Monday 20th July 2026

बेरोजगार हुनुहुन्छ ? काम दिन तपाईंकै ठाउँमा आउँदैछ सरकार


तिताेपाटी – के तपाईं बेरोजगार हुनुहुन्छ ? कि आफ्नै गाउँठाउँमा कामको खोजीमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्, अब सरकार नै तपाईंलाई काम दिन तपाईंकै गाउँठाउँमा आउँदैछ । सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र खोलेर सरकारले बेरोजगारलाई काम दिने तयारी थालेको हो ।

७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र खोल्ने श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट पारित भएको छ । यो निर्णय सार्वजनिक भएपछि केन्द्र खोल्ने प्रक्रिया सुरु हुन्छ ।

‘रोजगारीको हक सम्बन्धी ऐन २०७५’ कार्यान्वयनको लागि मन्त्रालयले गरेको प्रस्ताव पारित भएसँगै अब रोजगार सेवा केन्द्र सञ्चालन गरेर युवालाई स्थानीय स्तरमै रोजगारी दिने बाटो खुलेको छ ।

श्रम मन्त्रालयको समन्वयमा ७ सय ५३ वटा स्थानीय तहमा नै रोजगार सेवा केन्द्र रहनेछ । ती केन्द्रमा  अधिकृत स्तरका कर्मचारी रहनेछन् । कर्मचारीको व्यवस्था अहिलेलाई श्रम मन्त्रालयले नै गर्नेछ ।

बेरोजगार र रोजगारदाताको तथ्याँक सरकारसँग

स्थानीय तहमा सञ्चालन हुने रोजगार सेवा केन्द्रले बेरोजगार व्यक्तिको तथ्याँक राख्ने र उसको सीप क्षमता र योग्यताको आधारमा काम दिलाउने काम गर्नेछ ।

‘रोजगारीको हक सम्बन्धी ऐन २०७५’ ले व्यवस्था गरेअनुसार रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता वा क्षमता खुलाइ निवेदन दिन सक्नेछन् ।

प्राप्त भएका निवेदनमाथि केन्द्रले आवश्यक जाँचबुझ गरी बेरोजगार व्यक्तिको तथ्याँक राख्ने र प्रदेश सरकार वा केन्द्रलाई बुझाउने छ । तपाईं बेरोजगार हुनुहुन्छ र काम चाहिएको छ भने तपाईंको स्थानीय तहमा खुल्ने रोजगार सेवा केन्द्रमा निवेदन दिन सक्नुहुन्छ ।

तर तपाईंले केन्द्रमा निवेदन दिएपछि आफ्नै प्रयासमा रोजगारी पाउनुभयो, स्वरोजगार हुनुभयो वा केन्द्रमार्फत प्रदान गर्ने रोजगारीमा संलग्न हुन इच्छा नलागेमा जानकारी गराउन पर्छ ।

यदी तपाईंले जानकारी गराउनु भएन भने सरकाले तपाईंलाई बेरोजगारको सूचिबाट हटाउनेछ ।

रोजगार सेवा केन्द्रले आफ्नो स्थानीय तहमा रहेका रोजगारदाताको पनि तथ्याँक राख्नेछ । केन्द्रमा स्थानीय तहको अत्तिरिक्त सरकारी वा गैरसरकारी निकाय वा संघसंस्थालाई सम्बन्धित स्थानीय तह भित्रका रोजगारदातालाई माग गरिए बमोजिमको विवरण उपलब्ध गराउन लेखी पठाउन सक्नेछ ।

रोजगार सेवा केन्द्रले विवरण पठाउन लेखी पठाएमा रोजगारदाताले आफ्नो विवरण पनि केन्द्रमा पठाउनु पर्नेछ । रोजगारदाताको तथ्याँक मन्त्रालय र सम्बन्धित प्रदेश सरकारसँग पनि हुन्छ ।

