Thursday 1st October 2026

उच्च रक्तचाप साइलेन्स किलर


– डा. कमल शर्मा लम्साल, फिजिसियन तथा मुटुरोग विशेषज्ञ

शरीरका सम्पूर्ण अंगमा रक्तसञ्चार गर्नका लागि मुटुले निरन्तर पम्पको काम गरिरहेको हुन्छ । मुटु खुम्चिँदा शरीरका विभिन्न अंगमा शुद्ध रगतको सञ्चार हुन्छ । मुटु फुक्दा शरीरका विभिन्न अंगबाट आएको अशुद्ध रगत मुटुमा जम्मा हुन्छ । मुटुमा यसरी जम्मा हुन आएको रगत अर्कोपटक मुटु खुम्चिँदा रक्तनलीहरुमार्फत अगाडि बढ्छ । चिकित्सकीय भाषामा मुटु खुम्चिने प्रक्रियालाई सिस्टोल र फुक्ने प्रक्रियालाई डायस्टोल भनिन्छ । समग्रमा मुटुमा हुने सिस्टोलिक र डायस्टोलको निरन्तर प्रक्रियाले समस्त शरीरमा रक्तप्रवाह गराइरहन्छ । रक्तनलीमार्फत रक्तसञ्चार हुँदा उत्पन्न हुने विशेष किसिमको दबाबलाई नै रक्तचाप भनिन्छ ।

मुटु खुम्चिएको समयमा मुटुबाट वेगसाथ निस्केको रगतले रक्तनलीमा दिएको चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ भने मुटु एकैचोटी धड्किसकेपछि फुकेको अवस्थाको चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । साधारणतया स्वस्थ व्यक्तिको रक्तचाप औसतमा १२०÷८० मिमि हुन्छ । माथिको अंकलाई सिस्टोलिक रक्तचाप तथा तलको अंकलाई डायस्टोलिक रक्तचाप भनिन्छ ।

सामान्यतया सिस्टोलिक वा माथिको प्रेसर १२० मि.मि. र डायल्टोलिक वा तलको ८० मि.मि. सम्म हुनु सबैभन्दा राम्रो हो ।

उच्च रक्तचाप साइलेन्ट किलर
उच्च रक्तचापलाई मेडिकल भाषामा हाइपरटेन्सन भनिन्छ । जसको शाब्दिक अर्थ मुटु तथा रक्तनलीहरुमा दबाब बढ्नु हो । विश्वस्वास्थ्य संगठनले उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलरको संज्ञा दिएको छ ।

उच्च रक्तचापले तत्कालै कुनै ठूलै असर पार्ने सम्भावना कम भए पनि लामो समयको अन्तरालपछि मानिसलाई बिस्तारै रोगी बनाउँदै मृत्युशै्यामा पु¥याइरहेको हुन्छ । उमेर बढ्दै जाँदा उच्च रक्तचापको खतरा पनि क्रमिक रुपले बढ्दै जान्छ । उच्च रक्तचाप महिला पुरुष दुवैमा हुन्छ ।
सामान्य भाषामा भन्दा माथिको प्रेसर १४० वा सोभन्दा बढी र तलको ९० वा सोभन्दा बढी हुनुलाई उच्च रक्तचाप भनिन्छ ।

उच्च रक्तचापका लक्षण
सामान्यतया उच्च रक्तचापका बिरामीमा कुनै लक्षण नदेखिन पनि सक्छन् । कुनै व्यक्तिमा एक वा बढी लक्षण हुन्छन् भने कोहीमा केही पनि लक्षण नहुन सक्छ । कसैलाई अत्यधिक रक्तचाप तथा त्यसको जटिलताले बेहोस नै हुन सक्ने भएकाले लक्षणमा एकैनाशको निश्चितता हुँदैन ।

