Friday 19th April 2024

प्रेम तथा अन्तरजातीय विवाहका चुनौति र सम्भावना


तिताेपाटी – प्रेम तथा अन्तरजातीय विवाहबारे चर्चा गर्दा त्यस्ता केही महान व्यक्तित्वहरुको प्रेमबारे भनाई बाट शुरु गरौं । अन्तरराष्ट्रिय महान व्यक्तित्वहरुमा पनि मलाई सेक्सपियर महोदयको भनाईले लेख लेख्न घच्घच्यायो । सेक्सपियरको भनाइ छ, Love is Blind  अर्थात् ‘प्रेम अन्धो हुन्छ ।’ त्यस्तै महात्मा गान्धीको भनाई छ, ‘जहाँ प्रेम छ, त्यहाँ जीवन छ’, अर्का मार्टिन लुथरकिङ्गको भनाइ छ, ‘वैरीलाई मित्र बनाउन सक्ने त्यस्तो एउटै शक्ति प्रेम हो ।’ यी तीन भनाइमा केन्द्रित रहेर मैंले हाम्रो समाजमा व्याप्त रहेको जातपात र छुवाछुतजन्य संस्कारले तल्लो जात वा पानी नचल्ने जातकासँग विवाह गर्न हुँदैन भन्ने रुढीवादी अन्धविश्वास जब्बर हुँदाहुँदै पनि तल्लो जात र उपल्लो जातका युवायुवतीबीच प्रेमका कारण एकाध विवाह समाजको हरेक पर्खाल तोडेर हुन पुग्छ । त्यसपछि उनीहरुप्रति बाबुआमा, घरपरिवार र सिङ्गो समाजको धारणा कस्तो रहन्छ । यसलाई कसरी आफ्नै जातका वा जात मिल्नेसँग विवाह गर्दा जस्तै सहज र सरल बनाउन सकिन्छ । अन्तरजातिय विवाह एकाध होइन सही प्रेम हुनेहरुबीच व्यापक बनाउन सकिन्छ । अनि हाम्रो समाजको सामाजिक अपराधको रुपमा रहेको छुवाछुतजन्य कुरीति र कुसंस्कार छिटोभन्दा छिटो निर्मुल पार्न सकिन्छ भन्ने विषयमा मेरो रचना केन्द्रित रहेको छ । तर म आफै प्रेमको व्याख्या विश्लेषण गर्न गइरहेको भने छैन ।
सेक्सपियरले प्रेम अन्धो हुन्छ भनेझैं रोजगारका लागि विशेषत भारतमा कुल्ली, दास (नोकर) बनेर आफ्नो परिवारको जीविका चलाउन जाने–आउने सिलसिलामा कतिपयले मालिकको छोरी भगाएर लिई आएको पाइन्छ । कतिपय चेतनशील मालिक मालिक्लीनी भएपछि छोरीले मन पारी भने हामीलाई के भयो, भन्ठानेर घरजम नै गरेर बसेका उदाहरण पनि छन् भने कतिपयलाई फकाई फुलाई बोलाएर हाम्रा दाजुभाइलाई बेपत्ता बनाइएका घटना पनि छन् । हाम्रो समाजमा पनि जहाँ एक आपसमा वास्तविक प्रेम भयो त्यहाँ अरु त के उपाध्याय ब्राह्मणको छोरीलाई तल्लो जातका सँग विवाह गर्न रोक्न कसले सक्यो ? न त्यहाँ जातको सवाल रह्यो न धनी गरिब, न रुपरङ्ग, एक हिसाबले उमेरले पनि छेक्न सक्दैन रहेछ । बरु आफ्ना प्रेममय जीवनलाई सफल बनाउन हिजो गाउँ नै छोडेर अन्यत्र गएर जस्तोसुकै अभाव र कठिनाई झेलेर पनि बाँचे । कति प्रवासमै गएर जीवन व्यतित गरे । आजकल गाउँमै रहे भने अलि चेतनशीलको परिवारमा राम्रै सम्बन्ध होला । कम चेतना हुनेका देखभेट हुँदा बोलचाल हुँदैन होला । कस्तो अचम्म छ, यो दुनियाँमा प्राणीहरुमध्यको सबभन्दा चेतनशील प्राणी मानव परम्परादेखि चल्दै आएको अन्धविश्वासकै कारण र अहिले जातभात मान्न हुँदैन भन्ने थाहा हुँदाहुँदै बाँचुन्जेल बोलचाल