Wednesday 13th May 2026

काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने


तीतोपाटी-प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ ।

काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

सोहीअनुसार पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा आज केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नुभयो । मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । महासमिति बैठकले पारित गरेसँगै पार्टीको संशोधित विधान लागू हुनेछ ।

प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनुभयो । समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्दा केन्द्रीय समितिको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।

हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।

आठ तहका संरचना हुने

काङ्ग्रेसले पार्टीका संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तहका हुने गरी विधान मस्यौदा तयार गरेको छ । समितिले मूल मस्यौदा प्रतिवेदनसँगै समिति सदस्यका फरकमतलाई पनि समावेश गरी बैठकमा पेश गरिएको छ । मस्यौदामा सबैभन्दा मुनि टोलस्तरमा पार्टीको कार्यसमिति हुनेछ । पाँचसय देखि एक हजार ५०० जनसङ्ख्या बसोबास रहेको बस्तीमा गाउँटोल कार्यसमिति रहनेछ । त्यसभन्दा माथि वडासमिति, त्यसपछि क्रमशः स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतितिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टीका संरचना हुनेछन् ।

विधानको प्रस्तावनामा महत्वपूर्ण ऐतिहासिक घटनाक्रमबारे उल्लेख गर्ने, पार्टीको सदस्यता सरल तथा सहज रूपले वितरण गर्ने प्रबन्ध गरी व्यस्थित गर्ने उल्लेख छ । टोलदेखि केन्दसम्मका आठ तहका अधिवेशन र महाधिवेशन, केन्द्रीय महासमिति र प्रदेश महासमिति गठन हुने व्यवस्थाका साथै सबै तहमा आवधिक सम्मेलन गरी सङ्गठनलाई सुसङ्गठित गर्ने प्रस्ताव गरिएको छ ।

काङ्ग्रेसको गत वैशाख १६ गतेको बैठकले विधान संशोधन गर्न महामन्त्री खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले मुलुकभर १२ स्थानमा पार्टीका सरोकारवाला सबै निकाय र व्यक्तिसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो । विभिन्न छलफल मार्फत सुझाव सङ्कलन गरी शनिबार मात्रै मस्यौदा पारित गरेको समिति प्रवक्ता लेखकले जानकारी दिनुभयो ।

आधुनिक र समावेशी हुने

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधान संशोधनपछि काङ्ग्रेस आधुनिक, पूर्ण समावेशी र प्रभावशाली दलका रूपमा स्थापित हुने बताउनुभयो ।

पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको सबै तहमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको बताउनुभयो । महिलाको एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने, विभिन्न तहमा अधिवेशन र महधिवेशनमा प्रतिनिधिको सङ्ख्या वृद्धि गर्ने प्रस्ताव गरिएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान, केन्द्रीय निर्वाचन समिति, लेखा समिति, अनुशासन समिति थप परिमार्जन गरिएको बताउनुभयो । पार्टीका केन्द्रीय विभाग, भातृ सङ्घ एवं शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिसम्बन्धी विषयलाई परिमार्जन गरिएको उहाँले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यलाई मस्यौदा अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आवश्यक अध्ययनपछि आगामी भदौ १३ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले मस्यौदा पारित गर्र्नेछ ।

बैठकले पार्टीका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकार र नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूर्व प्रधानन्यायाधीश केदार गिरी, काङ्ग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंका पिता वीरेन्द्र प्रसार्इं, तुलसीराम बुढाथोकी (दाङ) र सीए सीता भण्डारी (गुल्मी)को निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...