समुदायद्वारा कटाैती नगर्न अाग्रह


तितोपाटी – तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक)ले तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने घोषणा गरेको छ । यसबाट तेलको मूल्यमा हुने वृद्धिले उपभोक्तामाथि थप आर्थिक भार पर्ने भएको छ ।

ओपेक सदस्य राष्ट्रका इन्धनमन्त्रीहरूको ओपेक मुख्यालय भियनामा बिहीबार र शुक्रबार बैठक बसेको थियो । रूस पनि सहभागी बैठकले कच्चा तेलको परिमाण जनवरी १ देखि कटौती गर्ने जानकारी दिएको हो । यसबाट उनीहरूलाई तेलको मूल्यमा आएको गिरावटबाट केही राहत मिल्नेछ । ओपेक राष्ट्रहरूले सहमतिपछि तेल उत्पादनमा प्रतिदिन ८ लाख ब्यारेल कटौती गर्नेछन् भने ओपेकका सदस्य नरहेका राष्ट्रहरूले चार लाख ब्यारेल कम तेल उत्पादन गर्ने संयुक्त अरब इमिरेट्स (युएई)का इन्धनमन्त्री सुहाइल अल–मजरोईले शनिबार जानकारी गराए ।

विश्वको तेल उत्पादनको झण्डै आधा बजार ओगटेका ओपेक र यसका साझेदार राष्ट्रहरूले विगत दुई महिनामा कच्चा तेलको मूल्यमा ३० प्रतिशतभन्दा बढी गिरावट आएपछि यसबाट राहत पाउनका लागि उक्त सहमति गरेको बताएका छन् । विशेष कारणले सहमति भेनेजुएला, लिबिया, इरानका लागि बाध्यकारी नहुने मजरोईले बताएका छन् । भेनेजुएला र इरानमाथि अमेरिकी प्रतिबन्ध लगाइएको र लिबियामा निरन्तरको द्वन्द्वका कारण उत्पादनमा निरन्तरता नभएकाले उनीहरूमाथि सहमति बाध्यकारी नहुने बताइएको छ । मजरोईले भने, ‘अन्य सदस्य राष्ट्रले गरेको कटौतीभन्दा औसतमा बढी कटौती हुने भएकाले केही राष्ट्रलाई छुट दिइएको हो ।’

तेल उत्पादनका हिसाबले विश्वकै दोस्रो मुलुक रूसी इन्धनमन्त्री अलेक्जेन्डर नोभाकले भने, ‘छलफल निकै ‘जटिल’ भएको महसुस सहमतिले बजारलाई सन्तुलनमा लान सहयोग गर्नेछ ।’ कच्चा तेलको मूल्यमा यूरोपेली मापदण्डअनुसार शुक्रबार प्रतिब्यारेल ६२.७ डलरबाट ४.४३ प्रतिशतले वृद्धि भएको देखिएको छ । यद्यपि यो सन्तोषप्रद भने अझै नभएको ओपेक सदस्य राष्ट्रहरूको भनाइ छ ।

तेल मामिलाका लन्डनस्थित तेल कम्पनी पिभिएमका विज्ञ स्टेफेन ब्रेनकले तेल उत्पादनमा भएको कटौती बजार सन्तुलनका लागि निकट विन्दुमा रहेको तर यो एकदमै नजिक भने नभएको स्पष्ट पारे ।

‘अहिलेको अतिरिक्त आपूर्तिबाट अर्को वर्षको ६ महिनासम्म प्रतिदिन १५ लाख ब्यारेल तेलको संयुक्त कटौती हुन आवश्यक छ’, उनले भने, ‘यसैगरी मूल्यको सम्भावना आगामी केही महिनाका लागि अझै तल झुकेको अवस्थामा रहेने देखिए पनि सन्तुलित भने भइहाल्ने अवस्था देखिएको छैन ।’

रूसी मन्त्री नोभाकको पहलमा इरानी तेलमन्त्री विजान नाम्दार जान्गानेहसहितका ओपेक सदस्य राष्ट्रका अधिकारीसँग भएको द्विपक्षीय वार्ता र छलफलपछि भएको पूर्ण बैठकबाट तेलको कटौती गर्ने कुरामा सहमत भएको हो । ओपेकको प्रमुख शक्ति साउदी अरबले सहमतिलाई लिएर अमेरिकाको दबाब सहनुपर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्विटरमार्फत ओपेक संगठनले तेल निर्यातको वर्तमान परिणामलाई बढाउनुपर्ने र विश्व अर्थतन्त्रलाई सहयोग गर्नुपर्ने माग गरेका छन् ।

पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणका कारण साउदी निकै कमजोर बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले खसोग्गी प्रकरणमा केही समस्या देखिए पनि अमेरिका रियादको पक्षमा उभिने तर तेलको उत्पादनलाई बढाउनेमा साउदीसँग छलफल गर्ने बताएका छन् । साउदी इन्धनमन्त्री खालिद अल–फालिहलाई सहमतिमा ट्रम्पको प्रभाव पर्न नदिन आग्रह गरिएको थियो । ‘ह्वाइट हाउसबाट आएका ट्विटभन्दा सन् २०१८ मा मैले एशियाका धेरै तेल प्रयोगकर्ता (ग्राहक) कम्पनीसँग भेटेको छु ।’

यसैगरी भारतले पनि तेलको उच्च मूल्यलाई घटाउने गरी अघि बढ्न ओपेक सदस्य राष्ट्रहरूसँग आग्रह गरेको छ । तेलको उच्च मूल्यका कारण धेरै उपभोक्ता प्रभावित भएको स्वीकार गर्दै फालिहले भने, ‘मैले उपभोक्ताहरूलाई करको माध्यमबाट तेलको मूल्यमा देखिएको समस्या नियन्त्रणका लागि अनुरोध गर्नेछु र कच्चा तेलको उत्पादनबाट आउने कटौतीका कारणभन्दा पनि सम्बन्धित मुलुकले लगाउने करका कारण तेलको मूल्यमा वृद्धि भएको हो ।’

गत जुनमा ओपेक र यसकमा मित्र शक्तिले साउदीलाई तेलको उत्पादन बढाउन सहमति दिएका थिए भने इरानमाथि लगाइएको नाकाबन्दीका कारण बजारमा माग भएको तेलको परिणाममा पर्नसक्ने समस्याको समाधानका लागि रूसलाई आग्रह गरिएको थियो । गत मे महिनामा अमेरिकाले आकस्मिक रूपमा इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने निर्णयका साथै कठोर आर्थिक तथा राजनीतिक प्रतिबन्धको घोषणा गरेपछि तेलको उत्पादन र आपूर्तिमा सन्तुलन गर्न कठिनाइ देखिएको छ ।

यद्यपि अमेरिकाले चीन लगायतका केही मुलुकमा इरानी तेल आयात गर्न अस्थायी छुट रहेको थियो । अमेरिकाले तेल निर्यातमा महत्वपूर्ण भूमिका रहने मुलुक इरानमा नाकाबन्दीको घोषणा गरेपछि तेलको मूल्यमा वृद्धि भएको हो । यसको प्रभाव एशियाली राष्ट्रहरूमा निरन्तर तर निम्नदरमा इन्धनजन्य सामग्रीमा मूल्य वृद्धि भएको छ ।

-एएफपी


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...