पनि गर्दैनन् । त्यसैले होला सेक्सपियर महोदयले प्रेम अन्धो हुन्छ भनेको । सारा कठिनाइका बाबजुद पनि अनि आफ्नै बाबुआमा र घरपरिवार त्यागेर पनि प्रेम गर्नेहरु एक आपसमा अलग नहुने, सँगै जिउने । नत्रभने मालिकको छोरीलाई जाबो नोकरको के सवाल, त्यस्तै उपाध्याय ब्राह्मणकी छोरीलाई पानी नचल्ने जातका केटासँग विवाह गर्न के मतलव । न रुपवानलाई कुरुपको सवाल, न त कालालाई गोराको सवाल । महात्मागान्धीले भनेझैं जहाँ प्रेम हुन्छ, त्यहाँ जीवन हुन्छ । ज–जसले सही प्रेम गर्न पुग्छन् त्यहाँ जीवन देख्छन् र बाँच्दछन् । तर सिंगो समाजले देख्न सक्तैन । अन्तर्राष्ट्रिय दलित आन्दोलनका अगुवा डा. अम्बेडकरको पनि अन्तरजातीय विवाहसम्बन्धी के मत छ भने, छुवाछुतजन्य व्यवहार मेटाउने एकमात्र उपाय अन्तरजातीय विवाह हो । जसबाट रक्तसम्बन्धको कारण आत्मीयताको भावना पलाउँछ र अन्तरजातीय विवाह बढीभन्दा बढी भयो भने जातपातको बन्धन स्वतः कमजोर बन्न पुग्छ भन्नुभएको छ । यहींनेर मार्टिन लुथर किङ्गको भनाईको पनि सार्थकता रहन्छ । वैरीलाई मित्र बनाउन सक्ने त्यस्तो एउटै शक्ति प्रेम हो । चितवन जिल्ला घर भएकी नवनायिका जो दलित हुन्, जसलाई ४÷४ जनासम्म उपल्ला जातका युवकले प्रेम र विवाह गर्छु भने तर तल्लो जातको भन्ने थाहा भए पछि अलपत्र पारेको कुरा जनआस्था पत्रिकाको अङ्क ……………… मा छापिएको थियो । मलाई माफ गर्नुहोला, जनआस्थाको अङ्क र उनको नाम खुलाउन नसकेकोमा । यहाँ भन्न खोजिएको के हो भने यस्तो खालको प्रेम कुनै पनि दलित या गैरदलित युवतीमाथि नहोस् भन्ने हो ।
अन्तरजातीय विवाहबारे चर्चा गर्नु पर्दा वर्तमान काम चलाउ प्रधानमन्त्री माधव नेपालको सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख राहत दिने घोषणा पश्चात् धौलागिरि अञ्चलको म्याग्दी र पर्वत जिल्लामा भएका दुई वटा अन्तरजातीय विवाहको उदाहरणलाई लिन सकिन्छ । जसमा म्याग्दीको शिख गा.वि.स.मा क्षेत्रीको छोरी जयन्ती खड्का र दमाईंको छोरा रेशम परियारबीच विवाह हुँदा उपल्ला जातकाले प्रहरीको चौकीसम्म घेरा हाल्न पुगे । केटापक्षका परिवारलाई धम्की दिने कार्य पनि गरियो । अनेक प्रयत्न गरेर विवाहलाई असफल बनाउन खोजे पनि दलित अधिकारकर्मी, राजनीतिक दल र जिल्ला प्रशासन कार्यालयको सहयोग र उनीहरु दुवैको उमेर पुगेका कारण प्रेम र विवाह सफल रह्यो । हाम्रो छिमेकी जिल्ला पर्वत शिवालय–७ की अञ्जु क्षेत्री उपल्लो जातकी केटी तल्लो जातको केटा कृष्ण परियारबीच मिति २०६७ असोजमा विवाह हुन खोज्दा हुनसम्म सास्ती घरपरिवार र आफन्तलाई राज्य पक्ष वा सरकारी पक्षबाटै भयो । जसको कारण के थियो भने केटीको दुई महिनाले १८ वर्ष नपुगेको कारण केटी पक्षकाले झुक्याएर लग्यो, अपहरण गरेर लग्यो भन्ने बहाना बनाई केटी र केटालाई छुटाउन