Friday 15th May 2026

धनुषामा बोक्सीको अारोपमा जेठाजुद्वारा बुहारीमाथी कुटपीट, पञ्चायतले पनि पीडितलार्इ नै दोषी भन्दै जरिवाना गरायो


तितोपाटी – घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् । ‘बोक्सी भन्दै मलाई कुटपिट गरे,’ उनले भनिन्, ‘अन्यायमा परेको भनेर समाज गुहार्दा मलाई दोषी देखाए र जरिवाना तोकिदिए ।’

उनका पति इन्द्रजित मण्डल दुबईमा छन् । सम्पत्तिका विषयमा परिवारमा किचलो छ । त्यही किचलोका कारण जेठाजु इन्दल मण्डलले उनलाई बोक्सी आरोप लगाउँदै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलले जनाएको छ । सेलले कुटपिट गर्ने पक्षलाई सोमबार छलफलका लागि बोलाएको छ ।

इन्दलले बुहारी बोक्सी रहेको भन्दै पञ्चायत डाकेका थिए । पञ्चायतमै सबैका सामुन्ने उनले मनतोरियालाई कुटपिट गरे । ‘म बिरामी परेको थिइनँ, त्यसैले मलाई बोक्सी भनेर कुटे,’ मनतोरियाले भनिन्, ‘अरू बिरामी पर्दा तँ टुनामुना गरेर आफ्नो रोग भगाउँछेस् । तँ बोक्सी होस् भन्दै कुटपिट गरे ।’

पञ्चायतमा खत्वे समाजका माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायतले जेठाजुको लहैलहैमा लागेर आफूलाई कुटपिट गरेको उनको आरोप छ । ‘घरमा विवाद हुँदा जेठाजु इन्दल र जेठानी मानकीदेवीले कुटे,’ उनले भनिन्, ‘पछि जेठाजुले खत्वे समाजका पूरै पञ्च बोलाएर बोक्सी स्वीकार गर्न धम्क्याए ।’

कुटपिटपछि मनतोरियाले धनौजी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार साहलाई उजुरी गरिन् । वडाध्यक्ष साहले पञ्चले गरेको निर्णय स्वीकार गर्न दबाब दिएपछि प्रहरीमा उजुरी गरेको उनले बताइन् । साहले जरिवानाको निर्णय पञ्चायतले गरेको र मनतोरियालाई प्रहरीमा जान सुझाएको बताए । ‘त्यो उनीहरूको घरायसी झगडा हो, त्यसमा मेरो संलग्नता छैन,’ उनले भने, ‘मैले नै प्रहरीमा जान भनेको हुँ ।’ महिला सेलकी प्रमुख सई दीपिका ओझाले मनतोरियालाई कुटपिट गरिएको ठाडो उजुरी दर्ता भएको र छलफलका लागि अर्को पक्षलाई बोलाइएको बताइन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले बोक्सी आरोपमा महिलालाई यातना दिएको ठहर भए कानुनअनुसार कडा कारबाही गरिने बताए । उनले घटनाबारे बुझन तत्कालै निर्देशन दिइएको र दोषीलाई कारबाही दायरामा ल्याउने बताए । त्यस क्षेत्रका प्रदेशसभा सांसद रामसरोज यादवले घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...