Friday 17th April 2026

अाज ११० अाैं लक्ष्मी जयन्ती


तितोपाटी – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन्। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ। नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए। महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे।

वि.सं. २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए। वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका देवकोटाको अविस्मरणीय देन हो।

तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे। उनले पाश्चात्य ग्रिसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन्। वि.सं. २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्।

-रासस


सम्बन्धित शीर्षकहरु

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

प्रतिकृयाहरू
...