ठूलो प्रयत्न गरियो र लुकेर बसेकालाई झण्डै महिना दिन पछि केटाकेटीलाई अलग गराउने कार्य पनि भयो । अन्ततः उनीहरु फेरि भागेर सुरक्षित बनेका छन् । यस्ता घटना देशव्यापीरुपमा निश्चय पनि सयौं होलान् । कति प्रचारमा आए कति आएनन् होला । यसो हुनुको प्रमुख कारण भनेको केटीको उमेर नपुग्नु हो । हाम्रो समाजमा केटीको उमेर नपुगीकन सजातीय विवाह जति पनि हुन्छ । त्यसमा कसैको सरोकार छैन । तर जब दलितसँग विवाह हुन्छ अनि उमेर, कानूनको कुरा आउँछ । यो भन्दा अघि हाम्रो समाजको यौन, प्रेम र विवाहसम्बन्धी कुराबाट गरौं । अलि राम्री दलित युवती देखेपछि उपल्ला जातका केटाले म तिमीलाई प्रेम गर्छु, तिमीविना बाँच्न सक्दिन भनेर प्रेमरुपी जालमा फसाउँछ, अनि हुनुपर्नें प्रेम, विवाह र यौनमा उल्टो हुन्छ यौन प्रेम र विवाह । जतिबेलासम्म ती उपल्ला जातका ठिटोले तल्लो जातकी केटीसँग प्रेम गरेको कुरा उसका घरपरिवार, समाजलाई थाहा हुँदैन । त्यतिबेलासम्म त राम्रै हुन्छ, जब उसका घरपरिवार र आफन्तले यदि तैंले वा तिमीले त्यो तल्लो जातकी केटी ल्याइस् भने म झुण्डिएर मर्छु आमाले भन्छिन् । एकातिर बाबुले भन्छ, हाम्रो दाजुभाइले कुलबाटै निकाल्ने रे, पानी बार्ने रे भन्छन् । बाबु हाम्रो खानदानकै बेइज्जत हुने भयो । त्यसपछि ती तिमीविना बाँच्न सक्दिन भन्ने केटा बेपत्ता हुन्छन् । मैंले हाम्रो गाउँमै सुनेको छु, फलानो नै राम्रो छ नि छोरीलाई माग्न आएको केटाभन्दा तर के गर्नु पानी चल्दैन । पानी मात्र चल्ने भए आफ्नै हातले उठाएर दिने थिएँ भनेको । दलित ज्वाईं–बुहारी बनाउन गैरदलितलाई आफूभित्र तयार रहेपनि बाहिरी रुपमा समाज, दाजुभाइ र कुलको कारणले मान्छे सहज स्वीकार सकिरहेको देखिन्न किनकी समाज र उसका आफन्तजनले उदाहरण दिएर फलानोको छोरीले झै, छोराले झैंं कुलकै, खानदानकै बेइज्जत गर्लास्, बाबुनानी भनेर अराई सिकाई गर्न थालिन्छ ।
छोराछोरी पाएर तर लाउन नसक्ने, हेर–हेर त्यो कुजातसँग बिग्रि, उसका बाबुआमाको नाकै काटिनि भन्ने खालका दुनियाँदारी हल्ला सनसनी फैलन्छ । यसलाई सामना गर्न एक्लै पर्ने हुँदा पनि हाम्रो समाजमा आफ्ना छोरा वा छोरीले तल्लो जातकासँग विवाह गरेमा स्वीकार्न असमर्थ छन् । चर्चा गरी सकिएको छ कि, यदि हाम्रो नयाँ पुस्ताले पुरानो कुरालाई विश्वास नगरी त्यसलाई भत्काउन चाह्यो भने प्रेम नै सफल बन्न दिइन्न । प्रेम सफल यदि भइहाले पनि विवाह लगत्तै केटाकेटीलाई अलग गरेर माथिका दुनियाँदारी कुरा गरी कलिलो दिमाग नै बिगारी दिइन्छ । अनि एकाध हुने प्रेम र विवाहमा पहिले गरेकाको हालत देखेर उनीहरुको मनमा समेत गहिरो चोट पुग्छ । त्यसपछि दलित चेलीको विचल्ली सुरु हुन्छ । सके पेटमा गर्भ नै रहेको होला नभए समाजमा बेइज्जत भैसकेको हुन्छ । यदि त्यसो हुन नसकेर