Thursday 3rd September 2026

३७ किलो चरेससहित तीन पक्राउ


तिताेपाटी — रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ परेका मध्ये एक स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

पक्राउ हुनेमा बागलुङ जिल्ला नसीखोला गापा–९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेका छन् । रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ ।

उक्त परिणामको लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए । उक्त चरेस नेपाली मूल्यमा करीब रु १८ लाख बराबरको हुनसक्ने उनले बताए ।

रासस


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...