उच्च रक्तचापका मुख्य लक्षणमा विशेषगरी टाउकोको पछाडिको भागमा दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने हुन्छ । रिंगटा लागेर हुत्तिने, शरीरले हलुंगोपना महसुस गर्ने, आँखाको दृष्टिमा परिवर्तन भई धमिलो देख्ने लक्षण हुन्छ । कुनै काम नगरे पनि थकाइको महसुस हुने र कमजोरी अनुभव हुन्छ । श्वास लिन गाह्रो हुने, मुटुको ढुकढुकी अनियमित हुने,थोरै परिश्रम गर्दा पनि धेरै पसिना आउने उच्च रक्तचापको लक्षण हुन् । यौन चाहना कम हुने, नाथ्री फुटेर नाकबाट रगत आउने, खुट्टा तथा अनुहार सुन्निने, रातो हुने लगायतको उच्च रक्तचापका लक्षण हुन्छन् ।

रक्तचाप धेरै नै बढी भएपछि रक्तनलीहरु बढी तन्किएर फुट्न सक्छ । मस्तिष्कभित्रको रक्तनली फुटे पक्षघात हुन्छ । मुटुको रक्तनली बन्द भए हृदयाघात हुन्छ । आँखाको रक्तनली फुटे अन्धोपन तथा मिर्गौलाको रक्तनलीमा घात भएर मिर्गौलाले काम नगर्ने हुन्छ ।

कहिलेकाहीँ बढी प्रेसर भएको व्यक्ति बेहोस हुने, हातखुट्टा नचल्ने, पिसाब कम हुने तथा हृदयाघात भएको अवस्थामा अस्पतालको आकस्मिक कक्षमा पुग्ने अवस्था हुन्छ । त्यसैले उच्च रक्तचापका लक्षण पनि रक्तचापको तह तथा यसले विभिन्न अंगमा गरेको असरको आधारमा देखा पर्छन् । रक्तचाप बढी भैरहेका धेरै बिरामीमा केही पनि लक्षण नहुन सक्छ । लक्षण नदेखिँदा पनि रक्तचाप हुने भएकाले रक्तचाप छैन होला भन्ठानेर बिरामीले औषधी नखाँदा जोखिम हुन्छ । ढिला भैसकेपछि औषधि खाँदा ज्यानको समेत जोखिम हुन्छ ।

टिनेजरमा रक्तचाप
टिनेजरमा पनि रक्तचापको समस्या हुन सक्छ । कम उमेरमा रक्तचाप परीक्षण गर्नका लागि विशेष किसिमको सानो मेसिनको प्रयोग गर्नुपर्छ । वयस्क व्यक्तिका लागि प्रयोग गरिने मेसिनले टिनेजरको रक्तचाप नाप्दा सहि मापन नहुन सक्छ ।

कम उमेरमा देखिने उच्च रक्तचाप परीक्षण गर्ने यन्त्र फरक किसिमको भए पनि नाप्ने तरिका भने उस्तै हुन्छ । को व्यक्तिका लागि कति रक्तचाप ठिक हो भन्ने कुरा बच्चा तथा टिनेजरको उमेर,उचाइ, लिंगअनुसारका विशेष किसिमका चार्ट हेरेर पत्ता लगाउन सकिन्छ । वयस्क व्यक्तिका लागि ठिक मानिने रक्तचाप टिनेजर तथा बच्चाका लागि बढी हुन सक्छ ।

रक्तचापको सही मापन गर्न २४ घण्टासम्म घरमै यन्त्र जडान गरी हेर्नुपर्ने हुन सक्छ । अस्पतालमा रक्तचाप परीक्षण गर्दा मनोवैज्ञानिक अवस्थाले उचित मापन फरक पर्न सक्छ । स्वाथ्यकर्मीको अगाडि कतिपय बालबालिका तथा टिनेजर तर्सिन सक्छन्, जसको असरले रक्तचाप सामान्यभन्दा केही बढी देखिन सक्छ ।
केही अनुसन्धानले अमेरिकी बालबालिका तथा टिनेजरमा ४ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ भने नेपालमा सो उमेरमा हुने उच्च रक्तचापबारे अझैसम्म अध्ययन हुन सकेको छैन ।