विवाह भै हाल्यो भने उपल्ला जातका पक्षबाट अदालतमा सारा सोर्स फोर्स लगाएर छुट्टा मुद्दा लगाउने खेल शुरु हुन्छ । अपहरण केश वा अन्य त्यस्तै । यहाँ दलित युवायुवती सचेत हुनुपर्ने पक्ष के छ भने यदि तपाईं उपल्ला जातकासँग प्रेम गर्दै हुनुहुन्छ भने प्रेम साँचो हो, होइन चिन्नुस् । प्रेम अगावै यौनसम्बन्ध गर्न खोज्नेले धोका स्वतः दिन्छ । उ तपाईंबाट केवल प्रेमको बहाना बनाई स्वार्थ लुट्न चाहन्छ । जीवन दिने होइन । जसबाट हर हालतमा सजग र सतर्क रहनुहोस् । त्यस्तै प्रेमलाई सुरुमै सार्वजनिक गर्न सल्लाह गर्नुस् र केही नभए पनि दलित अधिकारकर्मीलाई जानकारी गराउनुहोस् । आजकल अन्तरजातीय विवाह लुकेर गर्नुपर्दैन, जबकी राज्यले एक लाख प्रोत्साहन स्वरुप राहत दिने घोषणा गरेको छ । एक लाख नपाए पनि जीवनसाथीको सुनिश्चित हुन्छ, कमसेकम विवाह पनि राज्यलाई साक्षी राखेर गर्न सकिन्छ । विवाह गर्ने बित्तिकै कानूनी रुपले बलियो हुन विवाह दर्ता, नागरिकताको प्रमाणपत्र बनाई हाल्नुहोस् । २०६७ असार १ गतेको समाचार अनुसार पाल्पा जिल्ला मुजुङ्ग गा.वि.स.का र २० वर्ष अघि दलित महिलासँग विवाह गरेका नारायणबहादुर रानाको मृत्यु भएपछि तीनदिनसम्म कोही पनि गाउँका मान्छे शव फाल्न तयार भएनन् । जुन कुरा सार्वजनिक भए पछि जिल्ला सदरमुकामबाट गएको सरकारी पक्ष, राजनीतिक दल, नागरिक समाज र पत्रकारहरुको पहलमा मात्र उनको शवलाई अत्यष्ेटी गरियो । यस्तो नियति निश्चय नै अरु अन्तरजातीय विवाह गर्नेले भोग्न कदापि नपरोस् भन्ने हो ।
यही हाम्रो सिंगो समाजको अन्तरजातीय विवाहको चुनौति । यस खालको अवस्था सुरु हुने बित्तिकै हो, सभ्य र शिक्षित समाज बनाउन प्रयत्नरत हामी सबैले ध्यान पु¥याउने र सहयोग गर्ने । तर यसमा उल्टो भइरहेको छ । जसबाट सुझाव र सहयोगको अपेक्षा गरिएको हुन्छ, उसैबाट असहयोग, उपेक्षा हुन्छ । त्यसैले मैंले के सोच्छु भने हाम्रो समाजको संस्कार, संस्कृति कस्तो छ भने, ठूलाबडाले गरेको कार्य नराम्रो भए पनि राम्रो मानि सबैले सिको गर्छन् । अन्तरजातीय विवाह पनि सबैभन्दा बढी चुनावी बेलामा दलित बस्तीमा गएर भाषण गर्दा छुवाछुत मेटाउँछु भन्ने नेताले आफैबाट उदाहरण देखाउनुप¥यो । बौद्धिक व्यक्तित्व, शिक्षक, कर्मचारी लगायत राज्यका जिम्मेवारबाट सुरुवात गर्नुप¥यो । अरुलाई अर्ती उपदेश दिन जति सजिलो छ, त्यति आफैले व्यवहारमा उतार्न झन् बढी गाह्रो छ । जिम्मेवार मान्छेरुले सोच्नुप¥यो साँच्चै म तल्लो जातको ज्वाईं–बुहारी आफैले बेहोर्न बनाउन तयार छु छैन । खै त हाम्रो देशका एक जना पनि राष्ट्रिय नेतृत्व र व्यक्तित्वहरुको छोराछोरीहरुले तल्लो जातकासँग विवाह गरेको । अब सुरु गर्नुप¥यो प्रचण्ड, किरण, बाबुराम, शेरबहादुर, रामचन्द्र र माधव नेपाल, झलकनाथ, केपीहरुले । मैंले