रोजगारदाताले सेवा केन्द्रलाई जानकारी नगराइ आफूखुशी कामदार भर्ती गर्न पाउने छैनन् । रोजगारदातालाई केन्द्रले नै बेरोजगारको सूचि उपलब्ध गराउनेछ । र, रोजगारदाताले त्यही सूचिबाट कामदारको छनोट गर्नुपर्नेछ ।

रोजगारदाता र बेरोजगार व्यक्तिबीच समन्वय

रोजगार सेवा केन्द्रले नै रोजगारदाता र बेरोजगार व्यक्तिबीच समन्वय गराइदिनेछ । केन्द्रमा बेरोजगार व्यक्तिको विवरण र रोजगारदाताको पनि सूचि हुन्छ । रोजगारदाताको मागको आधारमा बेरोजगार व्यक्तिको योग्यता, क्षमता र सीप हेरी रोजगारीका लागि सेवा केन्द्रले नै लेखि पठाउनेछ ।

सेवा केन्द्रले कामका लागि लेखि पठाएको व्यक्तिले रोजगारदाताले लगाएको काम गर्नु पर्नेछ । तलब र दैनिक ज्याला मन्त्रालयले तोकेबमोजिमको हुनेछ । रोजगारदाताले लगाएको काम नगर्ने व्यक्तिलाई सेवा केन्द्रले बेरोजगारको सूचिबाट हटाउने व्यवस्था छ ।

काम दिन नसके निर्वाह भत्ता

रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई रोजगारी दिन नसकेमा सरकारले निर्वाह भत्ता दिने व्यवस्था ऐनमा छ ।  एक वर्षमा न्यूनमत परिश्रमिकको एक सय दिन बराबरको रकमको ५० प्रतिशत काम दिन नसकेका बेरोजगार व्यक्तिलाई निर्वाह भत्ता सरकारले उपलध गराउनेछ ।

एक वर्षमा एक सय दिन भन्दा कम काम पाएमा पनि बाँकी दिनको तलब सरकारले नै दिनेछ । बाँकी दिनको तलब मन्त्रालयले तोकेको न्यूनतम परिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता मार्फत पाइनेछ । निर्वाह भत्ता १९ वर्षदेखि ५९ वर्ष उमेर समूहकाले पाउनेछन् ।

तर रोजगार सेवा केन्द्रले खटाएको क्षेत्रमा काम गर्न नगएमा वा इन्कार गरेमा त्यस्ता व्यक्तिलाई बेरोजगारको सूचिबाट हटाउने र निर्वाह भत्ता पनि नदिने व्यवस्था छ ।

त्यसैले बेरोजगारको सूचिमा सूचिकृत भएपछि रोजगार सेवा केन्द्रबाट कामका लागि सिफारिस हुनु पहिले नै आफ्नै प्रयासमा काम पाएमा, स्वरोजगार भएमा वा केन्द्रले प्रदान गर्ने सेवा लिन नचाहेमा जानकारी गराउनु पर्छ ।

साथै केन्द्रले खटाएको क्षेत्रमा र रोजगारदाताले तोकेअनुसारको काम अनिवार्यरुपमा गर्नुपर्ने हुन्छ । नत्र रोजगारीसँगै निर्वाह भत्ताबाट समेत बन्चित भइनेछ ।

केन्द्रमार्फत नै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन हुने

सरकारले स्वदेशमै रोजगारीका अवसर सृजना गर्नका लागि यो आर्थिक वर्षमा  ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको प्राथमिकता स्वदेशमा रोजगारीको अवसर सृजना गर्ने भएको र त्यही अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सँगै विभिन्न रोजगारी सृजना गर्ने काम अघि बढाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभयो ।

सरकारले रोजगार सूचना केन्द्रमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यो कार्यक्रमबाट यो आर्थिक वर्षमा मात्रै कम्तीमा एक लाख जनालाई रोजगारी दिने सरकारको दावी छ ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...