विभिन्न हर्मोनसम्बन्धी रोगहरु तथा मिर्गौलासँग सम्बन्धित हुने विभिन्न प्रकारका रोगले रक्तचाप बढाउन सक्ने हुनाले बालबालिका तथा टिनेजरलाई यस्तो रोग छ कि छैन भनेर परीक्षण गर्नमा बढी केन्द्रित हुनुपर्छ ।

बालबालिका तथा टिनेजरको तौल बढी वा बुबा–आमामा उच्च रक्तचाप छ भने जेनेटिक कारणअनुसार कम उमेरमै उच्च रक्तचाप देखिने सम्भावना हुन्छ । कम उमेरदेखि नै मुटुलगायतका सबै अंगलाई बढी दबाब पर्ने हुनाले हृदयाघात, मस्तिष्कघात लगायतका जटिलता युवावस्थामै देखिन सक्छन् ।

भ्रम र उपचार
कम उमेरमा रक्तचाप बढ्ने केही निश्चित कारण हुन सक्ने भएकाले आवश्यक परीक्षण गरी सम्बन्धित कारण पत्ता लगाएर उपचार गरेमा जीवनभर औषधि सेवन गर्नुपर्ने नहुन सक्छ ।

त्यस्तै मुटुसँगै जोडिएको मुख्य रगतको नली एर्वोटामा जालो बसेर पनि उच्च रक्तचाप हुन सक्छ । जसलाई खुर्केर फाल्ने वा स्टेन्ट राखेर उपचार गर्न सकिन्छ ।

रक्तचाप कम भयो भने पनि जोखिम हुन्छ । माथिको सिस्टोलिक रक्तचाप ९० भन्दा कम हुनु हुँदैन । ब्लड प्रेसर कम हुँदा किड्नी फेल हुनुका साथै मस्तिष्कमा हुने रक्तप्रवाह घट्छ ।

रक्तचाप कम हुनबाट बच्न प्रशस्त पानी पिउनु पर्छ । नुनको मात्रा मिलाएर खानु पर्छ । रक्सी सेवन गर्नु हुँदैन । रक्तचापलाई सन्तुलित राख्नु सन्तुलित भोजन गर्नुका साथै शारीरिक व्यायाम गर्नुपर्छ ।
प्रायः सबै प्रकारका रोगको अन्तिम अवस्थातिर रक्तचाप कम हुन सक्छ, यस्तो अवस्थामा मुख्य रोगको सघन तरिकाले उपचार गरेमा रक्तचाप सन्तुलनमा आउन मद्दत गर्छ ।

कतिपय टिनेजरले धूमपान तथा मद्यपान सेवनले गर्दा पनि रक्तचापको जोखिम हुन्छ । आहारविहारले पनि रक्तचाप सन्तुलनमा नआए चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।

रक्तचापको औषधि खाँदा चिकित्सकको सल्लाहमा खानु पर्छ । ठिक भयो भनेर जथाभावी ह्वात्त औषधि छोड्दा ज्यानको जोखिम पनि हुन सक्ने भएकाले चिकित्सकको परामर्शविना औषधि छोड्नु हुँदैन । कतिपय औषधि एक्कासि छोड्दा रक्तचाप अति नै बढी भएर ज्यानको जोखिम हुन सक्छ । मिर्गाैला, थाइराइडलगायतका रोगका कारणले रक्तचाप बढेको छ भने सो कारणको उपचार भैसकेपछि उच्च रक्तचापको औषधि नचाहिन पनि सक्छ ।

उच्च रक्तचापको औषधिको सेवनले मिर्गौलालगायतको शरीरका अंगमा असर हुन्छ भन्ने कतिपयको भ्रम छ । औषधिले मिर्गौलालई खराबी गर्नु नभई बचाउँछ । तर चिकित्सकको सल्लाहमा खानु पर्छ । रक्तचाप बढ्यो भन्दैमा नुन पूरै रोक्ने नभई कम मात्रामा सेवन गर्नुपर्छ । नुन पूरै रोक्दा नकारात्मक असर हुन सक्छ ।
त्यसैले खानपानमा ध्यान दिनु पर्छ, जथाभावी खानपान गर्नु हुँदैन । बेला–बेलामा स्वास्थ्य जाँच गराउनु पर्छ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...