यो तर्क गरिहँदा तपाईंहरुले पक्कै मलाई कस्तो बुद्धु मान्छे भन्नुहुन्छ मलाई, कस्तो यति पनि थाहा नभएको विवाह हुनलाई एक आपसमा प्रेम हुनुपर्छ, एकले अर्कोलाई चाहेको हुनुपर्दछ, त्यसै भनेर हुने कुरा हो र ? यहाँ कसैलाई भ्रम नपरे हुन्छ कि वस्तुगत वातावरण पहिलो पक्ष हो पनि, प्रेरणा र प्रोत्साहन पनि कम विषय होइन तपाईंहरुको आदर्श र प्रोत्साहनले नै होइन सारा मान्छे ज्यानको बलि दिन तयार भएको, सिङ्गो राष्ट्रलाई उथलपुथल बनाएको । अनि जाबो विवाह नगर्ने कुरा हुन्छ यहाँहरुले भनेर । माथि भनिसकिएको छ कि भारतबाट मालिकको छोरी नोकरले भगाएर ल्याएको र ब्राह्मणकी छोरीले तल्लो जातकासँग विवाह गरेको ।  अर्को कसैको तर्क रहला हाम्रो छोराछोरीले विवाह गरी सके र पो, छोराछोरी नभए नातिनातिना पक्कै छन् नि । मेरो आशय कहाँ निर हो भने विवाह नगर्लान् अहिलेका सचेत युवाले तर तपाईंले यो मात्र भन्न सक्नुहुन्छ म राजनीतिमा जनताको सेवा गर्न लागें । त्यसमा पनि नेपालका सबभन्दा उत्पीडनमा परेका समुदायको उत्थान गर्न चाहन्थे, यो मेरो सपना थियो । यस्तो उदाहरण तिमी बन्नु भनेर प्रेरित गरे पनि ठूलो विषय हुन्छ ।
सम्भावनाहरु प्रबल छन् यद्यपि दलितको समस्या कस्तो भएको छ भने दलितहरुले मात्र गर्ने हो, हामीले चुनावमा भाषण गरे पुग्छ भन्ने जस्तो देखिन्छ । अघिपछि पार्टी कार्यक्रम र अन्य कार्यक्रमहरुमा नेताहरु सहभागी हुँदा नेताको मुखबाट दलित शब्द मुस्किलले निस्कन्छ भने कतिपय नेताले त दलित शब्द उच्चारण गर्न पनि कन्जुस्याईं गर्छन् । कि समस्यालाई राज्यको समस्या भनेर बुझ्न सकिएको पक्कै छैन । सानातिना सुधार नभएका पनि होइनन् तर छुवाछुत विरोधी कानून बनाउने र व्यवहारमा छुवाछुत नहट्ने दशकौं भैसक्यो । म जस्तै दलित हुनुको नाताले तपाईंले भोग्नु परेको भए आफै सोच्नुहोस् तपाईं पनि यसै हुनुपर्छ भन्नुहुन्थ्यो होइन । त्यसैले यस समस्यालाई हाम्रो राष्ट्रकै राज्यकै र हामी सबैको समस्याको रुपमा बुझौं, यसलाई हामी सबैको साझा प्रयासको थालनी आजैबाट शुरु गरौं । लेखमा अन्तरजातीय विवाहले मात्र दलित मुक्ति हुन्छ भनेर पक्कै भन्न खोजिएको होइन, यसमा राजनीतिक र आर्थिक अधिकार पहिलो सामाजिक, साँस्कृतिक दोस्रो हो भनेर बुझियोस् । हुन त मैंले यो लेख रचिरहँदा हाम्रा नेतागणहरुलाई कसरी आफ्नो नेतत्वमा सरकार बनाउने र आफ्नो अभिष्ट पूरा गर्ने भन्ने विषयमा केन्द्रित हुनुहुन्छ होला । यो दलित समस्याको बारेमा सोच्ने फुर्सद छैन होला तर यो सामाजिक अपराध हो र यसलाई निर्मुल गर्छु भनेर मात्र हुँदैन । राज्यबाटैै क्रान्तिकारी अभियान तर्जुमा गरेर अगाडि बढ्नुपर्छ । तब मात्र नयाँ नेपाल सम्भव छ ।
टेकबहादुर वि.क.
म्याग्दी

सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...